अस्पतालमा गर्भवती महिला मृत्यु प्रकरण : घटनाको छानविन समिति गठन गर्ने सहमति



सिन्धुली । सिन्धुली अस्पतालमा गर्भवती महिलाको मृत्यु भएको घटनाको सत्य–तथ्य छानविन गर्न छानविन समिति गठन गर्ने सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा आज अस्पताल व्यवस्थापन समिति, सरोकारवाला निकाय र पीडित पक्षबीच भएको छलफलमा घटनाको सत्य–तथ्य छानविन गर्न छानविन समिति गठन गरिदिन बागमती प्रदेश स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको हो ।

उक्त समितिले गर्भवती महिलाको मृत्यु भएको घटनाको सबै प्राविधिक पक्षहरु अध्ययन गरी प्रतिवेदन पेश गर्ने सहमति भएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो ।

छानविन समितिमा वागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट तोकिएको चिकित्सक २ जना, जिल्ला स्वास्थ्य कार्यालयको प्रतिनिधि १ जना र पिडित पक्षबाट आमन्त्रित प्रतिनिधि १ जना रहने सहमति भएको छ ।

सर्वपक्षीय छलफलमा सिन्धुली अस्पताल व्यवस्थापनबाट अस्पतालका आन्तरिक सुधार तथा कार्यरत स्वास्थ्यकर्मीहरूको व्यवहारगत पक्षको सुधार गर्ने सहमति पनि भएको छ ।

त्यस्तै पिडित पक्षले विरोध र आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने, मृतकको शव बुझिलिई अन्त्येष्टि गर्ने सहमति भएको छ । तोडफोन पछि बन्द भएको अस्पताल सरसफाई गरी सेवा सूचारू गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो ।

बच्चा जन्माउनका लागि मंगलवार सिन्धुली अस्पतालमा आउनुभएका कमलामाई नगरपालिका ५ सिलामेका २६ वर्षीया गर्भवती गंगा कुमारी श्रेष्ठ र गर्भमा रहेको भ्रुणको मृत्यु भएको छ ।

गर्भवती गंगाको अस्पतालका डाक्टरको लापर्बाहीका कारण मृत्यु भएको पीडित परिवारहरूले आरोप लगाएका छन् । दिउँसो १२ बजे सिन्धुली अस्पताल आईपुग्नु भएकी गर्भवती गंगालाई अस्पतालका स्वास्थ्यकर्मीले सुरक्षित प्रसूती गराउन नसकी दिउँसो ३ः२० मिनेटमा बर्दिबास ट्रमा सेन्टरमा पठाएका थिए ।

आफन्तले गंगालाई बर्दिबास ट्रमा सेन्टर पुर्याएर साँझ ५ बजे चेकजाँच गर्दा अस्पतालले मृत घोषणा गरेको थियो । सिन्धुली अस्पतालका डाक्टरले गलत सुई लगाइदिएर विरामी रेफर गरेका कारण विरामीको बाटोमै मृत्यु भएको आफन्तहरुको आरोप रहेको छ ।

डाक्टरको लापर्बाहीले गर्भवती गंगाको मृत्यु भएको भन्दै आफन्तले मंगलवार राती अस्पताल तोडफोड गरेका छन् । आफन्तले राती केहीबेर र बुधवार विहान सहमति हुनुभन्दा अघि गरी दुईपटक विपी राजमार्गसमेत अवरुद्ध गरेका थिए ।

गएराती करिब ८ बजेदेखि विपी राजमार्ग बन्द गर्नुका साथै आक्रोशित भिडले अस्पतालको इमरजेन्सी भवनमा क्षति पु¥याएका छन् । यस्तै सामुदायिक आखा अस्पतालको भवनमा समेत क्षति पु¥याएका छन् । भीड नियन्त्रण गर्न खटिएका केही प्रहरीसमेत सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्