एनआरएनएले अझै दिएन प्रशिक्षकको भत्ता, पदकधारी खेलाडीको हात पनि रित्तै



काठमाडौं । गत वर्ष गण्डकी प्रदेशमा भएको नवौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गैरआवासीय नेपाली संघ (एनआरएनए) टोलीका प्रशिक्षकले पाउनुपर्ने भत्ता र पदकधारी खेलाडीले पाउनुपर्ने नगद पुरस्कार अझै नपाएको कुरा बाहिरिएको छ । एनआरएनएले नवांै राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा गरेको सम्झौताअनुसार उपलब्ध गराउनुपर्ने प्रशिक्षक भत्ता र पुरस्कार अहिलेसम्म नपाएको खेलाडी र प्रशिक्षकहरूले बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्मा माग भएबमोजिम काजमा खटिएका तीनसहित विभिन्न खेलका एक दर्जनभन्दा बढी प्रशिक्षकलाई एनआरएनएले अझै भत्ता नदिएको पीडित प्रशिक्षकहरूले बताएका हुन् । एनआरएनए स्पोर्ट्स एकेडेमीको खेल नियमावली एवं कार्यविधि र खेलाडीहरूले पाउने सुविधा तथा राष्ट्रिय समन्वय परिषद्ले खेल्नुपर्ने भूमिका २०७९ को अनुच्छेद–३ को (ङ) मा पदकधारी खेलाडीलाई नगद पुरस्कार दिइने भनेर प्रस्ट उल्लेख भए पनि प्रतियोगिता सम्पन्न भएको सात महिना बितिसक्दा पनि व्यवहारमा लागू हुन सकेको छैन । यो विषयमा पटकपटक सम्बन्धित व्यक्तिलाई जानकारी गराउँदा पनि समस्या जस्ताको तस्तै रहेपछि प्रशिक्षक र खेलाडीहरू पीडित बनेका छन् ।

नवौं राष्ट्रिय खेलकुदमा एनआरएनएका जुडो प्रशिक्षक प्रवीणकाजी श्रेष्ठ सम्झौताअनुसार भत्ता उपलब्ध नगराएको बताउँछन् । उनले भने– ‘सम्झौताअनुसार हामीले केही पनि पाएका छैनौं । प्रशिक्षकले मात्र होइन, खेलाडीहरूले पनि केही पाएका छैनन् । नियमावली र कार्यविधिमा स्वर्ण, रजत र कांस्य जित्नेलाई क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार दिने उल्लेख छ । तर, पदक जित्नेलाई नगद पुरस्कार दिने त टाढाको कुरा, प्रशिक्षकले पाउनुपर्ने साधारण भत्तासमेत नपाएको सात महिना बितिसक्यो ।’ अधिकांश खेलाडीले प्रतियोगिताको तयारी पनि आफ्नै व्यक्तिगत खर्चबाट गरेको बताउँदै उनले भने– ‘यो विषयमा सम्बन्धित ठाउँमा र व्यक्तिलाई थुप्रैपटक जानकारी गराइसकेँ । तर, यसलाई गम्भीरतापूर्वक लिएको देखिँदैन ।’ यसअघि आठौं राष्ट्रिय खेलकुदमा सम्झौताअनुसार सबै कुरा उपलब्ध भए पनि नवौंमा भने साधारण भत्ता समेत नपाएको उनले दुखेसो पोखे ।

टेबल टेनिस प्रशिक्षक सन्ध्या शाक्यले पनि एनआरएनएले सम्झौताअनुसार भत्ता नदिएको बताइन् । उनले भनिन्– ‘प्रतियोगिता सकेको सात महिना बितिसक्यो तैपनि भत्ता पाएको छैन । यो त सम्झौताविपरीत कुरा हो ।’ त्यसै गरी एथ्लेटिक्स प्रशिक्षक विमला रानामगरले पनि एनआरएनएको व्यवहारले अवहेलित महसुस भएको बताइन् । एनआरएनएसँग भएको सम्झौताअनुसार आफूले केही पनि नपाएको उनी बताउँछिन् । ओलम्पियनसमेत रहेकी रानामगरले टिम तयारीदेखि प्रतियोगितासम्म एनआरएनएको एथ्लेटिक्स खेलाडीको प्रशिक्षणको जिम्मेवारी सम्हालेकी थिइन् । उनी एनआरएनएका अन्य प्रशिक्षकहरूको अवस्था पनि आफ्नोजस्तै रहेको बताउँछिन् । उनले तयारीका क्रममा पनि केही नपाएको र अहिले प्रतियोगिता सकेको सात महिना बितिसक्दा भत्तासमेत नपाएकोमा दुःख लागेको बताइन् ।

यस विषयमा एनआरएनए स्पोर्ट्स एकेडेमीका टेक्निकल डाइरेक्टर स्वयम्भुराज डंगोललाई पटकपटक जानकारी गराउँदा पनि कुनै प्रगति नभएको उनी बताउँछिन् । यस विषयमा डंगोलसँग प्रश्न राख्दा आर्थिक पक्ष आफ्नो मातहतमा नभएको बताए । डंगोलले भने– ‘मेरो जिम्मेवारी खेलसँग सम्बन्धित प्राविधिक पक्षलाई मात्र हेर्ने हो । जसमा आर्थिक पक्ष र रकम लेनदेन विषयसँग सरोकार नै हुँदैन ।’

यस विषयमा एनआरएनए नेपालका प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारीसँग सम्पर्क गर्दा उनले एनआरएनए स्पोर्ट्स एकेडेमीले जिम्मा लिएको काम पूरा नगरेकाले यस्तो समस्या निम्तिएको बताउँछन् । उनले भने– ‘अनुमानितभन्दा बढी खर्च भएकाले यस्तो समस्या आएको हो । शुरूमा एनआरएनए स्पोर्ट्स एकेडेमीका पदाधिकारीहरूले खर्च जुटाउनलाई स्पोन्सरको व्यवस्था गर्न सक्छु भनेका थिए । तर, उहाँहरूले सक्नुभएन ।’ एनआरएनएको आन्तरिक समस्या आफ्नो ठाउँमा छ । तर, भत्ता र पुरस्कार उपलब्ध नभएका कारण प्रशिक्षक र नेपालमा नै रहेका कतिपय एनआरएनए खेलाडीहरू भने आक्रोशित बनेका छन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्मा हिसाब फस्र्यौट नगर्ने एनआरएनए एक्लो टोलीसमेत भएको राखेप आर्थिक प्रशासक शाखा प्रमुख पासाङ फिन्जी शेर्पाले बताए । एनआरएनए टोलीले टिम तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्बाट दिइएको खर्च अझै फस्र्यौट नगरेको शेर्पा बताउँछन् । ‘नियमअनुसार प्रतियोगिता सकिएको ३५ दिनभित्र हिसाब फस्र्यौट गर्नुपर्छ तर एनआरएनएको हिसाब अझै फस्र्यौट हुन बाँकी छ’ –उनले भने ।

एनआरएनए नेपालका प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारीले भने राखेपले दिएको पूरै रकम बैंक खातामार्फत नआएकाले फस्र्याैट गर्न समस्या भएको बताए । उनले भने– ‘राखेपले दिएको पूरै रकम हाम्रो संस्थाको बैंक खाताबाट आएको होइन । त्यसैले बैंक खातामा नदेखिएका ती रकमको हिसाबकिताब राख्नुपर्ने भएकाले फस्र्यौट गर्न समय लागेको हो ।’

एनआरएनएका पदकधारी खेलाडी

शिव थापा, १ स्वर्ण, ५७ केजी
चन्द्र ब. तामाङ, १ रजत, ७१ केजी
सनिल शाही, १ रजत, ६७ केजी
ब्याडमिन्टन
१ कांस्य, पुरुष टिम
बुद्धिचाल
१ स्वर्ण, आशिष फुँयाल
जुडो
१ रजत
फुल कन्ट्याक्ट कराँते
१ कांस्य
लनटेनिस
१ रजत, आरभ सम्राट हाडा
तेक्वान्दो
१ रजत, सुमित्रा केसी, ५७ केजी तौलमा
टेबल टेनिस
२ कांस्य
पुरुष टिम इभेन्ट्समा (डिपसन, प्रतीक थापा, गणेश तामाङ र महेश श्रेष्ठको टोली), मिक्स्ड डबल्समा (डिपसन र सुनिता लामाको टोली)
स्विमिङ
६ स्वर्ण र ३ रजत, (अश्ले सापकोटा डंगोल),आशिष सापकोटा डंगोल ४ स्वर्ण, २ रजत र १ कांस्य पदक (अश्ले सापकोटा डंगोलले दुईवटा राष्ट्रिय कीर्तिमान र आशिष सापकोटा डंगोलले दुईवटा राष्ट्रिय कीर्तिमान राखेका थिए)

एनआरएनएका प्रशिक्षक

बिजेन श्रेष्ठ – स्विमिङ
छविलाल शाही – ब्याडमिन्टन
राम श्रेष्ठ – भलिबल
रजिन श्रेष्ठ – तेक्वान्दो
चन्द्र शाही – लनटेनिस
रवि शाही – कराते
प्रवीणकाजी श्रेष्ठ – जुडो
ज्ञानेन्द्र तिमिल्सिना – फुल कन्ट्याक्ट कराँते
सुवास खकुरेल – क्रिकेट
ज्ञानेन्द्र खंैजु – चेस
नीरा कायस्थ – सफ्टटेनिस
राज श्रेष्ठ – बक्सिङ
विमला रानामगर – एथ्लेटिक्स
सन्ध्या शाक्य – टेबलटेनिस

प्रतिक्रिया दिनुहोस्