देशमा अस्थिरता, पूर्व राजाको सक्रियता बढ्यो

0
Shares

धनगढी ।

पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय सक्रियता बढाउनुभएको छ। हालै भारतको उत्तर प्रदेशको भ्रमण सकेर नेपाल फर्किनुभएका शाहले नेपालमा पनि सक्रियता बढाउनुभएको हो। लखनउ जानुअघि उहाँको नेपालगन्जमा नागरिक अभिनन्दन गरिएको थियो। उत्तर प्रदेशमा हुँदा पूर्वराजा शाहले त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गर्नुभएको थियो। आदित्यनाथ उत्तर प्रदेशका मुख्यमन्त्री हुन्।

उहाँ नेपालमा राजसंस्था चाहने पक्षधरको भारतीय नेता समेत हुन्। उहाँसँगको भेटवार्तापछि पूर्वी नेपालमा अभिनन्दन लिइसक्नुभएका उहाँ आइतबार आफ्नै मोटर आफैले चलाएर नेपालगन्जबाट सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी आउनुभएको थियो। सोमबार धनगढीमा पनि उहाँको अभिनन्दन गरिएको छ। धनगढीको रङ्गशालामा आयोजना गरिएको नागरिक अभिनन्दन कार्यक्रममा विभिन्न संघसंस्थाहरूले पूर्वराजाको अभिनन्दन गर्नुभएको थियो।

अभिनन्दन कार्यक्रमका संयोजक तथा पूर्व मन्त्री जयन्त चन्दले देशको अहिलेको अवस्थाले राजसंस्था आवश्यक रहेको बताउनुभएको थियो। पूर्व युवराज्ञी हिमानी शाह र उनका दुई छोरीहरू पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो। कतिपयले राजनैतिक अस्थिरताको कारण पूर्वराजाले सक्रियता बढाएको विश्लेषण गरिरहेका छन्। सोहीक्रममा शाहले  राजसंस्थाका लागि जनमत संग्रह हुनुपर्ने संकेत गर्नुभएको छ। धनगढीको नागरिक अभिनन्दन कार्यक्रमबाट उहाँले यस्तो संकेत गर्नुभएको हो।

‘तत्कालको अवस्थालाई नदेखेको र नबुझेको जस्तो गरेर, कुरा बटारेर निषेध गरेर, ओठे र कोठे जवाफ फर्काएर नेपालको भविष्य सप्रिँदैन। भोलिको सपनालाई साकार र बिपना बनाउन नेपालीपन, मान्यता तथा मनोभावनाअनुसार नेपाली जनतालाई नै जिम्मा दिऊँ, यसैमा हाम्रो कल्याण हुन्छ,’ उहाँले भन्नुभएको थियो। जनतामा जाने पूर्वराजा शाहको संकेत थियो।

यस्तै शाहले अहिलेको अग्रगामी कदम भनेको स्वाभिमान बेचेर नेपालीलाई शरणार्थी बनाएको आरोप लगाउनुभयो। उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणले देशको इज्जत र गौरव लोप भएको पनि बताउनुभयो। ‘नेपाली जनतालाई आफ्नो भू–भाग र राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर पसिना बगाउन पठाएर आज जो हर्कत गरिरहेका छन्, त्यसबाट हाम्रो गौरव र इज्जत लोप भइरहेको छ,’ उहाँले भन्नुभयो। त्यस्तै पूर्वराजा ज्ञानेन्द्रले देशप्रेम र देशभक्तिमा ह्रास आइरहेको जिकिर गर्नुभयो। उहाँले थप्नुभयो, ‘देशभित्रै बसौँ, देशमै पसिना बगाऔं, आफ्नो पौरखले आफ्नै देश बनाऊँ भन्ने भावना हराउँदैछ। के नयाँ नेपाल भनेको यही हो? के अग्रगामी भनेको परावलम्बी नेपाल हो? के नेपालको आफ्नो अस्तित्व छैन? हामी परिश्रमी र स्वाभिमानी नेपाली, आज हाम्रो वीरता र स्वाभिमान कम भइरहेको छ।’ उहाँले अहिले देशको अवस्था देख्दा आँखाबाट आँसु आउने गरेको बताउनुभयो। ‘देशको अवस्था देख्दा हामी सबैको आँखा रसाउँदै गएका छन्। आजको युग विकासको युग हो। आजको युग प्रविधिको युग हो। हामी आफ्नै स्रोत र साधन, आफ्नै सार्वभौमिकता, आफ्नै स्वतन्त्रताबाट आफ्नो उन्नति गर्न चाहन्छौँ। त्यसैले सोच्ने बेला आएको छ,’ उहाँको भनाइ छ।

सोमबार नै धनगढीबाट अत्तरिया प्रस्थान गर्नुभएका शाहले मंगलबार अत्तरिया चोकमा रहेको राजा महेन्द्रको शालिकमा माल्यार्पण गर्नुभएको थियो। उहाँले शालिकको माल्यार्पण गरेपछि अत्तरिया चोकमा परिक्रमा समेत गर्नुभयो। सो क्रममा पूर्व राजाको समर्थनमा स्थानीयले नाराबाजी गर्नुभएको थियो। उहाँहरूले ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ मेची काली हल्ला छ राजा आउने सल्लाह छ’ लगायतका नारा लगाउनुभएको थियो। अत्तरिया चोकमा २०६२÷०६३ को आन्दोलनका क्रममा भत्काइएको राजा महेन्द्रको शालिक पुनः निर्माण गरेर १ वर्ष अगाडी अनावरण गरिएको थियो। शालिक पुनर्निर्माण समितिका अध्यक्ष हरि भट्टराइले शालिकमा राजा नै आएर माल्यार्पण गरिदा आफूहरु निकै हर्षित भएको बताउनुभयो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय सदस्य प्रेमबहादुर बोगटीले राजा सबैका साझा हुन् भन्ने भावनाका साथ अत्तरियामा भव्य स्वागत गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘राजाको व्यवहार एकदमै साधारण जनताको जस्तै थियो। वहाको वरिपरी गार्ड पनि थिएनन्। वहाले अत्तरिया चोक परिक्रमा गर्दा सबै उपस्थित जनताले देख्न पाए,’ बोगटीले भन्नुभयो,  ‘नेता भन्दा पनि सामान्य व्यवहार राजाले देखाउनुभयो। नेताको नजिक पनि जनता जान पाउँदैनथे। राजा जनताका बीचमा आएर गए।’ उहाँले अब जनता पार्टीदेखि वाक्कदिक्क भएर राजा नै देश चलाउन आउनुपर्छ भन्ने भावनाका साथ सडकमा आएको बताउनुभयो। पूर्व राजाले पनि देशलाई आवश्यकता महसुस भएर सक्रियता बढाएको उहाँको भनाइ छ।