नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्णसहित १६ जना ३ दिनसम्म हिरासतमै रहने


काठमाडौं ।

 नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना थप ३ दिन हिरासतमा रहने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले आइतवार काठमाडौं जिल्ला अदालतबाट उनीहरुलाई जेठ १० गतेसम्म हिरासतमा राख्ने गरी अर्को अनुमति लिएको हो।

ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले आइतवार नै मुद्दाको फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउँदैछ। संगठित अपराधमा अनुसन्धान गर्न प्रहरीले ६० दिन म्याद पाउँछ। चैत १२ गतेबाट प्रहरीले आरोपीलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो।

शरणार्थीका नाममा ठगी गरेको भन्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी, हज कमिटिका अध्यक्ष शमशेर मिया र शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन्। यस्तै सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, टोपबहादुरका छोरा सन्दीप रायमाझी, गोबिन्द चौधरी र रामशरण केसी हिरासतमा छन्।