इलाम कारागारमा सुधारको प्रयास शुरू : कारागारभित्र गैरनाफामूलक सहकारी पसल सञ्चालन

0
Shares

इलाम । इलाम कारागारले कारागारभित्र बढेको विकृति र विसंगति हटाएर सुधार केन्द्रको रूपमा विकास गर्न इलाम कारागार सुधार मार्गचित्र २०८० अनुरूप काम थालेको छ । इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको सक्रियतामा यस्तो प्रयास थालिएको हो ।

कारागारभित्र तास खेल्ने, मदिरा सेवन गर्ने र कैदी फरार हुनेजस्ता घटना बढेपछि इलाम कारागारभित्र थप सुधारको प्रयास थालिएको हो । कारागार सुधार मार्गचित्रअनुसार गत सोमबारदेखि कारागारभित्र सहकारी मोडलमा सहकारी पसल सञ्चालन शुरू भएको छ । एउटै सुरक्षा घेराभित्र कसैले कमाउने, कसैले गुमाउने स्थिति नहोस् भनेर कैदिबन्दीका लागि एकै मूल्यमा सबै सामग्री उपलब्ध गराउन यस्तो पसल सञ्चालन गरिएको हो ।

अब कारागारमा नाफाको व्यापार नहुने र गैर नाफामूलक भएकाले कुनै चौकिदार या नाइकेले मात्र मुनाफा गर्ने भन्ने कुरा नहुने बताइएको छ । यस्तो मोडेलमा पसल सञ्चालन भएपछि मूल्य पनि सस्तो पर्ने र सवै कैदीबन्दीले समान मूल्यमा सामग्री उपभोग गर्न पाउने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताउनुभयो ।

यस्तै कैदीबन्दीले पाउने सेवा सुविधामा कैदीको सोझै पहुँच नभइरहेको अवस्थामा सहकारी पसलबाट अब कैदीले सीधै सेवा पाउने भएको छ । कारागार प्रशासनले कैदीले उक्त सेवा सुविधा प्राप्त गर्दै गरेको भिडियो फुटेज जिल्ला प्रशासनमा पठाउनु पर्नेछ । बिचौलियारहित सेवा प्रवाहको बारेमा कारागार सुधार मार्गचित्रका लागि प्रजिअ पोख्रेलले पटकपटक कारागारको अवस्थाबारे कैदीबन्दी र कारागार प्रशासनसँग बसेर छलफल गर्नुभएको थियो । त्यहाँबाट आएका गुनासो र सुझावलाई सम्बोधन गर्दै उहाँले यो मार्गचित्र तयार पार्नुभएको हो । कारागार सुधारको लागि प्रमुख जिल्ला अधिकारीले चालेको कदमलाई सफल बनाउन आफूले कुनै कसर बाँकी नराख्ने जेलर सुमित मगरले बताउनुभयो ।

कारागारमा रहेका कैदीबन्दीले कारागारमा खानेपानीको अभाव हुँदा खाना पकाउन र सरफाइ गर्न नपाएको तथा बदलिँदो मौसमका कारण धेरै बिरामी पर्ने गरेको तर औषधिको अभाव रहेको गुनासो गरेका छन् । इलाम कारागारमा हाल २ सय ७६ जना कैदीबन्दी रहेका छन् । तीमध्ये २० जना महिला छन् । कारागारमा भलिबल, क्यारामबोर्ड, पुलहाउस, बास्केटबलजस्ता खेलकुदका गतिविधि पनि हुने गरेका छन् । यस्तै, यहाँका २०÷२५ जना कैदीहरूले मुढा बुन्ने, ढाका बुनाइ र कटिङ व्यवसाय सञ्चालन गर्दै आएका छन् ।