१ लाख बिरुवा रोप्ने काठमाडौं महानगरपालिकाको अभियान

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले शंखधरपार्क (रत्नपार्क) मा वृक्षरोपण गरेको छ । सहरी हरियालीका लागि १ लाखवटा बिरुवा रोप्ने अभियानअन्तर्गत शनिबार पार्कमा १ सय १५ वटा बिरुवाहरू रोपिएका हुन् । जसमा कपुर, धुपी र समीका बिरुवा छन् । अभियानको थालनी गर्दै यसअघि काटेश्वर जडीबुटी सडक खण्डमा १ सय २० वटा कपुरका बिरुवा रोपिएका थिए ।

शहरी हरियालीका लागि १ लाख बिरुवा रोप्ने सपना पूरा गर्ने अभियानमा रहेको काठमाडौंका मेयर बालेन्द्र साहले शहरी हरियालीका लागि धार्मिक मान्यता पाएका, फूल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बचाउने, वनस्पतिक र जैविक विविधता जोगाउने प्रयास थालिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘चराचुरुङ्गी तथा अन्य जीवजनावरलाई खाना र बास उपलब्ध गराउने सक्ने क्षमता भएका स्थानीय जातका बोट बिरुवालाई जोगाउने योजनाअनुरूप रैथाने (इडेमिक)) र प्राकृतिक रूपमा उम्रने (इन्डिजेनियस) बोट बिरुवा रोपण कार्यलाई पहिलो प्राथमिकतामा राखिनेछ ।’

सन् १८०२ मा वैज्ञानिक बुचानन हामील्टनले एक वर्षसम्म काठमाडौंको नारायणहिटी र स्वयम्भूमा बोट बिरुवाको अध्ययन गर्नुभएको थियो । सोही आधारमा काठमाडौंमा ११ प्रजातिका बिरुवा रोप्ने सिफारिस गरिएको थियो । अहिले पनि सोही सिफारिसका आधारमा वृक्षरोपण गरिएको हो । यी बिरुवा स्थानीय हावापानीमा सजिलै हुर्कने तथा नेपाली जनजीवनसँग परिचित भएकोले जैविक र वानस्पतिक विविधताको संरक्षणमा सघाउ पुग्ने बताइएको छ । वनस्पतिविज्ञ प्रकाश खड्गीका अनुसार, नेपालमा पाइने १ सय ५८ प्रकारका रूख र ७५ प्रकारका बुटाहरू विश्वका अन्त कतै पाइँदैनन् । यहाँ ३ सय १२ प्रकारका रैथाने जातका बोटबिरुवा छन् ।