पार्टीभन्दा माथि उठेर देशका लागि काम गरिरहेको छु : अर्थमन्त्री डा. महत

0
Shares

काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसंग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा छलफल गर्नुभएकाे छ । आज सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा अर्थमन्त्रीले छलफल गर्नुभएकाे हो । छलफलमा अर्थमन्त्री डा. महतलाई सांसदहरुले वर्तमान अर्थतन्त्रकाबारेमा विभिन्न जिज्ञासा राख्नुभएकाे थियाे ।

सांसदहरुको जवाफ दिँदै मन्त्री डा. महतले भन्नुभयाे, ‘स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नु हुँदैन । तर हामी नेपालमै अवसरहरु सिर्जना गर्दै लैजाने हो । यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन । युवाहरुको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौं ।’

नेपालमा अहिले जुन उद्योग व्यवसाय छ, त्यसमा धेरैजसो हाम्रो भ्यालु एडसिन कम भएका भन्दै डा महतले उत्पादन कसरी बढाउने भन्ने कुरालाई प्राथमिकतामा राख्ने बताउनुभयाे । `उत्पादनकाे भ्यालु एडिसन ज्यादा भन्दा ज्यादा देशभित्र नै होस् भन्ने कुरा प्राथमिकतामा रहन्छ । नेपाली उद्योग व्यवसायीलाई प्रमोट गर्ने जस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिन्छौं, बढीभन्दा बढी नेपाली उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने नीतिमा हामी जान्छौं´, मन्त्री डा. महतले भन्नुभयाे । देशकाे अर्थतन्त्र सुधारका लागि पार्टी भन्दा माथि उठेर काम गरिरहेकाे भन्दै महतले देश र जनताकै पक्षमा आगामी बजेट आउने बताउाुभयाे ।

बैठकमा एमालेका सूर्यबहादुर थापा, पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीका भवानी खापुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र शाहीलगायतले अर्थमन्त्री डा. महतलाई प्रश्न गर्नुभएकाे थियाे । अर्थ समितिको बैठक नेपाली कांग्रेसका सांसद एवं समितिका ज्येष्ठ सदस्य सन्तोष चालिसेको सभापतित्वमा बसेको थियो ।