गुणस्तरीय सडक निर्माण गर्न अभियान सुरु : मन्त्री ज्वाला

0
Shares

भक्तपुर । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक पूर्वाधारमा लगानी बढाएर रोजगारीका अवसर सृजना गरी राष्ट्रलाई समृद्धितर्फ लैजानुपर्ने बताउनुभएको छ ।

आज पूर्व अरनिको यातायात प्रा.लि.ले सञ्चालन गरेको निःशुल्क स्कुल बस उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले अर्थतन्त्रमा आएको संकटका कारण पुर्वधारका क्षेत्रमा लगानी बढाउन नसक्ने अवस्था आएको भए पनि सडक क्षेत्रमा लगानी बढाउने प्रयास सरकारले गरिरहेको बताउनुभयो ।
मन्त्री ज्वालाले यातायात क्षेत्र उत्पादन बृद्धि गर्ने र पुँजी निर्माण गर्ने क्षेत्र भएको बताउनुभयो । उहाँले जनताको सेवा र सुविधासँग सरोकार राख्ने विषय भएकोले यातायात क्षेत्रलाई आफूले पहिलो प्राथमिकता दिएको बताउनुभयो ।

छिटो काम गरेर अलपत्र र रुग्न अवस्थामा रहेका सडकका योजनालाई टुंगामो पुर्‍याउन मन्त्रालयले समयमा गुणस्तरीय सडक निर्माण गर्न अभियान नै थालेको बताउनुभयो । उहाँले सार्वजनिक सवारी सधानलाई सुरक्षित, भरपर्दो र थप सेवामुखी बनाउन प्रतिबद्धताका साथ काम गरिरहेको बताउनुभयो ।
यातायात क्षेत्रमा रहेका अव्यवस्था र जटिलतालाई सुधार्नुपर्छ  भन्दै मन्त्री ज्वालाले मन्त्रालयले केही सुधारका कार्य थालनी गरेको जानकारी दिनुभयो ।
यस क्षेत्रमा रहेका कानुनी र प्रक्रियागत जटिलतालाई फुकाउँदै गइरहेको बताउँदै उहाँले कानुन परिवर्तन र नियम संशोधन गरेर तथा प्रक्रिया सहज बनाएर भए पनि यातायात क्षेत्रको सुधारको लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

सडक पूर्वाधार राम्रो नहुँदासम्म यात्रुहरुले सुविधा पाउन नसक्ने भन्दै उहाँले सडकलाई राम्रो बनाउने र दुर्गम ठाउँसम्म सवारी पुर्‍याउन सडक पूर्वाधारमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

नागरिकले सवारी चालक अनुमति पत्र समयमै प्राप्त गर्नका लागि थप प्रिन्टर मेशिन खरिद गरेर लामो लाइनमा बस्नुपर्ने र लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य गर्ने उहाँले बताउनुभयो ।

मन्त्री ज्वालाले एक हप्ताभित्र सवारी चालक अनुमति पत्र प्राप्त गर्ने अवसर सृजना गर्न र सवारी चालक अनुमति पत्रलाई दश वर्षमा मात्र नवीकरण गर्ने कानुनी प्रक्रिया अगि बढाएको बताउनुभयो ।

यातायात क्षेत्रको सहजता र सुधारका लागि समस्या पहिचान गरेर एक एक गरी समाधान गर्दै जाने उहाँको भनाई थियो ।

मन्त्रालयको बढी चासो सडकको स्तर राम्रो र सार्वजनिक सवारी साधन सुरक्षित गर्नतर्फ रहेको बताउँदै उहाँले दुर्घटना भए पनि ज्यान नजाने अवस्था सृजना गर्नतर्फ मिलेर सरोकारवाला सबैले सहकार्य र समन्वय गर्नुपर्ने बताउनुभयो ।

दुर्घटना घटाउन र दुर्घटनामा मृत्यु हुने कहालीलाग्दो अवस्थालाई ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले ट्राफिक व्यवस्थापनमा कडाइ गर्नुपर्ने तर यसका नाममा सवारी चालकले अनावश्यक दुख पाउने अवस्था सृजना गर्न नहुने बताउनुभयो ।

ट्राफिक प्रहरीले सहजीकरण र कडाइ दुवै गर्नु पर्ने बताउँदै नियम विपरीत बदमासी गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने तर कानुन अनुसार चल्नेलाई सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री ज्वालाले यातायात व्यवस्थासँग जोडिएका सवालहरुमा विभाग,ट्राफिक प्रहरी र सम्बन्धित सरोकारवालाले नआत्तिई समन्वयात्मक ढंगले छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।

यातायात व्यवस्थालाई सुधार र सुदृढ गर्न तथा भरपर्दो र सुरक्षित बनाउनका निम्ति सम्बन्धित सवालहरुमा मन्त्रालयको सीमा भित्र रहेर महानगरपालिका ,नगरपालिका ट्राफिक प्रहरी र अन्य मन्त्रालय तथा निकायसँग जोडिएर समन्वयन गरिरहेको मन्त्री ज्वालाको भनाई थियो ।

यातायात व्यवसायीका राम्रा अभियान,प्रयास र प्रयत्नमा सहयोग रहने बताउँदै यातायातका साधनलाई ठिक अवस्थामा राख्ने,यातायात मजदुरलाई सन्तुष्ट बनाउने ,समयलाई पालना गर्ने र दुर्घटना कम गर्ने कुरामा सबभन्दा बढी ध्यान दिने प्रा.लि.को कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

पूर्व अरनिको यातायात प्रा.लि.का अध्यक्ष केदार क्षेत्रीले श्रमिकका छोराछारीका लागि यस अघि निःशुल्क पठनपाठनको व्यवस्था गर्दै आएको प्रा.लि.ले चार वटा बस मार्फत निःशुल्क बस सेवा समेत सुरु गरेको बताउनुभयो ।

अध्यक्ष क्षेत्रीले स्थानीय सरकार र केन्द्रीय सरकारको सहयोग पाए प्रा.लि.ले जडीबुटी क्षेत्रमा आफैँ व्यवस्थित  बसपार्क बनाउने दृढता व्यक्त गर्नुभयो ।