स्याङ्जाका ४ स्थानीय तहबाट श्रम स्वीकृति

0
Shares

स्याङ्जा। 

वैदेशिक रोजगारीमा जानेले अब स्थानीय तहबाटै श्रम स्वीकृति पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहबाटै उक्त सेवाको व्यवस्थापन मिलाउन परिपत्र भएअनुसार स्याङ्जाको भीरकोट, वालिङ, गल्याङ र पुतलीबजार नगरपालिकाले सेवा सुरु गरेका हुन् । स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु गरिएको हो । वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरपालिकाको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृती र पुनः श्रम स्वीकृति लिन सक्ने ति नगरपालिकाहरुले जनाएका छन् । हालसम्म भीरकोटबाट १३, वालिङबाट ८, गल्याङबाट ४ र पुतलीबजारबाट १ गरि जम्मा २६ जनाले यो सेवा लिइसकेका छन् ।

नयाँ वर्षबाटै नगरपालिकाले उक्त सेवा सञ्चालन गरे पनि सेवाग्राहीले ढिलोमात्र सेवा लिएको भीरकोट नगरपालिकाका रोजगार संयोजक वसन्त बस्नेतले बताउनुभयो । उहाँका अनुसार मन्त्रालयको परिपत्रअनुसार सेवा सुरु गरिएको हो । बस्नेतले भन्नुभयो, ‘श्रम स्वीकृतिको लागि अनलाइन सहजीकरणको मात्रै हामीलाई जिम्मेवारी प्राप्त भएको छ । यसको पूर्ण स्वामित्व हामीमा छैन, त्यसैले थप अधिकार प्रत्यायोजन गरे सहज हुने थियो ।’ बस्नेतले भीरकोट नगरपालिकामा हालसम्म २० जनाले श्रम स्वकृतिको निवेदन दिएकोमा १३ जनाको काम सम्पन्न भैसकेको बताउनुभयो ।

वैदेशिक रोजगारमा जानका लागि पोखरा वा काठमाडौँ गएर श्रम स्वीकृति लिनुपर्ने बाध्यता हटेको भीरकोट ५ का सन्तोष थापाले बताउनुभयो । उहाँ लामो समयदेखि वैदेशिक रोजगारीमा हुनुहुन्छ । अहिले छुट्टीमा घर आउनुभएका उहाँ घर आँगनमै रहेको स्थानीय सरकारमार्फत उक्त सेवा लिन पाउँदा खुसी हुनुहुन्छ । ‘पहिले श्रम स्वीकृति लिन पोखरा गएको थिएँ,’ उहाँले भन्नुभयो, ‘लामो समय लाइन बस्नुपर्ने, एजेन्टबाट ठगिने खतरा, यातायात र अन्य खर्चलगायत झन्झट हुन्थ्यो । अहिले यहीँबाट सहज रुपमा सेवा पाएँ ।’

वालिङ नगरपालिकामा हालसम्म १२ जनाले श्रम स्वीकृतिको निवेदन दिएकोमा हालसम्म ८ जनाको स्वीकृति आइसकेको रोजगार संयोजक पवन बस्यालले बताउनुभयो । श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट, नागरिकता र भिसासम्बन्धी कागजात ल्याउनुपर्ने हुन्छ । संयोजक बस्यालका अनुसार श्रम स्वीकृति लिनुपूर्ब सम्बन्धित व्यक्तिले सामाजिक सुरक्षा कोष, कल्याणकारी कोष र बिमाका लागि रकम तिर्नुपर्ने हुन्छ । उक्त कोष तथा बिमाका लागि लाग्ने रकम मोबाइल बैंकिङबाट तिरेर सहजीकरण गरिदिने उहाँले बताउनुभयो । ‘अहिले नै बैंकसँग समन्वय भइसकेको छैन, प्रक्रियामा छौँ । हाललाई मोबाइल बैंकिङ हुने र जान्नेले आफैँ तिर्नु भए पनि हुन्छ, नभए हामीहरुले सहजीकरण गरिदिएका छौँ,’ उहाँले भन्नुभयो, ‘सबै काम भए पछि अनलाइनमार्फत श्रम स्वीकृति प्राप्त हुने र स्वीकृति भएकोबारेमा इमेल र मोबाइलमा क्युआर कोड पठाइदिने व्यवस्था रहेको छ ।’

स्थानीय तहहरुबाटै यो सुविधा प्राप्त भएपछि सेवाग्राहीहरु खुसी छन् । ‘विगतमा श्रम स्वीकृति लिन पोखरा, काठमाडौँ जानुपर्ने बाध्यता थियो, समयमा काम नहुने, बढी खर्च हुने लगायत थुप्रै समस्या झेल्दै वैदेशिक यात्रा गर्नुपर्ने थियो’ पुतली बजारमा श्रम स्वीकृति लिन आउनुभएका सेवाग्राही लोक बहादुर सुनारले भन्नुभयो, ‘जब नेपाल सरकारले स्थानीय तहबाटै श्रम स्वीकृत प्रदान गर्ने प्रावधान ल्यायो, यसबाट हामी पनि हर्षित छौँ ।’ उहाँले पालिकाको सूचना देखेर सेवा लिन आएको पनि बताउनुभयो । पुतलीबजार नगरपालिकाका रोजगार संयोजक लक्ष्मी शर्माले सरकारी व्यवस्थाअनुसार वैदेशिक रोजगारलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र सहज बनाउन स्थानीय तहबाटै उक्त व्यवस्था सुरु गरेको बताउनुभयो । उहाँका अनुसार १ जनाले श्रम स्वीकृति लिइसकेको तथा अन्य २ जनाको प्रक्रियामा रहेको छ ।

यसैगरि गल्याङ नगरपालिकामा ४ जनाले श्रम स्वीकृति लिएको रोजगार संयोजक खगेन्द्र भण्डारीले बताउनुभयो । गत चैतमा नेपाल सरकार (प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय) को मन्त्री स्तरीय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने निर्णय भएको थियो । वैदेशिक रोजगार ऐन तथा वैदेशिक रोजगार नियमावलीमा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने प्रावधान छ । सोहीअनुरुप सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा जोडेर विदेश जानका लागि अनलाइन आवेदन भर्न नसक्नेका लागि निःशुल्क रुपमा आवेदन भरिदिने व्यवस्थासमेत गरेको छ । स्थानीय तहबाटै श्रम स्वीकृतिको सेवा सुरु भएपछि वैदेशिक रोजगारीमा जान चाहने  नागरिकहरुलाई केही सहज भएको छ ।