सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु सीमाको छड्के निरीक्षणमा

0
Shares

काठमाडौं  ।
सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुले सीमा क्षेत्रमा छड्के निरीक्षणलाई तिव्रता दिनुभएको छ ।
सीमा नाकामा अनुगमनका क्रममा कहीँकतै कमिकमजोरी भेटिए टोली परिवर्तन गर्नेदेखि कमाण्डरहरुलाई कमाण्डबाट हटाउनेसम्मको जिम्मेवारी लिई उहाँहरु सीमा नाका अनुगमनमा जानु भएको हो । निरीक्षण तथा अनुगमनकै क्रममा मानवश्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लुम्बिनि प्रदेश अन्तर्गत बाँके जिल्लास्थित बीओपी बढैया, जयसपुर, गंगापुर जमुनाह तथा कपिलवस्तु जिल्लास्थित चाकडचौडा, मर्यादपुर, हथिहवा, हर्दौना, भिल्मीलगायतका सीमा नाका अनुगमन र निरीक्षणका क्रममा हुनुहुन्छ । यसैगरी, बर्दिया,  रुपन्देही, नवलपरासीलगायतका सीमा नाका अनुगमनसमेत गरिने कार्यक्रम रहेको छ ।
 बाँके र कपिलवस्तुस्थित सीमानामा रहेका युनिट अनुगमन तथा निरीक्षणका क्रममा उहाँले सीमामा हुनसक्ने चोरीपैठारी नियन्त्रणमा निर्मम रुपमा प्रस्तुत हुन र कुनैपनि प्रकारको सम्झौता नगर्न निर्देशन दिनुभयो । अवैध कृयाकलाप रोक्नका साथसाथै सीमामा सरोकारवाला निकायसँगको समन्वयमा सीमास्तम्भको अनुगमन, रेखदेख तथा वर्षातको समयमा विशेष गरी सानाखालका सीमास्तम्भ बगाउने तथा पुरिनसक्ने भएकोले त्यसलाईसमेत विशेष प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ ।
यसअघि, कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले गत चैत तथा बैशाख महिनामा कोशी प्रदेश तथा सूदुरपश्चिम प्रदेश अन्तर्गतका जिल्लाका सीमा नाका अनुगमन गर्नुभएको थियो । कोशी प्रदेश अन्तर्गत इलाम, झापा, मोरङ, सुनसरी जिल्लाका सीमा क्षेत्रमा रहेका गण तथा बीओपी अनुगमनका क्रममा उहाँले विशेष गरी भन्सार इलाकामा
कडाईकासाथ कर्तव्यपालना गर्न र राजश्व संकलनमा गम्भिर भएर लाग्न निर्देशन दिनुभएको थियो ।
यसैगरी, सूदुरपश्चिम प्रदेशका सीमा नाकासमेत उहाँले अनुगमन गर्नुभएको छ । सीमा नाकामा आवतजावत गर्ने नागरिकलाई सहज र सजिलो वातावरण बनाउनका साथै विभिन्न आवरणमा हुनसक्ने चोरीपैठारी नियन्त्रणका साथसाथै लागूपदार्थ ओसार पसारमासमेत उच्च निगरानी गर्न उहाँले निर्देशन दिनुभयो ।
यसैगरी सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले बैशाख अन्तिम हप्ता बाग्मति प्रदेश अन्तर्गत रसुवा, सिन्धुपाल्चोक तथा दोलखा जिल्लाको सीमा युनिटहरुको आकस्मिक निरीक्षण तथा अनुगमन गर्नुभई चोरीपैठारी नियन्त्रण र वन्यजन्तुका अंगहरुको हुनसक्ने तस्करी नियन्त्रणमा परिणाम देखिने गरी कार्यगर्न निर्देशन दिनुभएको थियो ।
केही महिना यतादेखि सशस्त्र प्रहरी बल, नेपालले अतिरिक्त महानिरीक्षकहरुको नेतृत्वमा सीमा अनुगमनलाई तिव्रता दिएकै कारण अवैध सामान बरामदीसमेत अत्याधिक बढेको छ । सोही कारण आ।व। २०७९र८० को बैशाख अन्तिम हप्तासम्म चोरीनिकासी तथा पैठारीको १ अर्व रुपैयाँभन्दा बढिको
सामान नियन्त्रणमा लिई सम्बन्धित निकायहरुमा बुझाइएको छ । खासगरी सीमामा हुने चोरीनिकासी नियन्त्रण, सीमा पिल्लर अनुगमन, काउण्टरपार्ट्ससँगको समन्वय र सहकार्य तथा सीमाना नजिक बसोबास गर्ने नागरिक र सशस्त्र प्रहरी विचको सहयोग र सहकार्यलाई थप बजवुद बनाउनसमेत यस प्रकारका अनुगमन प्रभावकारी हुँदै गएको र आगामी दिनमासमेत यसलाई निरन्तरता दिइनेछ ।
यसैगरी सीमा नाकाको अवस्था, वर्षातको समयमा हुनसक्ने डुवानको बारेमा युनिटहरुले गरेको पूर्व तयारीबारे जानकारी लिने तथा भन्सार इलाकाको अनुगमनसमेत निरन्तर रुपमा उहाँहरुबाट हुनेछ । जसकारण राजश्व संकलन र चोरीपैठारी नियन्त्रणमा संगठनको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।