डडेल्धुरा अस्पताल विकास समितिमा दुई जना अध्यक्ष 

सिंहले पदभार ग्रहण गरेकै दिन स्वास्थ्य मन्त्रालयले ओझा अध्यक्ष भएको पत्र पठाएपछि ...



डडेल्धुरा ।

डडेल्धुरा अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष लक्ष्मण सिंहले पदभार ग्रहण गरेकै दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निवर्तमान अध्यक्ष करुणाकर ओझालाई अध्यक्षमा मनोनयन गरिएको पत्र पठाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट नियुक्त भएका सिंहले अस्पताल पुगेर पदभार ग्रहण गरेकै दिन बुधवार ओझा अध्यक्षमा नियुक्त भएको पत्र अस्पतालमा पुगेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चेतराज भट्टले ओझालाई अध्यक्षमा नियुक्त गरिएको मन्त्रालयको पत्र अस्पताललाई प्राप्त भएको जानकारी दिनुभयो । उहाँका अनुसार एक साता अघि मात्रै अस्पतालको अध्यक्षमा नियुक्त भएका सिंहको मनोनयन बदर गरिएको पत्र पनि अस्पताललाई प्राप्त भइसकेको छ ।

गत वैशाख १७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार समेत सम्हाल्दै आउनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री स्तरीय निर्णयगर्र्दै वैशाख २३ गतेदेखि लागू हुनेगरि डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा सिंहलाई मनोनयन गर्नुभएको थियो । सिंहले बुधवार पदभार ग्रहण गर्नु भएको अस्पतालले जनाएको छ । विगतमा नेपाली काँग्रेस निकटस्थ सिंह गत मंसिरमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अमरगढी नगरपालिकाको नगरप्रमुख पदमा पराजित हुनु भएको थियो । विगतमा माओवादी केन्द्रका नेता ओझा भने हाल नेपाली काँग्रेस आबद्ध हुनुहुन्छ ।

अध्यक्ष सिंहले त्यसअघि निरन्तर दुई कार्यकाल डडेल्धुरा अस्पताल विकास समितिको नेतृत्व गरिसक्नु भएको छ भने सिंहपछि ओझा अध्यक्ष बन्नु भएको थियो । तेस्रो कार्यकालका लागि अध्यक्ष सिंहले पदभार सम्हालेकै दिन उहाँलाई बदर गरेर निवर्तमान अध्यक्ष ओझालाई मनोनयन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बुधवार मन्त्री स्तरीय निर्णय गर्नुहुँदै ओझालाई डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गर्नुभएको हो ।

सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहतको एकमात्र अस्पताल डडेल्धुरा अस्पताल विकास समितिमा दुई जना अध्यक्ष मनोनयन गरिएको विषयमा सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ । अधिकांशले डडेल्धुरा अस्पतालमा दक्ष चिकित्सक र उपकरणहरु आवश्यक रहेका बेला मन्त्रालयले दुई जना अध्यक्ष पठाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । गत १९ वैशाखमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा बस्नेत आउनु भएपछि प्रधानमन्त्री दाहालले स्वास्थ्यमन्त्रीका हैसियतले यसअघि गरेको निर्णयलाई उल्टाउँदै ओझालाई अध्यक्ष मनोनयन गरिएको निर्णय त्रुटिपूर्ण भएको कानुन व्यवसायीहरू बताउँछन् ।

२४ वैशाखबाट अस्पताल विकास समितिको अध्यक्ष जिम्मेदारी लिएका सिंहलाई हटाउने मन्त्रीको निर्णय भने गैह्र कानुनी देखिएको अधिवक्ता हरि जोशीले बताउनु भयो । डडेल्धुरा अस्पताल विकास समिति गठन आदेश २०७६ को दफा ३ को (२) अनुसार दुवै जनालाई अध्यक्षमा मनोनयन गरिएको छ । सो गठन आदेशको दफा २ अनुसार नियुक्त अध्यक्ष तथा सदस्यहरुको समयावधि दफा ३ को (३) मा तीन वर्षको हुने सुनिश्चित गरिएको छ । तर मन्त्री बस्नेतले नियुक्ति भएको १० दिनमा प्रधानमन्त्री दाहालले गरेको निर्णय बदर गर्दै सिंहलाई अध्यक्षबाट हटाउन नमिल्ने अधिवक्ता जोशीले दाबी गर्नुभयो ।

गठन आदेशको दफा ६ ले पद रिक्त हुने अवस्था राजीनामा दिएमा, पदावधि पुरा भएमा, मृत्यु भएमा र नेपालको कानुन विपरीत भएमा वा गैह्र कानुनी काममा संलग्न भएको पुष्टि भएमा भन्ने उल्लेख गरेको छ । दफा ३ को उपदफा ४ मा उपदफा मन्त्रीलाई अध्यक्ष तथा सदस्य हटानसक्ने अधिकार दिइएको छ तर हटाउनु पर्दा प्रमाणित कारण उल्लेख गर्नुपर्ने छ । साथै हटाउनु पुर्व स्पष्टीकरणको मौका पनि दिनुपर्ने उल्लेख छ ।

‘उपदफा ३ मा जुनसुकै कुरा लेखिए तापनि अध्यक्ष वा मनोनीत सदस्यले आफ्नो पद अनुरूप काम नगरेमा मन्त्रालयले निजलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ ।’ उपदफा ४ मा उल्लेख छ । तर सोही दफाको उपदफा ५ मा त्यसरी हटाइनु अघि अध्यक्ष वा सदस्यहरुलाई सफाइको मौका दिनुपर्ने उल्लेख छ । मन्त्री बस्नेतले गठन आदेश विपरीत सफाइको मौका नदिई गैह्र कानुनी रुपमा अध्यक्षबाट हटाएर हतारमा नयाँ अध्यक्ष नियुक्ति गरेकोले कानुनी उपचार खोज्ने अध्यक्ष सिंहले बताउनु भयो ।

बुधवार मात्रै पदभार ग्रहण गर्न अमरगढी नगरपालिका–५ भीमदत्त चोकबाट स्थानीयहरूसँग भेटघाट गर्दै अस्पताल पुगेका सिंहलाई कर्मचारीले भव्य स्वागत गरेका थिए । पदभार ग्रहण गर्नुअघि सिंहले अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेका थिए । अस्पताल विकास समितिको अध्यक्ष रहँदा सिंहले अस्पतालको विकासका लागि नमुना काम गरेको स्थानीय बताउँछन् । दरबन्दी रिक्त रहेका चिकित्सक ल्याउन नसकेमा पदबाटै राजीनामा गर्ने प्रतिबद्धता सिंहको छ । अध्यक्ष सिंहले आफ्ना पुराना दुई कार्यकालजस्तै अस्पतालको विकास र बिरामीको उपचारकाका लागि कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

उनले सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहतको एकमात्र डडेल्धुरा अस्पतालबाट प्रादेशिक अस्पताल धनगढीमा बिरामी रेफर गर्नुपर्ने बाध्यता अन्त्य गर्ने दाबी गरे । १९ जना विषय विशेषज्ञको दरबन्दी रहेको अस्तालमा हाल पाँच जना मात्रै विषेशत्र चिकित्सक कार्यरत छन् । कार्यरत पाँचै जना विशेषज्ञ चिकित्सकहरु छात्रवृत्तिमा अध्ययन गरेर खटिएको डडेल्धुरा अस्पताल प्रशासनले जनाएको छ । १८ जना मेडिकल अधिकृतको दरबन्दी रहेकोमा हाल १६ जना करारमा कार्यरत रहेकोमा चार जना अध्ययन बिदामा छन् ।

डडेल्धुरा अस्पताललाई मेडिकल कलेज बनाउने निर्णय गरेर प्रक्रिया अघि बढाइए पनि काम शुरु हुन सकेको छैन । गत मंसिरमा सम्पन्न निर्वाचन अघि डडेल्धुरा अस्पतालमा मेडिकल कलेज स्थापना गर्ने भनेर सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत डीनको कार्यालय सञ्चालनमा ल्याइएको थियो । कार्यालय स्थापना भए पनि बजेट अभावमा कुनै क्रियाकलापहरू हुन सकेका छैनन् । डडेल्धुरा अस्पताल राजनीतिको आँकडा बन्दै गएको र नेताहरुले आफ्ना कार्यकर्ता भर्तिकेन्द्र बनाउन खोज्दा अस्पतालले सेवा प्रवाहमा सुधार ल्याउन नसकेको स्थानीय अगुवा योगेन्द्र राववले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्