उद्योगीका सुझाब समेटेर बजेट ल्याए आर्थिक संकट सुध्रिन्छ : अध्यक्ष ढकाल

0
Shares

बुटवल   । 

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार र अर्थमन्त्रालयले उद्योगी व्यवसायीहरुले दिएका सुझाब अनुसारको बजेट ल्याएमा केही महिना भित्र नै देशको अर्थतन्त्र सध्रिने बताउनु भएको छ ।

देशमा खस्किदै गईरहेको अर्थतन्त्र सुधारका लागि नेपाल उद्योग वाणिज्य महासंघले सरकार र अर्थमन्त्रालयलाई यसअघि दिएका सुझाब कार्यान्वयन गरि बजेट ल्याउनु अपरिहार्य रहेको उहाँ बताउनु भयो । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आयोजना गरेको २९ औं परिषद सभालाई सोमवार सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा आएको आर्थिक संकटको कुनै एकपक्ष मात्रै जिम्मेवार नरहेको बताउँदै यसको लागि सरकारले नै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

भारतीय सिमा नजिकै रहेकोले समस्याहरु भएको थाहा पाउँदा नरमाईलो लागेको बताउँदै उहाँले नजिक सिमाको फाईदा व्यवासयीहरुले उठाएर आम्दानी बढाउनुपर्ने बताउनु भयो । बुटवल तथा रुपन्देही क्षेत्र बिभिन्न संभावना बोकेको क्षेत्र रहेको बताउदै आफु पनि केबुलकारबाट यस क्षेत्रमा व्यवसाय मार्फत संलग्न हुने खोजेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले देशको आर्थिक अवस्था सुधार गर्नेगरि कार्यक्रमहरु संघीय सरकारले नै ल्याउनुपर्ने बताउनु भयो । उहाँले कुनै एउटा क्षेत्रको मात्रै भन्दा पनि देशकै आर्थिक अवस्था निकै कमजोर भएको बताउँदै यसका लागि उद्योगी व्यवसायीहरुले पहिलेनै सुझाब दिएको बताउँदै त्यसलाई नीति कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवललाई लुम्बिनी प्रदेशको राजधानी सार्दा केही घाटा लागेपनि त्यसको परिपूर्ती हुनेखालका कामहरु भईरहेको बताउनु भयो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित सदस्य उज्ज्वलप्रसाद कसजूले पछिल्लो समय बुटवलमा आर्थिक चलायमान केही कम भएपनि यसलाई बढाउनको लागि बिभिन्न पहलहरु भईरहेको बताउनु भयो ।

उपमहानगरपािलकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले कदरपत्र सहित माला लगाएर सम्मान गरेका थिए । त्यसै अवसरमा बस्तुगत समितिका सभापतिहरुलाई पनि सम्मान गरिएको थियो ।