चर्चामा आएका सबै काण्डको निष्पक्ष छानविन होस्: नेता रिमाल


रामेछाप ।

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले अहिले चर्चामा आएका सबै काण्डको निष्पक्ष छानविन गर्नुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल रामेछापले बुधबार रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै रिमाले सबै विषयमा छानबिन अघि बढाउन राजनीतिक दल तयार हुनुपर्ने बताउनुभयो ।

नक्कली शरणार्थी प्रकरणमा नेकपा एमालेको प्रष्ट दृष्टिकोण रहेको उहाँले बताउनुभयो । उहाँले आरोप लागेका सबै नेताहरूलाई अनुसन्धान प्रक्रियामा सहयोग गर्न सुझाव दिनुभयो ।रिमालले सो प्रकरणमा प्रहरी प्रशासनलाई निष्पक्ष छानबिन गर्न आग्रह गर्नुभयो । नेपाल प्रहरी अनुसन्धानमा अब्बल भए पनि कसैको प्रभावमा परेर काम गर्नु नहुने उहाँले बताउनुभयो । निष्पक्ष छानबिनको सट्टा सरकारमा रहेको नेताहरूले रसिइवी साँध्न लागे भने अनर्थ हुने उहाँले चेतावनी दिनुभयो ।

एमालेले नक्कली भुटानी शरणार्थी मात्र होइन सबै घटनाको निष्पक्ष छानबिन होस् भनिरहेको उहाँले बताउनुभयो । एमालेसँग जोडिएर पनि केही कुरा उठाइएको बताउँदै ओम्नी काण्ड, यति काण्ड, ललिता निवास काण्ड, ह्वाइटबडी काण्ड, सबै कृत्रिम काण्डको बारेमा छलफल होस् भन्ने एमालेको माग रहेको उहाँले बताउनुभयो । यतिसम्मकी क्यान्टोनमेन्टमा रहेका लडाकुलाई दिएको रकमको समेत छानबिन हुनु पर्ने एमालेको अडान रहेको उहाँले बताउनुभयो ।

लडाकुलाई दिएको रकमका बारेमा कुरा गर्दा अहिले सत्तामा रहेका मानिसहरूको मुटु दुख्ने रिमालले बताउनुभयो । कसैलाई छाड्नु नहुने र कुनै पनि काण्डको बारेमा एमाले मुखमा पानी हालेर नबोल्ने उहाँले प्रष्ट पार्नुभयो । देशको अर्थतन्त्र अत्यन्त संकटमा परेको बेला सरकारले कुनै नयाँ कार्यक्रम ल्याउन नसकेको भन्दै उहाँले आलोचना गर्नुभयो । संघीय सरकार प्रदेश र स्थानीय सरकारलाई बजेट नै पठाउन नसक्ने अवस्थामा रहेको उहाँले बताउनुभयो ।

अहिले विभिन्न विषयलाई जोडेर प्राप्त उपलब्धिलाई उल्टाउने प्रयास हुन लागेको भन्दै रिमालले आलोचना गर्नुभयो । नयाँ र पुरानाको नाम जोडेर पुराना पार्टी सबै काम नलाग्ने भविष्य बनाउन लागिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । नयाँ विचार र दृष्टिकोण बोक्ने पार्टी कहिल्यै पनि पुरानो नहुने उहाँले स्पष्ट पार्नुभयो ।