मनसुनजन्य विपद् उद्धारका लागि तयारी रहन महानिरीक्षक अर्यालको निर्देशन 

0
Shares

काठमाडौं ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मनसुनजन्य विपद् उद्धारका लागि तयारी हालतमा रहन निर्देशन दिनुभएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको जेठ १ गते निरीक्षणका क्रममा महानिरीक्षक अर्यालले सवै युनिटहरुलाई यस प्रकारको तयारी गर्न निर्देशन दिनुभएको हो ।
मनसुनको बारेमा पूर्व जानकार रहन र हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्नको लागि तत्काल तयारी गर्न जरुरी रहेको बताउनुहुँदै उहाँले जति धेरै पूर्व तयारी गर्न सक्यौ त्यति नै मनसुनजन्य प्रकोपबाट मानवीय तथा भौतिक क्षति कम गर्न र पीडितको उद्धार सारथी बन्न सकिने बताउनुभयो ।  मुलुकमा आईपर्ने विषम परिस्थितिमा जुनसुकै समयमा जस्तोसुकै अवस्था र जहाँ पनि परिचालित हुन पूर्व तयारीका साथसाथै शारीरिक र मानसिक रुपमा समेत तयार रहन महानिरीक्षक अर्यालले निर्देशन दिनुभयो ।
विपद् उद्धारको लागि दक्ष जनशक्ति उत्पादन र आउनसक्ने प्राकृतिक जोखिमलाई समेत उत्तिनै ध्यान दिएर भूगोल र प्रकोप अनुसार कुनै पनि समयमा जस्तो सुकै परिस्थितिमा परिचालन हुनसक्ने ढंगले लाग्नसमेत शिक्षालयलाई उहाँले निर्देशन दिनुभयो ।  उहाँले शिक्षालयमा हाल संचालन भइरहेका विपद् उद्धार, गोताखोरलगायतका तालिमलाई हुनसक्ने जोखिमको पूर्वानुमान गरेर सोही अनुसार परिमार्जन गर्दै लगिनेसमेत बताउनुभयो ।
यस प्रकारको तयारीको लागि विशेष गरी पूर्व अभ्यास महत्वपूर्ण हुने भएकोले हाल सशस्त्र प्रहरी बलका देशभरिका युनिटहरुले सरोकारवाला अन्य निकायहरुको समेत सहकार्यमा तिब्रता दिएका छन् । आगलागी, बाढीपहिरो, दुर्घटना आदीमा गरिने उद्धारलाई यस्ता अभ्यासमा समावेश गरिएका छन् ।