गृहसचिव भट्टराई प्रहरी प्रधान कार्यालयमा

0
Shares

काठमाडौँ।

गृहसचिव दिनेश भट्टराईले मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमण गर्नु भएको छ । उहाँलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले स्वागत गर्नुभएको थियो ।

सो क्रममा गृहसचिव भट्टराईले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभएको थियो ।

गृह सचिव भट्टराईले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलिग्राफ शाखा र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यहाँबाट हुने काम र गतिविधिबारे जानकारी लिनुभयो ।

निरीक्षण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहसचिव भट्टराईले गृह प्रशासन मातहत कार्यरत सबैले आफू ‘शासक होइन सेवक हो’ भन्ने भावका साथ नागरिक सेवामा समर्पित भएर आर्थिक सामाजिक रूपान्तरणको अभियानलाई सार्थक बनाई सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने कार्यमा एकजुट हुनुपर्ने बताउनुभयो ।

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता, स्वाभिमान र राष्ट्रिय सुरक्षाको कार्यभारलाई आत्मसाथ गर्दै देशमा शान्ति सुव्यवस्थाको समुचित प्रबन्ध मिलाउन नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै गृहसचिव भट्टराईले भन्नुभयो, ‘मन्त्रालय नेतृत्वले अगाडि सारेको दृष्टिकोण, मूल्यमान्यता, निष्ठा र आदर्शलाई नेपाल प्रहरीले गम्भीरतापूर्वक मनन गरी जनताको लोकतान्त्रिक अधिकार उपभोगको अवस्थालाई सुनिश्चित गर्दै नागरिकमैत्री व्यवहार अवलम्बन गरी राष्ट्र र जनतालाई केन्द्रभागमा राखेर तोकिएको जिम्मेवारी व्यावसायिक ढंगले उच्च मनोबलका साथ वहन गर्ने कुरामा म विश्वस्त छु ।’ प्रहरीले नागरिक समक्ष गर्ने कार्यव्यवहारबाट सरकारको छवि उजागर हुने उल्लेख गर्दै उहाँले प्रहरी प्रशासनले गरिब, निमुखा, शोषित पीडित, कमजोर एवं पहुँचबिहिन नागरिकको सारथी बनी उजुरी, गुनासो तथा समस्यालाई सम्बोधन गर्न अग्रसरता एवम् थप क्रियाशिलता हुनुपर्नेमा जोड दिनुभयो ।

गृहसचिव भट्टराईले विभिन्न स्वरूपमा हुने आपराधिक गतिविधि समयमै अनुसन्धान एवं नियन्त्रण गरी प्रहरी संगठनको छवि उच्च राख्न विशेष आग्रह गर्दै नागरिकको मौलिक एवं लोकतान्त्रिक अधिकारलाई सुरक्षित गरी भरपर्दो र त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभयो । प्रहरी संगठन आफैमा अनुशासनको पर्याय भएको उल्लेख गर्दै गृहसचिव भट्टराईले भन्नुभयो, ‘कुनै पनि सुरक्षाकर्मीलाई पेशागत आचरण विपरीत काम गर्न छुट छैन । तसर्थ सदाचारलाई मूलमन्त्र मानेर आदेशको श्रृङ्खला अनुरूप कार्य गर्न सकल दर्जालाई म निर्देशन गर्न चाहान्छु ।’ मातहतका प्रहरी कार्यालयहरूले आफ्नो कार्यालयबाट प्रदान गरिने सेवाको गुणस्तर र बितरण प्रक्रियामा आमूल सुधार गरी सेवा प्रवाहलाई थप चुस्त, दुरूस्त र प्रभावकारी बनाउन कार्ययोजनाका साथ काम गर्न जरूरी रहेको उहाँले बताउनुभयो ।

साथै उहाँले सरूवा, बढुवा, पदस्थापना लगायतका वृत्ति विकासका अवसरलाई न्यायोचित र अनुमानयोग्य बनाउने र अनावश्यक दवाव सिर्जना गर्ने जस्ता गैर व्यावसायिक प्रवृत्तिलाई निरूत्साहित गरिने बताउँदै संगठनमा स्थापित आदेशको श्रृङ्खला अनुरूप आगामी दिनमा वृत्ति विकासका अवसरलाई न्यायोचित तवरबाट अगाडि बढाइने बताउनुभयो । महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति थप चनाखो एवं संवेदनशील हुन उहाँले उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै सार्वजनिक सम्पत्तिको तोडफोड लगायत अवाञ्छित, अराजक र उच्छृङ्खल गतिविधिलाई निरूत्साहित गर्दै अनुसन्धान र तहकीकातका माध्यमबाट संलग्नलाई कानूनी दायरामा ल्याउन समेत निर्देशन दिनुभयो ।