१० वटा संसदीय समितिको बैठक आज : ६ महिनापछि संसदीय समिति सक्रिय

0
Shares

काठमाडौ । प्रतिधिसभाको १० वटा संसदीय समितिको बैठक आज मंगलबार एकै समयमा सिंहदरबारमा बस्ने भएको छ । प्रतिधिसभा गठन भएको ६ महिनापछि संसदीय समिति सक्रिय हुन लागेको हो ।

लामो समयदेखि संसदीय समिति क्रियाशील नभएपछि सभामुख देवराज घिमिरेले कानुन निर्माण र जनताका सरोकारका विषयमा प्रश्न उठेकाले सबै संसदीय समिति क्रियाशील हुनुपर्ने भन्दै सबै संसदीय समितिको बैठक एकैपटक राख्न सुझाव दिनुभएको थियो ।

सभामुखको सुझावअनुसार प्रतिनिधिसभा मातहतका सबै विषयगत समितिका बैठक एकैसाथ राख्ने तयारी भएको संसद् सचिवालयले जानकारी दिएको छ ।

समितिका सभापति चयन नभएसम्मका लागि बैठकको अध्यक्षता समितिका ज्येष्ठ सदस्यले गर्ने संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाअन्र्तगत राज्यव्यवस्था तथा सुशासन, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि तथा सार्वजनिक लेखा समिति रहेका छन् ।

संसद्का काम कारबाहीलाई व्यवस्थित रूपले सम्पादन गर्न संसदीय समिति प्रणाली विकसित भएकाले सभाका कामलाई सघाउने गर्ने गरेको छ ।

मुलुकका प्रमुख राजनीतिक दलबीच कुन समितिको नेतृत्व कसले पाउने भन्नेमा मोटामोटी सहमति भइसकेको छ । विगतदेखिकै अभ्यासअनुरूप सार्वजनिक लेखा समिति भने प्रमुख प्रतिपक्षी दलले प्राप्त गर्दै आएको छ ।