सरकारी साधन दुरुपयोग रोक्न युवासंघकाे चेतावनी

0
Shares

धादिङ। 

युवा संगठन राष्ट्रिय युवा संघ नेपाल  धादिङले सरकारी सवारी साधनको दुरुपयोग रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
राष्ट्रिय युवा संघ धादिङले सोमबार जिल्ला प्रशासन कार्यालयमा दुरुपयोग भएका सरकारी सवारी साधनकाे दुरुपयोग रोक्नका लागि ध्यानाकर्षण पत्र बुझाएको हो ।

राष्ट्रिय युवा संघ धादिङका अध्यक्ष सुनिल तामाङको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीमार्फत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

जिल्लाको १३ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, १०४ वडाका वडाध्यक्षहरु र सरकारी कर्मचारीलाई राज्यले जनतालाई प्रदान गर्ने नियमित सेवालाई थप सहज बनाउनको निम्ति सवारी साधन उपलब्ध गराएको तर अधिकांश सरकारी सवारी जनताको कामलाई सहज बनाउन भन्दा पनि जनप्रतिनिधिको व्यक्तिगत काम,पार्टी विशेषका काम तथा जनप्रतिनिधिका आफन्तको कामहरुमा बढी प्रयोग हुने गरेको पाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

सरकारी सवारी साधनहरु कार्यक्षेत्र भन्दा बाहिर, कार्यालय समय भन्दा बाहिर, सार्वजनिक बिदाका दिनमा पनि व्यापक प्रयोग भएको भन्दै जिल्ला प्रशासन कार्यालय मार्फत सम्पूर्ण सम्बन्धित निकायमा अनुगमन तथा नियन्त्रण गराउन ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । यो वा त्यो बहानामा नियमन निकायले कारबाही प्रक्रिया ढिला गरेमा राष्ट्रिय युवा संघ धादिङ आफै नागरिक ट्राफिक प्रहरीको रुपमा सडकमा आई त्यस्ता क्रियाकलापहरू नियन्त्रण गर्न बाध्य हुने समेत चेतावनी दिएको छ ।

ध्यानाकर्षण पत्र बुझाउन एमाले बागमती प्रदेश कमिटी सदस्य ध्रुव शर्मा रुपाखेती, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य कमल सिलवाल, युवा संघ प्रदेश कमिटी सदस्य रामकुमार थापा, युवा संघ धादिङका सचिव हरिशरण जमकटेल लगायत जिल्लाका युवा नेताहरूको उपस्थिति रहेको थियो ।