राप्रपाको केन्द्रीय समिति बैठक भोलि बिहान पुनः बस्ने

0
Shares

काठमाडौँ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको पूर्ण बैठक भोलि बिहान ८ बजे पुनः बस्ने भएको छ । काठमाडौँको धूम्रबराहीमा आजदेखि सुरु भएको बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनमा छलफलको क्रम जारी रहेकाले भोलि पुनः बस्ने गरी स्थगित गरिएको हो ।

बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेका ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ शीर्षकको प्रतिवेदनमाथिको छलफलमा नेताहरूले बोल्ने क्रम सकिएको छैन ।

उक्त प्रतिवेदनमा महाधिवेशन र पुस्तान्तरण, तीनै तहको निर्वाचनमा पार्टीको अवस्था, संवर्द्धनवादी विश्व सङ्गठनमा पार्टीको सहभागिता, राजसंस्था, हिन्दू राष्ट्र संविधान विपरीत नभएको विषय उल्लेख छ ।

त्यसैगरी, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म दिवसमा सरकारले बिदा उपलब्ध गराएर गल्ती सच्याएको, पछिल्लो पटक सरकारमा पार्र्टीको सहभागिताका विषय, सरकारमा ४० दिन रहँदा गरेका कार्यका बारेमा प्रतिवेदनमा विषय उल्लेख गरिएको छ ।

महामन्त्री धवलशम्शेर राणाले साङ्गठनिक प्रतिवेदन, सबै प्रदेश अध्यक्षबाट साङ्गठनिक गतिविधिबारे प्रतिवेदन, सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

बैठकमा पेस गरिएका सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेपछि सुझावका आधारमा ती परिमार्जन गरिने छन् ।