बुटवलबाट नक्कली महसहित ७ जना भारतीय नागरिक पक्राउ

0
Shares

बुटवल   ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरबाट ठूलो परिमाणमा नक्कली मह र मह उत्पादन गर्ने ७ जना भारतीय नागरिक पक्राउ परेका छन ।

शनिबार साँझ चेकजाँचको क्रममा बुद्धनगरका विभिन्न घरमा डेरा गरी बस्ने भारतीय नागरिकलाई नक्कली महसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रमुख तथा प्रहरी निरिक्षक अर्जुन पौडेलले बताउनु भयो । पक्राउ पर्नेमा भारतको विहार विरपुरका ५२ वर्षीय मनिस धामी सोही ठाउँका ५५ वर्षीय इन्द्रजित धामी, २१ वर्षीय पिन्टु धामी, ३१ वर्षीय सुधिर धामी, २० वर्षका रविन धामी, ४८ वर्षका अरुण धामी र २८ वर्षका वुदुवा धामी रहेको वडा प्रहरी कार्यालय रामनगरले जनाएको छ ।

वडा नम्बर ११ का वडा सदस्य नहकुलशाही तथा प्रहरी विट देविनगरको टोलीले लागुऔषध नियन्त्रणका लागि गरेको अनुगमन तथा गस्तीका क्रममा अवैध रुपमा नक्कली मह उत्पादन गरी विक्रि गर्ने गरेको भेटेपछि खान तलासी गर्ने क्रममा ४ क्वीन्टल बढी नक्कली मह फेला परेको थियो ।

आइतबार विहान पुनः खानतलासी गर्ने क्रममा बुटवल–११ सिर्जना नगर स्थित वृन्दा मल्लाहको घरबाट २ बाल्टी तयार पारिएको नक्कली मह, ४ टिन मौरीको चाका र सोही ठाउँका आरती मल्लाहको घरबाट ७ बाल्टी तथा विर बहादुर कनौजे मगरको घरबाट ५ बाल्टी तयार पारिएको मह वरामद भएको हो ।

उनीहरुको घरमा भारतीय नागरिकहरु भाडामा बसेर मह उत्पादन गर्दै आएका थिए । प्रहरीले खानतालसी गर्ने सूचना पाएपछि शनिबार राती नै घरमा ताला लगाएर नक्कली मह बनाउने भारतीय नागरिकहरु फरार रहेको देविनगर प्रहरी चौकीका प्रमुख लक्ष्मण न्यौपानेले बताउनु भयो । सिर्जना नगरका ७ वटा घरबाट नक्कली मह बरामद गरिएको हो ।

बुटवलका अन्य ठाउँमा पनि यसरीनै नक्कली मह तयार पारी विक्रि गरिएको हुन सक्ने आशंका गर्दै वडा सदस्य शाहीले थप अनुसन्धान र कारबाहीका लागि प्रहरी प्रशासनलाई आग्रह गर्नु भयो ।

उनीहरुले मौरीका सडेगलेका चाकालाई चिनिपानीमा भिजाएर सक्कली मह भन्दै बजारमा बेच्ने गरेको वडा सस्य शाहीले बताउनु भयो । ‘सडेका मौरीका किरा तथा चाकामा चिनी घोलेर रुपन्देही तथा जिल्ला बाहिर समेत बजारमा पुर्याएर प्रतिकिलो १हजार ६ सय रुपैयाँमा बिक्री गर्ने गरेको भेटियाको शाहीले बताउनु भयो ।

बरामद गरिएको केही मह बुटवल–११ सिर्जना नगरमै नष्ट गरिएको छ भने केही मह वडा प्रहरी कार्यालय रामनगरमा लगिएको छ । बरामद गरिएको मह परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवामा नमूना पठाइएको प्रहरी निरिक्षक पौडेलले बताउनु भयो ।

यो घटनाले घरधनीहरुलाई पनि घर भाडामा लगाउदा केकाम गर्ने वा के व्यवसाय गरेका छन कसरी गरेका छन भने वारे पनि जानकारी राख्न वडा कार्यालयहरुले निर्देशन जारी गर्न जरुरी देखिएको छ ।