रायमाझीलाई नभेटेपछि संसद् सचिवालयमा पत्र बुझाउनेको खोजीमा प्रहरी

0
Shares

काठमाडौँ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका सांसद टोपबहादुर रायमाझीको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टोपबहादुर बिरामी भएको पत्र संसदमा ल्याउने व्यक्तिको खोजी सुरु गरेको छ ।

संसद सचिवालयबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सीसीटीभीको फुटेज संकलन गरेको छ। बिहीबार ब्यूरोको टोलीले फुटेज लगेको हो ।

सांसद टोपबहादुर रायमाझीको पत्र संसदमा दर्ता गर्ने क्रममा संसद सचिवालयमा पुगेका व्यक्तिको पहिचान गर्न सीआईबीले फुटेज हेर्ने भएको हो। सचिवालयमा गएका व्यक्तिमार्फत टोपबहादुरसम्म पुग्न प्रहरीले यो उपाय लगाउने भएको हो।

नक्कली शरणार्थी प्रकरणमा वैशाख २० गते पक्राउ पुर्जी जारी गरेपछि टोपबहादुर फरार छन्। फरार रहेकै अवस्थामा उनले संसदलाई पत्र पठाउँदै आफू बिरामी रहेको जानकारी गराएका छन्। बुधबार उनको पत्र प्राप्त भएको सचिवालयले जानकारी दिएको थियो।

बिरामी भनिएका रायमाझी कुन अस्पतालमा छन् भन्ने एमालेले पनि जानकारी पाएको छैन।