विकासमा पक्षपात भयो भने विद्रोह हुन्छ : अध्यक्ष तिमिल्सिना

0
Shares

पर्वत।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले विकासका योजना छनौटमा पक्षपात हुँदा त्यसले विद्रोह निम्त्याउने सक्ने चिन्ता व्यक्त गर्नुभएको छ ।
अध्यक्ष तिमिल्सिनाले  आफ्नो जन्मगाउँ पर्वतको मोदी गाउँपालिका वडा नं ७ को वडा कार्यालय भवनको उद्घाटन गर्दै सो बताउनुभएको हो ।
‘विकास निर्माणका काम योजनाबद्ध र आवश्यकताका आधारमा हुन आवश्यक छ।’, उहाँले भन्नुभयो ‘बिना गुरुयोजना पहुँच हुनेले योजनाहरु लाने र अरुले नपाउने भयो भने त्यस्तो अवस्थामा  विद्रोह हुन्छ ।  पक्षपात रहित ढङ्गले विकासको समानुपातिक वितरण आवश्यक छ ।’

  अध्यक्ष तिमिल्सिनाले विकासमा पक्षपात गर्नुहुँदैन भन्ने मान्यता सबैले राख्नुपर्ने कुरामा जोड दिदै सबैले भूगोल र क्षेत्रका बासिन्दाले पनि आफ्ना योजना पनि छनौटमा पर्छन् भन्ने धैर्यता राख्ने र नीति निर्माण तहमा रहेका व्यक्तिले  बिना पक्षपात काम गर्दै जाने हो भने त्यसले राम्रो प्रतिफल प्राप्त हुन्छ भन्नुभयो । तीन वटै तहका सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको तयारी गरिरहेका बेला योजनाबद्ध र आवश्यकताका आधारमा योजना छनौट गर्न उहाँले आग्रह पनि गर्नुभयो ।

२०५४ सालमा पोखरा बागलुङ सडक मात्रै रहेको अवस्थाको चर्चा गर्दै तत्कालीन जिल्ला विकास समिति पर्वतमा सभापति भएपनि आफ्नै गाउँमा सडक बनाएर र अरु गाउँमा सडक उद्घाटन गर्दै छ भनेर  आरोप लागेको स्मरण पनि अध्यक्ष तिमिल्सिनाले गर्नुभयो । आफुँ तत्कालीन जिविस  सभापति हुँदा कार्यकालको अन्तिम वर्ष मात्रै गाउँ आउने सडकका लागि बजेट विनियोजन गरेको थिए भन्नुभयो । पर्वत जिल्लाका सबै वडा कार्यालयहरु सम्म पुग्ने सडकहरु कालोपत्रे हुने चरणमा रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अहिले काम भइरहेका र योजना छनौट प्रक्रियामा रहेका स्थानका बासिन्दालाई पनि धैयता गर्न आग्रह गर्नुभयो । उहाँले आफुँ राष्ट्रियसभालाई राम्रो समय चलाउने तर बचेको समय विकास निर्माण र देशका अन्य सरोकारका विषयमा पनि लागिरहने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्प तिमिल्सिना, गण्डकी प्रदेशसभाका सदस्य भक्त कुँवर, मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्मा, निवर्तमान अध्यक्ष प्रेम पौडेल,  उपाध्यक्ष विमल लामिछाने, वडा नं ७ का अध्यक्ष दुर्गाप्रसाद शर्मा, निर्वमान वडा अध्यक्ष बसन्त गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त वडा कार्यालय भवन ६८ लाख रुपैयाँको लागतमा निर्माण भएको थियो । भवन निर्माणका लागि रुद्रप्रसाद तिमिल्सिना र नीलकुमारी तिमिल्सिनाले २ रोपनी ६ आना जग्गा निःशुल्क दिनुभएको थियो भने स्थानीय लोकनाथ रिजालले बाटोको लागि जग्गा प्रदान गर्नुभएको वडा कार्यालयले जानकारी दिएको छ ।