इजरायली दूतावासले मनायो इजरायलको ७५ औं स्वतन्त्रता दिवस

0
Shares

काठमाडौं । इजरायलको ७५ औं स्वतन्त्रता दिवस नेपालमा पनि विशेष कार्यक्रम गरी मनाइयो । नेपालस्थित इजरायली दूतावासले इजरायलले बिहीबार राजधानीमा आयोजना गरेको विशेष हीरक जयन्ती समारोहको उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गर्नुभएको थियो ।

समारोहमा नेपालका लागि इजरायली राजदूत खनान गोदरले भौगोलिक रुपमा नेपाल र इजरायल दुबै साना राष्ट्र भए पनि प्राकृतिक र सांस्कृतिक रुपले दुबै सम्पन्न मुलुक भएको जिकिर गर्नुभयो । उहाँले यतिखेर सबैले शान्तिको कामना गरिरहेको उल्लेख गर्दै विश्व शान्ति स्थापनाका लागि दुबै देशले मिलेर काम गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । समारोहमा उहाँले इजरायललाई दक्षिण एसियाली मुलुकमा सबैभन्दा पहिला नेपालले मान्यता दिएको स्मरण गर्दै नेपालप्रति कृतज्ञता पनि प्रकट गर्नुभयो ।

समारोहमा इजरायली प्रधानमन्त्री र विदेशमन्त्रीले इजरायल स्वतन्त्रताको हीरक जयन्तीको अवसरमा दिनुभएको भिडियो सन्देश देखाइएको थियो । भिडियो सन्देशमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ७५ औं स्वतन्त्रता दिवस मनाउँदै गर्दा इजरायलले असम्भवलाई कसरी सम्भव बनाउने र अदृश्यबाट कसरी दृश्य बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताउनुभएको थियो ।

परराष्ट्रमन्त्री एनपी साउद, अन्य मन्त्री, सांसद, विभिन्न दलका नेता, काठमाडौंस्थित कुटनीतिक निकायका प्रतिनिधि, परराष्ट्र मामिलाका जानकार, विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति तथा संचारकर्मीहरुलगायत चार सयभन्दा बढीको उपस्थिति रहेको उक्त समारोहमा इजरायली दूताबासले विकास र सम्बृद्धिको प्रतिकको रुपमा सबैलाई इजरायली बीउबिजन उपहारस्वरुप प्रदान गरेको थियो ।