राष्ट्रिय सम्मानका साथ जिउँदो सहिद मुकेशको अन्त्येष्टि

42
Shares

काभ्रे । दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको बिहीबार नेपाल सरकारका तर्फबाट सम्मानसहित अन्तिम संस्कार गरिएको छ । बुधबार साँझ ६ बजेर १३ मिनेट जाँदा बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएका कायस्थलाई नेपाल सरकारको तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बनेपा नगरपालिकाको प्रा∙णमा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा नेपालको राष्ट्रिय झन्डा ओढाएर राष्ट्रिय सम्मान गर्नुभएको थियो ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मन्त्री मोदीले भन्नुभयो– ‘कयौं मान्छे मृत्युपछि बिलाएर जान्छन् तर मुकेश कायस्थ युगौंयुग इतिहासमा बाँच्नुहुन्छ । मुकेशको भौतिक शरीर विलीन भए पनि उहाँले जन्मदाता आमा, बुबालाई समेत सदासदाका लागि चिनाइराख्नुहुनेछ । नेपालको इतिहासमा लोकतन्त्रका लागि ज्यानै बाजी लगाएर आन्दोलनमा होमिएको एउटा काभ्रेली युवा जिउँदो सहिदले हामीमाझ ठूलो इतिहास छोडेर जानुभएको छ । मुुकेश कायस्थलाई आउँदो मंगलबारको मन्त्रिपरिषद् बैठकबाटै प्रक्रिया पु¥याएर सहिद घोषणा गर्नेछौं ।’

श्रद्धाञ्जली सभामा गृह मन्त्रालयका सचिव दिनेश भट्टराई, जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, मण्डन देउपुर नगरपालिकाका नगर प्रमुख, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, विभिन्न राजनैतिक दलका नेताहरू, संघीय संसद्का सांसद लालध्वज तामाङ, मीना तामाङ, वागमती प्रदेशका सांसद कञ्चनचन्द्र वादे, लक्ष्मी लम्साल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम, समाजसेवी, स्थानीय बासिन्दा, पत्रकारको उपस्थिति रहेको थियो ।

श्रद्धाञ्जली सभामा दुई मिनेट मौनधारण गरिएको थियो । उक्त सभामा प्रतिष्ठानको तर्फबाट नेपाल सरकारको ध्यानाकर्षण गराउँदै मुकेशलाई सहिद घोषणा गर्ने, मुकेशको सालिक राख्नेलगायतका ५ बुँदे ज्ञापनपत्र मन्त्रीसमक्ष बुझाइएको थियो । श्रद्धाञ्जली सभा सकिएलगत्तै नेपाल प्रहरीको टुकडी र नेवारी परम्पराअनुसार मुकेशको पार्थिव शरीरलाई बाजागाजासहित बनेपाको पुरानो बजार परिक्रमा गराइएको थियो । मुकेशको पार्थिव शरीर बजार परिक्रमा गर्दै बनेपास्थित उग्रतीर्थ घाटमा लगी नेपाल प्रहरीको एक टुकडीले शोक धुन बजाएर राष्ट्रिय सम्मानका साथ हिन्दु परम्पराअनुसार मुकेशका बुबा कृष्णमान कायस्थले दागबत्ती दिएसँगै अन्त्येष्टि गरियो ।

आन्दोलनका क्रममा २०६२ साल चैत्र २७ गते बनेपाको तीन दोबाटोमा कन्चटमा गोली लागेर १७ वर्ष १ महिना अर्धचेत अवस्थामा जीवन बिताइरहेका कायस्थको निधनप्रति दुःख व्यक्त गर्दै बनेपा नगरपालिकाले जिउँदो सहिदको सम्मानमा बिहीबार एक दिन नगर कार्यपालिकाको कार्यालय र मातहतका वडा कार्यालय तथा स्वास्थ्य केन्द्रहरूको प्रा∙णमा रहेको राष्ट्रिय झण्डा आधा झुकाई शोक बिदा दिएको थियो । बनेपा नगरपालिकाले कायस्थको श्रद्धाञ्जली सभा अन्त्येष्टिका लागि लाग्ने सम्पूर्ण खर्च व्यवस्था गर्नेसमेत निर्णय गरेको छ ।

जिउँदो सहिद मुकेश कायस्थको निधनप्रति नेपाली कांग्रेस केन्द्रीय समिति, जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले विज्ञप्ति जारी गरेर दुःख प्रकट गरेको छ । त्यसै गरी विज्ञप्ति नै निकालेर मुकेश कायस्थ प्रतिष्ठान, वागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले २०४८ साल भदौ ९ गते बनेपामा जन्मिएका कायस्थ जनआन्दोलनका क्रममा २०६२ साल चैत्र २७ गते १४ वर्षको उमेरमा टाउकोमा प्रहरीको गोली लागेर घाइते भएका र बुधबार मृत्यु भएकोमा दुःख व्यक्त गर्नुभएको थियो ।

मुकेशको मृत्युप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि फेसबुक स्ट्याटसमार्फत समवेदना प्रकट गर्नुभएको थियो । मुकेशको मृत्युप्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेस बनेपा नगर कमिटी, नेकपा एमाले बनेपा नगर कमिटी, नेकपा माओवादी बनेपा नगर कमिटी, राष्ट्रिय प्रजातन्त्र पार्टी, बनेपा नगर कमिटी, नेकपा एकीकृत समाजवादी बनेपा नगर कमिटी, नेपाल समाजवादी पार्टी बनेपा नगर कमिटी, राष्ट्रिय जनमोर्चा, काभ्रे जिल्ला कमिटी, नेपाल मजदुर किसान पार्टी बनेपा नगर कमिटीले मुकेश कायस्थले पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै सहिद घोषणा गर्न सामूहिक रूपमा विज्ञप्ति जारी गर्दै माग गरेका छन् ।