जिउँदो शहीद मुकेशको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

0
Shares

काभ्रे।

 दोस्रो जनआन्दोलनका घाइते “जिउँदो शहिद” मुकेश कायस्थको बिहीबार नेपाल सरकारका तर्फबाट सम्मान सहित अन्तिम संस्कार गरियो ।
बुधवार साँझ ६ बजेर १३ मिनेट जाँदा बनेपा स्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएका कायस्थलाई नेपाल सरकारको तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले बनेपा नगरपालिकाको प्रांगाणमा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा नेपालको झन्डा ओढाएर राष्ट्रिय सम्मान गर्नुभएको थियो ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मन्त्री मोदीले कयौँ मान्छे मृत्युपछि बिलाएर जान्छन् तर मुकेश कायस्थ युगौ युग इतिहासमा बाच्नुहुन्छ । मुकेशको भौतिक शरीर विलीन भएपनि उहाँले जन्मदाता आमा, बुबालाई समेत सदा सदाका लागि चिनाई राख्नुहुनेछ । नेपालको इतिहासमा लोकतन्त्रको लागि ज्यानै बाजी लगाएर आन्दोलनमा होमिएको एउटा काभ्रेली युवा जिउँदो शहीदले हाम्रा्े माझ ठूलो इतिहास छोडेर जानुभएको छ । मुकेश कायस्थलाई आउँदो मंगलबारको मन्त्री परिषद् बैठकबाटै प्रक्रिया पुर्‍याएर शहिद घोषणा गर्नेर्छौ भन्नुभयो ।

श्रद्धाञ्जली सभामा गृह मन्त्रालयका सचिव दिनेश भट्टराई, जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकार पुण्यविक्रम पौडेल, बनेपा नगर पालिकाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटा, धुलिखेल नगरपालिकाका उपप्रमुख नीराजन जंगम, मण्डन देउपुर नगरपालिकाका नगर प्रमुख, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, विभिन्न राजनैतिक दलका नेताहरु संघीय सांसदका सांसद लालध्वज तामाङ, मिना तामाङ, बागमती प्रदेशका सांसद कञ्चन चन्द्र वादे, लक्ष्मी लम्साल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम, समाजसेवी, स्थानीय बासिन्दा, पत्रकारहरूको उपस्थिति रहेको थियो ।

श्रद्धाञ्जली सभामा दुई मिनेट मौनधारण गरिएको थियो । उक्त सभामा प्रतिष्ठानको तर्फबाट नेपाल सरकारको ध्यानाकर्षण गराउँदै मुकेशलाई शहिद घोषणा गर्ने,मुकेशको शालिक राख्ने लगायतका ५ बुद्धे ज्ञापन पत्र मन्त्री समक्ष बुझाइएको थियो ।

 श्रद्धाञ्जली सभा सकिए लगत्तै नेपाल प्रहरीको टुकडी र नेवारी परम्परा अनुसार मुकेशको पार्थिव शरीरलाई बाजागाजा सहित बनेपाको पुरानो बजार परिक्रमा गराइएको थियो । मुकेशको पार्थिव शरीर बजार परिक्रमा गर्दै बनेपा स्थिति उग्र तीर्थ घाटमा लगि नेपाल प्रहरीको एक टुकडीले शोक धुन बजाएर राष्ट्रिय सम्मानका साथ हिन्दु परम्परा अनुसार मुकेशका बुबा कृष्णमान कायस्थले दागबत्ती दिएसँगै अन्त्येष्टि गरियो ।

आन्दोलनको क्रममा २०६२ साल चैत्र २७ गते बनेपाको तीन दोबाटोमा कन्चटमा गोली लागेर १७ बर्ष १ महिना अर्ध चेत अवस्थामा जीवन बिताइरहनुभएको कायस्थको निधन प्रति दुःख व्यक्त गर्दै बनेपा नगरपालिकाले जिउँदो शहीदको सम्मानमा बिहीबार एकदिन नगर कार्यपालिकाको कार्यालय र मातहतका वडा कार्यालय तथा स्वास्थ्य स्वास्थ्य केन्द्रहरु प्रांगाणमा रहेको राष्ट्रिय झन्डा आधा झुकाई शोक बिदा दिएको थियो । बनेपा नगरपालिकाले कायस्थको श्रद्धाञ्जली सभा अन्त्यष्ठिका लागि लाग्ने सम्पूर्ण खर्च व्यवस्था गर्ने समेत निर्णय गरेकोछ ।

जिउँदो शहिद मुकेश कायस्थको निधनप्रति नेपाली काँग्रेस केन्द्रीय समिति, जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले विज्ञप्ति जारी गरेर दु:ख प्रकट गरेको छ । त्यसैगरि विज्ञप्ति नै निकालेर मुकेश कायस्थ प्रतिष्ठान, बागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले २०४८ साल भदौ ९ गते बनेपामा जन्मिनुभएका कायस्थ जनआन्दोलनका क्रममा २०६२ साल चैत्र २७ गते १४ वर्षको उमेरमा टाउकोमा प्रहरीको गोली लागेर घाइते हुनुभएको र बुधवार मृत्यु भएकोमा दुःख व्यक्त गर्नुभएको थियो ।

मुकेशको मृत्यु प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि फेसबुक स्ट्याटस मार्फत समवेदना प्रकट गर्नुभएको थियो । मुकेशको मृत्युप्रति दुःख व्यक्त गर्दै नेपाली काँग्रेस बनेपा नगर कमिटी, नेकपा एमाले बनेपा नगर कमिटी, नेकपा माओवादी बनेपा नगर कमिटी, राष्ट्रिय प्रजातन्त्र पार्टी, बनेपा नगर कमिटी, नेकपा एकीकृत समाजवादी बनेपा नगर कमिटी, नेपाल समाजवादी पार्टी बनेपा नगर कमिटी, राष्ट्रिय जनमोर्चा, काभ्रे जिल्ला कमिटी, नेपाल मजदुर किसान पार्टी बनेपा नगर कमिटीले मुकेश कायस्थले पुर्‍याइनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै शहिद घोषणा गर्न सामूहिक रुपमा विज्ञप्ति जारी गर्दै माग गरेका छन् ।