मुगु हिमपहिरो अपडेट : बेपत्ता भएका तीन जनाको खोजीकार्य जारी, भेटिने सम्भावना न्यून

0
Shares

काठमाडौं । अत्यधिक हिमपातका कारण मुगुम कार्मारोङ गाउँपालिका–१ र २ मा पर्ने च्याँखुलेकमा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी गर्न समस्या भएको छ । सो क्षेत्रमा १० फिटभन्दा बढी हिउँ जमेकाले उनीहरुको खोजी हुन सकेको छैन ।

यहीँ वैशाख २२ गते च्याँखुलेकमा हिमपहिरोमा परी यार्सागुम्बा सङ्कलन गर्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की ९४००, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोरा बेपत्ता भएका थिए ।

उनीहरुको खोजीमा मङ्गलबारदेखि सुरक्षाकर्मी लागिपरे पनि बाक्लो हिउँ जमेकाले समस्या भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर बस्नेतले जानकारी दिए ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत वैशाख २४ गते बेपत्ताको खोजीका लागि सुरक्षाकर्मीसहित २३ जनालाई घटनास्थलमा पठाएको थियो । सुरक्षाकर्मीले घटनास्थलभन्दा चार घण्टा तल बेँसीमा रहेको छापाखोलामा क्याप राखी बेपत्ताको खाजी गर्दै आएको छ ।

घटनास्थलसम्म सुरक्षाकर्मी पुग्न भने सकिरहेको छैन । आज पुनः उनीहरुको खोजी गरिने प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।