नेतृत्वविरुद्ध मोर्चा कस्दै युवा पुस्ता

0
Shares

‘सभापतिले महाधिवेशन भएको १७ महिनामा पनि पार्टी कोषाध्यक्ष र केन्द्रीय समितिलाई पूर्णता दिन नसकेको, भ्रातृ संगठनहरू र विभाग गठन नगरेर महामन्त्रीहरूलाई कामविहीन बनाइएको छ । पार्टी पुनर्जागरणका लागि अब चुप बसिरहन सक्दैनौं’ –विश्वप्रकाश शर्मा

‘सरकारमा पठाउने मन्त्रीका विषयमा समेत सभापतिले एकल निर्णय गर्नुभएको छ । विधानअनुसार महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गरिसक्नुपर्ने विभाग गठन गरिएको छैन । सभापतिले विभाग गठन गरेपछि मात्रै महामन्त्रीले त्यसलाई परिचालन गर्न सक्छन् । पार्टीमा अनैतिक गतिले सीमा नाघ्न लागेकाले अब कडा कदम चाल्नुपर्ने हुन्छ’ –गगन थापा

‘प्रत्येक २ महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक नबसाएर पदाधिकारी र कार्यसम्पादन समितिका नाममा गरेको अवैधानिक निर्णयले पार्टीलाई थप क्षति पुगेकाले त्यसको जिम्मा सभापति र महामन्त्रीसहित पदाधिकारीले लिनुपर्छ । उहाँहरूले पनि आफूअनुकूल हुँदा हस्ताक्षर गर्ने प्रतिकूल हुँदा सभापतिको विरोध गर्ने मात्रै गर्नुभयो’ –नैनसिंह महर

काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा आन्तरिक कलह बढ्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाप्रति युवा नेताहरूले मोर्चा कसेर सार्वजनिक अभिव्यक्ति दिन थालेपछि पार्टीभित्रको कलह बाहिरिन पुगेको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले पार्टीको कोषाध्यक्ष र केन्द्रीय समितिलाई पूर्णता दिन नसकेको, भ्रातृ संगठनहरू र विभाग गठन गर्न नसकेको आरोप लाग्ने गरेको छ । यसका साथै सभापति देउवाले सरकारमा पठाउने मन्त्रीका विषयमा समेत एकल निर्णय गरेको भन्दै नेताहरूले आपत्ति जनाएका हुन् । वर्तमान दश दलीय गठबन्धन सरकारमा कांग्रेसले पाएका नौ मन्त्रालयमा सभापति देउवाले पार्टीका उपसभापति÷महामन्त्री र अर्को समूहका नेताहरूसँग छलफल नै नगरी एकलौटी मन्त्रीको नाम सिफारिस गरेको महामन्त्री गगन थापा–विश्वप्रकाश शर्मा समूहका नेताहरूले बताएका छन् । महामन्त्री थापा र शर्माले पार्टी पुनर्जागरणका लागि अब चुप बसिरहन नसक्ने सार्वजनिक रूपमा चेतावनीसमेत दिएका छन् ।

आइतबार मात्रै महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत कडा कदम नचाली नहुने अभिव्यक्ति दिइसक्नुभएको थियो । पार्टीभित्रको अनैतिक गतिले सीमा नाघेको भन्दै अब कडा कदम चाल्ने उहाँले सार्वजनिक रूपमा संकेत गर्नुभएको छ । थापाले लेख्नुभएको– ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरैपटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडेँ, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’

वैशाख २२ मा बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले समेत पार्टी सभापति देउवाविरुद्ध कडा रूपमा प्रस्तुत हुनुभएको थियो । उहाँले देउवाका गलत निर्णय र कामको साक्षी नबस्ने भन्दै पार्टीमा रूपान्तरण नगर्ने हो भने विद्रोह गरेरै भए पनि शुद्धीकरण अभियानमा जुट्नुपर्ने अवस्था आइसकेको बताउनुभएको थियो ।

सभापति देउवाले महाधिवेशन भएको १७ महिनासम्म पनि पार्टीका विभिन्न समितिले पूर्णता नपाएको, केन्द्रीय समितिको बैठकसमेत नबोलाएको विषयमा युवा नेताहरू एक ठाउँ भएका छन् । पार्टीका विभाग गठन, भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन, केन्द्रीय कार्यसमितिको मनोनयन, कोषाध्यक्षको नियुक्तिलगायतका अधिकार कार्यसम्पादन समितिको बैठकले सभापतिलाई प्रत्यायोजन गरेको थियो । तर, सभापति देउवाले केन्द्रीय समिति, कुनै भ्रातृ संस्था, विभागहरू गठन गर्ने कुरामा अलमल गरेको पदाधिकारीले नै आरोप लगाएका छन् । तर, यस विषयमा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले सभापतिलाई मात्रै आरोप लगाएर महामन्त्रीहरू पन्छिन नपाउने बताउनुभयो । उहाँले भन्नुभयो– पदाधिकारी र कार्यसम्पादन समितिको बैठकका नाममा गरिएका निर्णयहरू अवैधानिक हुन् । यसले पार्टीलाई क्षति मात्रै गरेकाले तत्काल केन्द्रीय समितिको बैठक बोलाउनुपर्छ भन्ने मेरो माग हो ।’

केन्द्रीय समितिको बैठक प्रत्येक २ महिनामा बस्ने पार्टीको विधानमा व्यवस्था छ । तर, बैठक नबसेको सात महिना भइसकेको छ । पार्टीले गर्ने गठबन्धन संस्कृतिप्रति आफ्नो सधैं विरोध रहिआएको भन्दै नेता महरले विधानविपरीत कार्यसम्पादन र पदाधिकारीका नाममा बैठकले गरेका गरेका महत्वपूर्ण निर्णयहरूले पार्टीलाई झन्झन् कमजोर बनाएको बताउनुभयो । देशभर ९ लाख क्रियाशील सदस्य रहेको भनिएको कांग्रेसका युवा पदाधिकारीहरूले आम कार्यकर्ताको मनोबल उच्च हुने गरी काम गर्न नसकेको उहाँको आरोप छ । नाममा मात्रै युवा भएको भन्दै महरले काममा आफू अनुकूल हुँदा निर्णयमा हस्ताक्षर गर्ने र प्रतिकूल हुँदा सामाजिक सञ्जालमा विरोध गर्दैमा पार्टीमा पुनर्जागरण हुन नसक्ने बताउनुभयो । यसका लागि पार्टीको केन्द्रीय समिति बैठक तत्काल बोलाएर गम्भीर समीक्षा हुनुपर्ने उहाँको माग छ ।

विधानअनुसार महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गरिसक्नुपर्ने विभागसमेत गठन गरिएको छैन । सभापतिले विभाग गठन गरेपछि मात्रै महामन्त्रीले त्यसलाई परिचालन गर्न सक्ने महामन्त्री गगन थापाले बताउनुभयो । त्यतिन्जेलसम्म महामन्त्री जिम्मेवारीविहीन जस्तै भएको उहाँको भनाइ छ । सभापति देउवाले आफू निकटका सीमित पदाधिकारीलाई राखेर निर्णय गर्ने गरेको भन्दै उहाँले अहिलेसम्म महामन्त्रीको हैसियत र अस्तित्वलाई स्वीकार नगरेको थापाले आरोप लगाउनुभयो । गगन थापाको नेतृत्वमा स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको घोषणापत्र तयार पारे पनि पार्टीभित्र त्यसको लेखाजोखा नभएको समेत महामन्त्रीहरूले असन्तुष्टि पोखेका छन् । महामन्त्रीहरूले पदाधिकारीले नै जिम्मेवारी बहन गर्न पाइरहेका छैनन् भने कांग्रेसका करिब ९ लाख क्रियाशील सदस्यहरूको बारेमा देउवालाई सोच्ने फुर्सद नभएको आरोप लगाउँदै आएका छन् । पछिल्लो समयमा पार्टीले सरकारमा पठाउने मन्त्रीहरूका बारेमा समेत देउवाले प्रतिस्पर्धी समूह तथा पदाधिकारीलाई समेत कुनै छलफल नगरी निर्णय गरेपछि युवा नेताहरूहमा आक्रोश बढेको देखिन्छ ।

संस्थापन इतरलाई ४० प्रतिशत भाग दिएर सम्मान गर्न आग्रह गरिरहँदा नौमध्ये दुईवटा मन्त्रालयको जिम्मा मात्र संस्थापन इतरले पाएको छ । त्यसमा पनि समावेशी नभएको भन्दै महामन्त्रीद्वय थापा, शर्मा र पराजित महामन्त्रीसमेत रहेका युवा नेता प्रदीप पौडेल नेतृत्वप्रति आलोचक बनेका हुन् । मन्त्री पठाउने विषयमा डा. शेखर कोइराला–गगन थापा समूहले सम्मानजनक सहभागिता नगराए सरकारमा सहभागी नहुने भन्दै लामो समय आफ्नो टिमबाट मन्त्रीको सिफारिस पठाएका थिएनन् । संस्थापन इतर समूहको उक्त अडानका सन्दर्भमा सभापति देउवा लचिलो भएर तीन मन्त्री र एक राज्यमन्त्री दिएर जाने विषयमा सहमत भए पनि अन्त्यमा कार्यान्वयन नगरेको नेताहरूले बताएका छन् ।

अहिले सरकारमा गएका ९ मन्त्रीमध्ये सभापति देउवाले शेखर पक्षबाट कानुनमन्त्री धनराज गुरुङ, डिगबहादुर लिम्बु र राष्ट्रपति रामचन्द्र पौडेल निकट मानिएका सुरेन्द्र आचार्यलाई महिलाबालबालिका मन्त्री बनाउनुभएको छ । बाँकी ६ मन्त्री आफ्नो कोर समूहका सांसदलाई बनाएको देउवामाथि आरोप छ । सांसद र केन्द्रीय सदस्यभन्दा बाहिर रहेका कांग्रेसका युवा नेताहरूले छुट्टै भेला गरेर प्रदेशस्तरीय संयोजकसमेत तोकेर कार्यक्रम गर्ने तयारीमा लागेका छन् । जसको नेतृत्व नेविसंघका पूर्वअध्यक्ष एवं पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरे, तरुण दलका पूर्वमहामन्त्री भूपेन्द्रजंग शाही, नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णलगायतले गरेका छन् ।