सशस्त्र प्रहरीको सीमामा कडाइ, २४ घण्टामा अढाई करोड बढीको अवैध सामान बरामद

0
Shares

 काठमाडौँ।

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा हुने चोरीपैठारी नियन्त्रण गर्ने कार्यलाई तीव्रता दिँदा करिब २४ घण्टाको वीचमा अढाई करोड बढीको अवैध सामान तथा गाडी बरामद गरेको छ ।

        सोमबार बिहान १० बजे देखि मंगलबार बिहान ८ बजे सम्म देश भरीको सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बलका विभिन्न युनिटले २ करोड ५६ लाख ८४ हजार ४ सय २ रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको हो ।

        जसमा कोशी प्रदेशका इलाम, झापा, मोरङ र सुनसरी जिल्लास्थित युनिटले ४ लाख ८६ हजार ६ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

        यसैगरी मधेस प्रदेश अन्तर्गत सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लास्थित युनिटले २४ घण्टाको बीचमा २ करोड ३६ लाख २८  हजार ८ सय १२ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

        त्यसैगरी लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही, कपिलवस्तु र बर्दिया जिल्लास्थित युनिटले १० लाख ७६ हजार ५५ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

 यसैगरी सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली र कञ्चनपुरले सोही अवधिमा ४ लाख ९२ हजार ९ सय ३५ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

  बरामद सामानमा भन्सार छली र शंकास्पद कागजपत्र भएका ट्रक, हार्डवेयरका सामान लत्ताकपडा कस्मेटिक सामान लगायत रहेका छन् । बरामद सामान आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय तथा सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।