महाभारतका १५ सय घरमा बिजुली 

‘जनतासँग गरिएका बाचा पुरा गर्छौ’– प्रधानमन्त्री 

188
Shares

महाभारत,काभ्रे ।

प्रधानमन्त्री पुष्पकमल दाहालले महाभारत गाउँपालिकाको वडा नम्बर ३,४,५ र ६ नम्बर वडामा केन्द्रीय विद्युत् प्रसारण लाइन शुभारम्भ गर्नु भएको छ । महाभारत गाउँपालिकामा पहिलो पटक केन्द्रीय प्रसारण लाइन सुरु गरिएको हो । वडा नम्बर ३,४ र ५ वडाका १ हजार ५ सय घरमा बत्ती बलेको छ ।
जनतासँग गरिएका सबै बाचा क्रमशः पुरा गरिँदै लगिने प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनु भयो ।

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचन अघिसम्म नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सम्पर्कमा नरहेका महाभारत र खानिखोला गाउँपालिकाका सर्वसाधारण पहिलो पटक बिजुली बत्तीको उज्यालोमा बस्न पाउने भएका हुन् । ‘२०७४ सालमा हामी निर्वाचित भए लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपाबाट निर्वाचित जिल्लाका सांसदहरु महाभारत पु¥याएर डाँडापारिका समस्या लिपिबद्ध गरेर बुझायौँ’– गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘महाभारत र खानिखोलाबासीलाई बत्तीको अँध्यारोबाट उज्यालो बनाउने अभियानमा नेपाल सरकारले १ अर्ब ५६ करोड रकम विनियोजन गरी कार्य प्रारम्भ ग¥यो । रकम अपुग भएका कारण अधुरो रहेका आयोजना समापन गर्न पुनः ३० करोड रकम विनियोजन भएको छ ।’ महाभारत गाउँपालिकाको वडा नम्बर ३ फोक्सिङ्गटार, वडा नम्बर ४ र ५ बुढाखानीका सबै घरमा बत्ती बल्ने गरी कार्य सम्पन्न भएको छ ।
‘गाउँपालिकाले घरमा जडान गर्ने मिटर खरिदका लागि एक हजार अनुदान उपलब्ध गराएको छ’–गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘बाँकी रकम स्वंय घरधनीले बेहोर्ने गरी ३ वटा वडाका लागि १ हजार ५ सय घरधुरीका लागि मिटर पुगेकाले बत्ती बलेको छ ।’ केन्द्रीय प्रसारण लाइन महाभारतका सबै वडामा पुगिसकेको छ । अहिले शाखा लाइन विस्तारको कार्य अन्तिम चरणमा पुगेको वडा नम्बर १ का अध्यक्ष एवं गाउँपालिका प्रवक्ता कान्छामान जिम्बाले बताउनु भयो । यही वर्ष भित्र सबै घरमा बिजुली बत्ती बालिसक्ने गरी गाउँपालिकाले योजना अघि बढाएको उहाँले बताउनु भयो । वडा नम्बर ६ र ७ मा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने वडा नम्बर १, २ र ८ मा धमाधम कार्य भइरहेको छ ।

केन्द्रीय प्रसारण लाइन नभएका कारण महाभारतमा उद्योग कलकारखाना सञ्चालन हुन सकेका थिएनन् । लघु जलविद्युत्, सोलार तथा अन्य वैकल्पिक उपायबाट रातको समयमा उज्यालो देखिने गरेको थियो । भूकम्प पछि सोलारको प्रयोग बढेको थियो । त्यस अघि लघु जलविद्युत् आयोजना सञ्चालन भए पनि दिगो रुपमा सञ्चालन हुन सकेका थिएनन् । मोबाइल टावरका लागि पनि सोलारका कारण असहज भएको थियो । घाम नलागेको समयमा मोबाइल नेटवर्क हुँदैन थियो भने स्थानीयहरुलाई अन्य कार्यका लागि बत्ती नहुँदा असहज भएको स्थानीय रेशम बोम्जनले बताउनु भयो । ‘बत्ती आए पछि धेरै समस्या समाधान हुने आशा पलाएको छ’–उहाँले भन्नुभयो–‘बत्तीको समस्या समाधान हुँदा धेरै कुरा सहज हुन्छ ।’ महाभारत गाउँपालिकामा ३ हजार ३ सय घर धुरी छन् । सबै घरमा बिजुली, खानेपानी पु¥याउने गरी कार्य भइरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिसिं विष्टले बताउनु भयो । विकट भएका कारण धेरै कुराको अभाव भएकाले स्थानीय सरकार निर्वाचित भए पछि विकासका आधारभूत आवश्यकता पुरा हुन थालेको उहाँले बताउनु भयो ।

बिजुली उद्घाटन र सडक शिलान्यास कार्यक्रममा प्रधानमन्त्रीसँगै पूर्व राज्य मन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्बर १ सांसद सूर्यमान दोङ्ग ‘लालध्वज’, बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, प्रतिनिधि सभा सांसद रुकु चौलागाई, बागमती प्रदेश सभा सांसद तथा पूर्व मन्त्री रत्न ढकाल, जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतम, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामा, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ्ग, गाउँपालिका उपाध्यक्ष सागर मोक्तान लगायतको सहभागिता रहेको थियो ।