महाभारतमा प्रधानमन्त्रीद्वारा सडक शिलान्यास

सडकका लागि मात्रै ३ अर्ब बजेट

0
Shares

काभ्रे।

जिल्लाको विकट पालिका महाभारतको देविटार पुग्ने सडक पिंगथली रजवास भूमिचुली बुढाखानी देविटार खण्डको १७ किलोमिटर लामो सडक प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गर्नु भएको छ । बागमती प्रदेश सरकारले ९९ करोड रकम विनियोजन गरेको उक्त सडक ६० करोड ९६ लाखमा निर्माण सम्झौता भएको छ ।


पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोक मार्फत निर्माण हुनेछ । १७ किमी सडक निर्माणका लागि ६० करोड ९६ लाख ७१ हजार ६ सय १९ रुपैयाँको लागतमा सम्झौता भएको छ । २०८० वैशाख १९ गते सम्झौता भएको उक्त सडकको शिलान्यास प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नु भएको हो ।

२०८२ कार्तिक १९ गतेसम्म ३० महिना भित्र निर्माण कार्य सक्ने गरी बागमती प्रदेश सरकारले सन्तोषी धर्म जेभीसँग सम्झौता गरेको छ । ‘भुमेचुली–बुढाखानी–तिनखुट्टे सडक कालोपत्रे सहितका लागि ९९ करोड रकम विनियोजन भएको थियो । ६० करोड ९६ लाखमा सम्झौता भएको छ । तिनखुट्टे देविटार सडकका लागि ४९ करोड रकम विनियोजन भएको छ भने देविटार गोकुले सडकका लागि ४८ करोड रकमको श्रोत सुनिश्चित भएको छ’–गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘निर्माण ब्यवसायीहरुले विनियोजन बजेटमा कम दरमा सम्झौता गर्ने अनि समयमा काम सम्पन्न नगर्दा महाभारतबासीहरुले खोजेको विकास प्राप्त गर्न सकेका छैनन् ।’ ९९ करोडको बजेटमा ६० करोड ९६ लाखमा सम्झौता भएको छ भने ४९ करोडको बजेटको सडकमा २४ करोडमा सम्झौता भएको छ । तिनखुट्टे – देविटारसम्मको ८.७ किलोमिटर पक्की सडक निर्माण कार्य अलपत्र भए पछि गाउँपालिकाले पटक पटक प्रदेश मन्त्रालयलाई समयमै निर्माण सम्पन्नका लागि पत्र लेख्दै आएको थियो ।

उक्त सडकको अवधि दुई वर्ष सम्पन्न भएर पुनः अर्को वर्ष थप हुँदा समेत समयमै निर्माण कार्य सम्पन्न हुन सकेको छैन । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले, जिल्ला समन्वय समिति प्रमुख दीपक गौतम, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल लगायतले उक्त सडक समयमै निर्माण कार्य सक्न निर्देशन दिदै भईरहेका कार्यको अनुगमन गर्नु भएको थियो ।‘काभ्रेको रोशी गाउँपालिका मंगलटार स्थित विपी राजमार्गबाट महाभारत र खानीखोला गाउँपालिका हुँदै मकवानपुरको झुरझुरे स्थित मदनभण्डारी लोकमार्ग जोड्ने गरी जनमुक्ति मार्ग निर्माण गरिनेछ’–भौतिक पूर्वाधार मन्त्री दुलालले भन्नुभयो–‘उक्त मार्गका लागि ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षबाट नै काम सुरु गर्ने गरी बजेट विनियोजन हुनेछ ।’ महाभारत गाउँपालिकाका तीन खण्ड निर्माणको क्रममा रहेको तथा रोशी गाउँपालिकाको अर्को खण्ड चालु वर्षबाटै प्रारम्भ हुने भएकाले खानिखोलाबाट मकवानपुरको भोर्लेनीमा जोड्ने पुल निर्माणको कार्य सकिनासाथ सडक सञ्जाल सञ्चालनमा आउने उहाँले बताउनु भयो ।

उक्त सडकको लम्बाई ९३ किलोमिटर हुनेछ । माओवादीको जनयुद्ध सुरु भएको यति लामो समय पछि माओवादी नेतृत्वको सरकारले उक्त सडकलाई जनमुक्ति नामाकारण गरी बजेट विनियोजन गर्न लागेको हो । महाभारत गाउँपालिकाको तीनखुट्टे–देवीटार सडक कालोपत्रेको योजना ३ वर्षमा पनि पुरा नभएको गुनासो गरेका थिए । तीनखुट्टेमा निर्माणाधीन पक्की पुलको पनि उल्लेख्य काम भएको छैन । ठेकेदारको लापरबाहीले समयमै काम सम्पन्न हुन नसकेको स्थानीयको गुनासोलाई सम्बोधन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनु भयो ।