फ्रेन्ड्सको जितमा रफिकको दुई गोल

विमल तीन साता बाहिर

0
Shares

काठमाडौं । फ्रेन्ड्स क्लबले जारी शहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार जित निकालेको छ । च्यासल रंगशालामा भएको खेलमा फ्रेन्ड्सले खुमलटार युवा क्लबलाई ३–१ ले हराएको हो । टोलीलाई जित दिलाउन रफिक एमिनुले दुई तथा सन्तोष खत्रीले एक गोल गरे । खुमलटारका मेसुके ओलोमोउले एक गोल फर्काएका थिए । मेसुके योसँगै १३ गोल गरेर गोलकर्ताको सूचीमा शीर्ष स्थानमा यथावत रहेका छन् ।

खेलको चौथो मिनेटमा रफिकले गोल गर्दै अग्रता दिलाए भने १६ औं मिनेटमा अर्को गोल थपेर फ्रेन्ड्सलाई २–० को आराम स्थितिमा राखेका थिए । रफिकले जारी लिगमा यो दुई गोलसँगै १० गोल गरिसकेका छन् । ६७औं मिनेटमा मेसुकेले गोल गर्दै खेललाई २–१ को स्थितिमा खुम्च्याए । तर, ७८औं मिनेटमा सन्तोषले गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।

यस जितसँगै फ्रेन्ड्स १६ खेलबाट १९ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । समान १९ अंक नै रहेपनि एपिएफ गोल अन्तरमा पछि परेको छ । पराजित खुमलटार १६ खेलबाट १७ अंक जोडेर रेलिगेसन जोनको १३औं स्थानमा रहेको छ ।

पुलिस र मनाङ बराबरीमा

सातदोबाटोको एन्फा मैदानमा भएको खेलमा नेपाल पुलिस क्लब र मनाङ–मर्स्याङ्दी क्लबले २–२ बराबरी खेल खेले । पुलिसका अहमद हिजाजीले दुई गोल गर्दा मनाङका रोशन राना मगर र सैयदजामोल दभ्लातजोनोभले एक–एक गोल गरे ।

खेलको १६औं मिनेटमा हिजाजीको गोलबाट पुलिसले सुरुवाती अग्रता लिएको थियो । ३३औं मिनेटमा रोशनले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए । ४४औं मिनेटमा सैयदजामोलले गोल गरेपछि मनाङले पहिलो हाफमा २–१ को अग्रता लिएको थियो ।

तर, मनाङले त्यो अग्रतालाई दोस्रो हाफमा बचाउन नसक्दा बराबरी नतिजा बेहोर्नु परेको थियो । ७१औं मिनेटमा हिजाजीले गोल गर्दै पुलिसलाई हारबाट जोगाए । हिजाजीको यो जारी लिगमा पाँचौ गोल थियो ।

यस बराबरीसँगै मनाङ १६ खेलबाट २० अंक जोडेर सातौं स्थानमा रहेको छ । समान २० अंक भएपनि गोल अन्तरमा हिमालयन शेर्पा पछि रहेको छ । पुलिस १६ खेलबाट १६ अंक जोडेर पुछारमा यथावत रहेको छ ।

विमल तीन साता बाहिर

दुई पटकको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रको लागि स्ट्राइकर विमल घर्तीमगरको चोटले समस्यामा पार्ने भएको छ । आइतबार एपीएफविरुद्धको खेलमा दायाँ खुट्टामा चोट लागेपछि विमललाई विश्राम दिइएको हो । उक्त खेल उनले पहिलो हाफमै छाड्नु परेको थियो ।

विमलले कर्नरबाट हेडर प्रहार गरेपछि ल्यान्डिङ गर्ने क्रममा घाइते भएका थिए । उनले त्यसपछि केही समय मैदानमा खेल्ने प्रयास गरेपनि उनी सफल भएनन् । उनले खेलको ३३ औं मिनेटमा मैदान छाड्नु परेको थियो । उनले जारी लिगमा १३ खेल खेल्दै ४ गोल गरेका छन् ।

विमलले अब तीन साता मैदानबाहिर रहेसँगै लिगको बाँकी खेल गुमाउने देखिन्छ । यसैपनि सुजल श्रेष्ठ र रंजित धिमाल पलायन भएपछि चेन्चो ग्याल्सेनको चोटले पिरोलिएको मच्छिन्द्रलाई विमलको अनुपस्थितिले लिग उपाधि रक्षा गर्न कठिन हुने समेत भएको छ । मच्छिन्द्र हाल २४ अंकसहित चौथो स्थानमा रहेको छ ।