सांसद अमरेशको अभद्र हर्कत

0
Shares

काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको प्रतिनिधिसभा बैठकमा अमानवीय हर्कत गर्नुभयो । प्रतिनिधि सभा बैठकमा सिंहले बोल्न नपाएको भन्दै वस्त्र उतारेर अर्धनग्न अवस्थामा अभद्र व्यवहार देखाउनुभएको हो ।

सिंहले सदनमा अभद्र व्यवहार देखाएपछि सभामुख देवराज घिमिरेले सम्हालिन रुलिङ गर्नुभएको थियो । सांसद सिंहले भने आफू भ्रष्टाचारविरुद्ध बोल्न चाहेको तर सभामुख घिमिरेले समय नदिएको गुनासो गर्दै कपडा उतार्नुभएको थियो । सांसद सिंहले बोल्न समय नपाएको भन्दै कम्मरमाथिको कपडा खोलेर अर्धनग्न भएपछि अन्य सांसदहरू चकित परेका थिए ।

सिंहको अभद्र व्यवहार प्रदर्शनपछि सभामुख घिमिरेले नियमावलीको नियम २१ को खण्ड ‘घ’ स्मरण गराउनुभएको थियो । उक्त नियममा अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्ने र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्ने र असंसदीय शब्द प्रयोग गर्न नहुने उल्लेख छ ।

सभामुखले पटकपटक सचेत गराउँदा पनि सांसद सिंहले ख्याल नगरी नग्न अवस्थामै प्रस्तुत भइरहेपछि सभामुख घिमिरेले सोही नियमावलीको नियम ३० अनुसार चेतावनी दिनुभएको थियो । सो चेतावनीलाई पालना गर्दै अमरेशले आफूले खोलेको कपडा लगाउनुभयो ।

नियम ३० अनुसार अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ । चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्छ । अन्यथा उहाँलाई सभामुखले नियम ३१ अनुसार बैठक कक्षबाट बाहिर जान आदेश दिनसक्थे । त्यो पनि नमानेको अवस्थामा मर्यादापालकको सहयोगमा बााहिर निकाल्न सक्ने व्यवस्था थियो । त्यसरी निकालिएका सांसद ३ दिनसम्म बैठकमा सहभागी हुन नपाउने नियमावलीमा उल्लेख छ । उक्त नियम पालना गरेसँगै उहाँ थप कारबाही हुनबाट बच्नुभएको थियो ।

नीति तर्जुमा गर्न संसद्मा पुगेका जिम्मेवार सदस्यले गरेको अभद्र हर्कतले संसदीय मर्यादामाथि आँच पुगेको सांसदहरूले बताएका छन् । उहाँको व्यवहारले संसदीय व्यवस्थामाथि नै नागरिकको असन्तुष्टि र देशको गरिमामाथि आँच पुग्ने खतरा बढेको छ ।

यसैबीच संसद्मा वस्त्र उतारेर अर्धनग्न बनेका सांसद् अमरेशकुमारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अकुत सम्पत्तिको छानबिनका लागि उजुरी परेको छ । सर्लाहीका विकास ठाकुरले अकुत सम्पत्तिको विवरणसहित अख्तियारमा उजुरी दर्ता गराउनुभएको हो । राजनीतिबाहेक अन्य पेसा र व्यवसाय नभएका सिंहको सम्पत्ति अनपेक्षित रूपका बढेको उल्लेख गरिएको छ । पैत्रिक सम्पत्ति जम्मा डेढ विघा जमिन र एउटा मोटरसाइकल भएका उनले राजनीतिमा आएपछि करोडौं कमाएको उक्त उजुरीमा उल्लेख छ ।