बडवाइजर बियरमा जिउँदो किरा भेटियो, बजार प्रतिनिधिले रेस्टुरेन्ट व्यवसायीलाई थर्काए

0
Shares

काठमाडौं । म्याद गुज्रिएको बियर बजारमा पठाएर बदनामी कमाएको जाउलाखेल डिस्टिलरीले उत्पादन गरेको बडवाइजर बियरमा जिउँदो किरा फेला परेको छ । पैसाका लागि जे पनि गर्न तयार रहेको सो कम्पनीले पछिल्लोपटक स्टकमा रहेको तर म्याद गुज्रिएको बियर बजार पठाएर करोडौं रुपियाँ असुल गर्न सफल भएको छ ।

नेपालीहरूको नयाँ वर्ष पारेर बजार पठाएको बियर म्याद गुज्रिएको पाइएपछि उपभोक्ताले खानसमेत आनाकानी गरिरहेका बेला सो कम्पनीबाट डिसेम्बर महिनामा उत्पादित बियरको बोटलभित्र किरा नै फेला परेको छ ।

पैसाका लागि जे पनि गर्न तयार सो कम्पनीका ब्रान्ड म्यानेजर सुदेश पौडेलले यस्ता कुरा पत्रिकामा आएर आफूहरूलाई केही फरक नपर्ने जहाँ जहाँ सेटिङ हान्नुपर्ने हो त्यहाँ सेटिङ भइसकेको भन्दै पत्रपत्रिका आएको समाचारलाई हावाको संज्ञा दिँदै आएका छन् ।

नेपाल समाचारपत्रले म्याद गुजारेको बियर विभिन्न रेस्टुरेन्टमा बेचेको भन्दै रेस्टुरेन्टको नामसहित छापेपछि सो कम्पनीका बजार प्रतिनिधिहरूले रेस्टुरेन्टहरूमा गएर थर्काउने काम गरेको रेस्टुरेन्ट व्यवसायीहरूले नेपाल समाचारपत्रलाई जानकारी दिएका छन् ।

उनीहरूले ती रेस्टुरेन्टका कर्मचारीलाई आइन्दा यस्ता समाचार पत्रपत्रिकामा दिए राम्रो नहुने धम्कीसमेत दिएको एक रेस्टुरेन्ट व्यवसायीले नेपाल समाचारपत्रलाई जानकारी दिए । सो कम्पनीले गरेको बद्मासी बिस्तारै बाहिर आउने क्रममा रहेको छ । म्याद गुज्रिएको बियर बिक्रीका लागि पठाउने हरेक कार्टुनमा २ देखि ३ वटासमेत हालेर पठाउने गरेको पाइएको छ ।

म्याद गुज्रिएको बियर बेच्ने होलसेलरलाई बोटलमा नै एक सयभन्दा बढी छुट दिएको र बिक्रेताले पनि जनताको स्वास्थ्यभन्दा पनि व्यक्तिगत फाइदाका लागि कम्पनीको बदमासीमा सामेल हँुदै त्यस्ता म्याद गुज्रिएका बियर बिक्री वितरण गर्दै आएका छन् ।

उक्त बियर खाएर आफ्नो दाइले वान्ता गरेपछि बिरामी नै परेको भन्दै एक टिकटक प्रयोगकर्ता रोङग्याले टिकटकमा भिडियो नै बनाएर हाल्नुभएको छ । उक्त टिकटक भिडियोमा सिल नै नखोलेको बियरभित्र जिउँदो किरा हिँडेको देख्न सकिन्छ । उहाँले बियर पिउँदा भएको बेफाइदाका बारेमा जानकारी दिन र आइन्दा उक्त बियर पिउनुअघि होस् पु¥याउन पनि आग्रह गर्नुभएको छ ।

म्याद गुज्रिएको बियरका विषयमा कुरा गर्न ब्रान्ड म्यानेजर पौडेलसँग सम्पर्क गर्न खोज्दा उहाँ सम्पर्कमा नै आउन चहानुभएन ।