‘सांसद’ प्रमाणपत्रधारी विन्दबासिनीको अन्यौल

0
Shares

हेटौंडा।

निर्वाचनआयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की हेटौंडेली एसिडपीडित नेतृ विन्दबासिनी कंसाकारलाई प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिए पनि उहाँ ढुक्क हुन सक्नुभएको छैन ।

रास्वपाको कारबाहीमा डा.ढाकाकुमार श्रेष्ठको सांसद पद गुमेपछि समानुपातिक निर्वाचन प्रणालीको उम्मेदवार सूचीमा रहनुभएकी हेटौंडाकी कंसाकारलाई आयोगले प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिएकोमा श्रेष्ठको सांसदसमेत पदबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सोमबार सर्वाेच्च अदालतले अल्पकालीन आदेश दिएको हो ।

सर्वाेच्च अदालतले श्रेष्ठलाई सांसद पदबाट समेत हटाउने गरी भएको कारबाहीको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम अल्पकालीन आदेश जारी गरेको छ ।

आफूलाई सांसदबाट हटाउने पार्टीको निर्णयविरुद्ध श्रेष्ठले दायर गरेको रिटमा सोमबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले पार्टीले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । आदेशसँगै श्रेष्ठको सांसद पद अर्काे आदेश नभएसम्मका लागि कायम रहने भएको छ ।

श्रेष्ठको सट्टामा सिफारिस कंसाकारलाई सांसद बनाउने रास्वपाको निर्णय तत्काल कायम नगर्न अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । इजलासले दुवै पक्षको बहस सकिएर आदेश नहुञ्जेलसम्म श्रेष्ठलाई गरिएको कारबाही कार्यान्वयन नगर्न दिएको हो । यसका लागि दुवै पक्षलाई छलफलका लागि सर्वाेच्चले बोलाएको छ ।

व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड डिल गरेको अडिओ सार्वजनिक भएपछि रास्वपाले उनको सांसद् र पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । उक्त कारबाहीविरुद्ध श्रेष्ठ सर्वाेच्च अदालत पुग्नुभएको थियो ।

संसदीय यात्रामा ब्रेक लागेकी सांसद कंसाकार आफू अन्यौलमा रहेको बताउनुहुन्छ । आइतबारमात्र सांसदको प्रमाणपत्र पाउनुभएकी कंसाकारलाई भोलिपल्ट सांसदीय यात्रामा ब्रेक लागेको छ ।

सोमबारमात्र संसदमा प्रवेश पाउनुभएकी कंसाकार संसद प्रवेश गर्न नपाउने भएपछि आफू अन्यौलमा रहेको बताउनुहुन्छ । उहाँले हालसम्म केन्द्रबाट आफूलाई खबर नआएको बताउनुभयो ।

‘मलाई पार्टीको केन्द्रीय तहले सांसद् बनाएको हो । म केन्द्रकै निर्णयमा छु,’ उहाँले भन्नुभयो–अबको कदम के हुन्छ, मलाई थाहा छैन । कानुनलाई मान्नुपर्छ । त्यसैले म यतिबेला केही भन्ने अवस्थामा छैन । हालसम्म केन्द्रबाट कुनै जानकारी आएको छैन । उहाँका अनुसार यस विषयमा उहाँ अझै अनविज्ञ हुनुहुन्छ । अदालत र पार्टीको निर्णयलाई आत्मसात् गरेर अघि बढ्ने उहाँको कथन छ ।

कंसाकारको एसिडको घाउ हालसम्म पुरिएको छैन । त्यो घाउ एकातर्फ, अर्कोतर्फ अझ बढी चर्चराउ“थ्यो न्याय नपाएको घाउ । यसरी सरकारलाई झक्झकाउने ठाउ“मा पुगेकी कंसाकार आफैं न्यायका लागि ८ वर्षसम्म भौंतारिनुभयो । लामो समयसम्म उहाँले न्याय पाउनुभएन ।
८ वर्षसम्म अनवरत् लडिरहनुभयो । ‘न्याय नपाउँदा मनमा त्यति नै जलन हुन्थ्यो, जति एसिड आक्रमणपछि अनुहारमा भएको थियो,’ उहाँ भन्नुहुन्छ–आँसु खस्दा एसिडले पोलेको छाला झन् चर्चराउ“थ्यो ।

करिब २ वर्षअघि पीडकलाई प्रहरीको कठघरामा उभ्याइयो । पीडक भारतीय नागरिक राज केशरीलाई ज्यान मार्ने उद्योगअन्तर्गत् ८ वर्ष कैद र १ करोड १४ लाख जरिवानाको फैसला भयो । तर, थोरैमात्र न्यायको प्रत्याभूति भएको उहाँ बताउनुहुन्छ । हालसम्म उहाँले २० पटक अनुहारको शल्यक्रिया गरिसक्नुभएको छ । लामो समय एसिड आक्रमणको पीडामा परिवारको साथमा लडिरहनुभएकी उहाँ यसअघि कुनै पार्टीले साथ नदिएको अवस्थामा रास्वपाले साथ दिएर हरेक क्षेत्रमा अघि बढाएको भन्दै खुशी व्यक्त गर्नुहुन्छ ।

राज्यबाट खासै न्यायको अनुभूत नगरेको उहाँको दाबी छ । ‘अब अन्य पीडितलाई राज्यप्रति भरोसा हुने गरी संसदमा आवाज उठाउनेछु,’ उहाँको प्रण छ । एसिड आक्रमणको पीडा भाग्नुभएकी उहाँले संसदमा उभिएर आफूजस्तै एसिडपीडितका लागि न्याय दिलाउने ऐनकानुन निर्माणमा जोड दिने बताउनुहुन्छ ।

‘एसिड आक्रमणविरुद्धको कानुन फितलो छ । यसलाई परिमार्जन गर्न पहल गरेर सहज न्याय पाउन सकिने ऐनकानुन निर्माणमा जोड दिनेछु,’ उहाँले भन्नुभयो ।
मकवानपुर जिल्ला अदालतले देशमै चर्चित उहाँको मुद्धाका पीडकबाट १ करोड १४ लाख पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको थियो । तर, उहाँको हातमा रकम परेको छैन । उक्त फैसला २०७६ फागुन १५ को हो ।