बलात्कार घटनाका अभियुक्त पक्राउ गरी  फर्केका प्रहरीमाथि गाउँलेको आक्रमण, असई घाइते

0
Shares

कालिकोट  ।

फरार रहेका बलात्कार आरोपी पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय संक बुढालाई पक्राउ गर्न गएका प्रहरीमाथि गाउँलेले आक्रमण गर्दा एक जना प्रहरी असई गम्भीर घाइते हुनु भएको छ  ।

साेमबार बिहान आरोपित बुढालाई प्रहरीले हतकडी लगाएर जिल्ला सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरीसँगै पीडित महिलाका परिवारमाथि आक्रमण गर्दा  इलाका प्रहरी कार्यालय पलाँताका असई लक्ष्मी ढुङ्गेल रावत र बलात्कार घटजाबाट पीडित  परिवारका सदस्य धनमान विक घाइते भएका हुन ।

घाइते दुवैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको  र  घाइते विकको अवस्था गम्भीर रहेको  कालिकोटका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर शुवराज बमले जानकारी दिनुभएको छ।
उहाँका अनुसार घाइते दुबैलाई हेलिकोप्टरमार्फत उद्धारको तयारी भइरहेको छ। घाइतेहरुको उद्धारका लागि गृह मन्त्रालयमा हेलिकोप्टर पठाइदिन पत्राचार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले बताउनु भयो।

बलात्कार आरोपी बुढा हतकडीसहित फरार भएका छन्। उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र नजिकका प्रहरी चौकीबाट थप टोली पलाँता खटाइएको निमित्त प्रहरी प्रमुख बमकाे भनाइ छ ।

आरोपित बुढालाई ०७९ असोज ३१ गते गाउँकै एक दलित महिलामाथि बलात्कार गरेको आरोपमा पीडित परिवारले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको थियो।
त्यसयता फरार रहेका बुढा घरमा आएको जानकारी साेमबार बिहान ४ बजे उनलाई पक्राउ गर्न ढुङ्गेलसहित चार जना प्रहरी टोली गएको थियो। प्रहरी पुग्दा घरमै सुतिरहेका बुढालाई प्रहरीले हतकडी लगाएर जिल्लातर्फ ल्याउने क्रममा गाउँलेले आक्रमण गरेको पीडित पक्षको भनाइ रहेको छ ।