रातो मच्छिन्द्रनाथको रथयात्रामा सुरक्षाकर्मी ‘हाई अलर्टमा’

0
Shares

ललितपुर । बुंगद्यः अर्थात् ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रामा प्रहरी प्रशासनले उच्च सुरक्षा सतर्कता अपनाउँदै सुरक्षा प्रबन्ध गर्दै आएको छ ।

रातो मच्छिन्द्रनाथको रथयात्राका पछिल्ला वर्षहरूदेखि सुरक्षा व्यवस्थापनको हिसाबले गृह मन्त्रालय र प्रहरी मुख्यालयको समेत मुख्य चासो रहने गरेको छ । यसले गर्दा रातो मच्छिन्द्रनाथ रथयात्रा केन्द्रित सुरक्षा योजना तयारी गरी त्यसको कार्यान्वयन गर्दै आएको हो ।

सुरक्षाको गर्नुपर्ने विषय, सम्भाव्य जोखिम, सडकको संरचना, मानिसको घनत्वलगायत विविध पक्षले सुरक्षा व्यवस्थामा पार्न सक्ने असरको आधारमा सुरक्षा चुनौतीलाई विश्लेषण गरी सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । प्रहरी वरिष्ठ उपरीक्षक शाहका अनुसार मच्छिन्द्रनाथको रथमा श्री मच्छिन्द्रनाथको मूर्तिसहित विभिन्न बहुमूल्य मूर्ति, बहुमूल्य धातु, गरगहनाको सुरक्षा, रथयात्रामा हुने भीडभाडमा मानिसको जीउधनको सुरक्षा र मानिस आस्था र विश्वासअनुसार जात्रा पर्व मनाउने दिने गरी तीनवटा पक्षलाई हेरेर सुरक्षा योजना तयार गरिएकोे थियो ।

पहिला, रथयात्राको समयमा हुने जीउधनको सुरक्षा, ३२ हात लामो रथ तान्ने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाबाट मानिसलाई बचाउनेतर्फ सुरक्षा केन्द्रित रहेको छ । यसका लागि रथ तान्ने बेला रथको दायाँबायाँ प्रहरीहरू खटिएको छ । सबैभन्दा बढी भीडभाड हुने भनेको रथयात्रा हुँदाखेरि हो । रथयात्रामा सुरक्षा व्यवस्थाका लागि प्रहरी नायव उपरीक्षकको कमान्डमा १ सय १५ जना प्रहरी परिचालन हुने गरेको छ । रथयात्राका क्रममा प्रहरी परिसरसँगै प्रहरी वृत्त सातदोबाटो, मंगलबजार प्रभाग, बालकुमारी प्रभागका प्रहरी परिचालन हुने गरेको छ ।

रथको पहिलो सुरक्षा घेरामा नेपाल प्रहरी रहने गर्दछ । रथ तान्ने बेला रथ पछाडिको भागमा ४५ जना सशस्त्र प्रहरीले घेरा हालेर सुरक्षा प्रदान गर्दै आएको सशस्त्र प्रहरी २१ नम्बर गणका प्रहरी उपरीक्षक सुमनजंग थापाले बताउनुभयो । तर, लगनखेलमा सुरक्षा चुनौती बढी भएकाले शनिबार ६० जना सशस्त्र प्रहरी खटाइएको थियो । ‘यसमा रथयात्राको उत्सव, उल्लासलाई कायम गर्दै सभ्य बनाउनेतर्फ प्रहरी केन्द्रित रहेको छ’ –प्रहरी वरिष्ठ उपरीक्षक शाहले भन्नुभयो ।

तेस्रोमा मानिसको धार्मिक आस्था, परम्पराप्रति अपनत्वलाई सम्मान गर्दै सोहीअनुरूपको गतिविधि सहज बनाउन प्रहरी खटाइएको छ । रथयात्राका क्रममा हुन सक्ने पाकेटमार, झैझडालाई ध्यानमा राखेर सिभिल डे«समा प्रहरी परिचालन गर्दै आएको छ भने जिल्लास्थित अनुसन्धान विभागका प्रहरी परिचालन गर्ने गरेको छ । रथयात्रा नहुने बेला रथको मूर्तिको सुरक्षाका लागि ४ जना र रथ अगाडि सुरक्षाका लागि १५ जना प्रहरी तैनाथ हुने गरेको छ ।

रथयात्राको पहिलो र दोस्रो दिन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना, जिल्लास्थित अनुसन्धान विभाग गरी चारवटै सुरक्षा निकाय प्रमुखहरू खटिएका थिए । वैशाख ११ गते सोमबार रथयात्राको पहिलो दिन रथ तानेर श्रीबहालमा पु¥याइएको थियो । यसपटक रथ बायाँतर्फ बढी ढल्किएकाले सो दिन गाबहाल पु¥याउन नसकिएको हो ।

पटकपटक रथ सीधा पार्र्दैै तान्नुपरेको तोकिएको स्थानमा रथ पु¥याउन अघिपछि वर्षकोे तुलनामा एक साताभन्दा बढी विस्तार भएको हो । अघिपछि सुन्धाराबाट दुई दिनमै तानेर लगनखेल रथ पु¥याउँदै आएकोमा यसपटक सुन्धारा, ओकुबहाल, टंगल, इति हँुदै लगनखेलसम्म रथ पु¥याउन पाँच दिन लागेको थियो ।

शनिबार रथ लगनखेलबाट तानेर तल थति टोलमा पु¥याइएको थियो । यसले गर्दा जिल्लाका सुरक्षाकर्मीको बढीभन्दा बढी समय र ध्यान रथयात्रामै केन्द्रित भएको थियो । सुरक्षा योजना र त्यसको कार्यान्वयनको हरेक दिन ब्रिफिङ गर्न प्रहरी वरिष्ठ उपरीक्षक शाहको नेतृत्व ‘कमान्ड फोर्स’ गठन गरिएको छ । सो फोर्सले रथ यात्राको दूरी, तानेर पु¥याउनुपर्ने ठाउँ आदि हेरेर सुरक्षा योजना कार्यान्वयन गर्दै आएको छ । यसबारे प्रशासनले सोझै गृह मन्त्रालय र प्रहरीले प्रहरी मुख्यालयमा अलगअलग रूपमा नियमित ब्रिफिङ गर्दै आएको बुझिएको छ ।

वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा सिंगो उपत्यकावासीको आस्थाको केन्द्रको रूपमा मान्ने गरेको छ । २०७७ साल भदौ १८ गते बिहीबार स्थानीयले स्वस्र्फूत रथ तानेपछि स्थानीय र प्रहरीबीचको झडप निम्तिएको थियो । प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार ग¥यो भने आक्रोशित भीडले प्रहरीमाथि ढुंगा बर्साएको थियो । २०७८ सालमा भने प्रशासनले लकडाउनका बीचमा पनि रथ वरपर निषेधाज्ञा जारी रथ सांकेतिक रूपमा तान्न लगाउने बन्दोबस्तो गरेको थियो । ती घटनाबाट पाठ सिकेर प्रहरीले रथयात्राको लागि सुरक्षा योजना तयार गरी सुरक्षा सतर्कता अपनाउँदै आएको छ ।

‘सुरक्षा प्रबन्ध मिलाउने मात्र नभई रथ बनाउने बेलादेखि नै रथ बनाउने यँग्वाल, पानेज, बाराहीहरूसँग छलफल, रथयात्राको रुटको अवस्थाबारे बुझ्ने काम ग¥यौं । समुदायसँग अन्तरघुलन भई प्रशासनले काम गर्दै आएको छ’, जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले भन्नुभयो– ‘प्रशासन समुदायसँगै छौं । समन्वय र सबैसँग अन्तरघुलनलाई प्राथमिकता दिँदै रथयात्रामा पुग्दै आएका छौं ।’

त्यससँगै जात्रालाई शान्तिपूर्ण रूपमा मनाउन ज्यापू समाज यलअन्तर्गत क्षेत्रअनुसार जात्रा व्यवस्थापन टोली खटिँदैै आएको छ आवश्यकताअनुसार स्वयंसेवक परिचालन गर्दै आएको समाजले जनाएको छ ।