आठराई र ओयसिस पब्लिकेसनका ८ पुस्तक रद्ध



काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले आठराई र ओयसिस पब्लिकेसनका ८ वटा पुस्तक पठनपाठन र बिक्रीवितरणमा रोक लगाएको छ । शिक्षक, विद्यार्थी र अभिभावकलाई गुमराहमा राखी विद्यार्थीको भविष्यमा गम्भीर खेलवाड गरेको निष्कर्ष निकाल्दै दुई पब्लिकेसनका ती पाठ्यसामग्रीलाई दुई वर्षसम्म रोक लगाएको हो ।

केन्द्रको मान्यता, समकक्षता तथा मूल्याङ्कन शाखाका अधिकृत तारा पाण्डेद्वारा हस्ताक्षरित पत्रमा ती पाठ्यसामग्री प्रयोग नगर्न नगराउन र बिक्रीवितरण नगर्न आग्रह गरेको छ । आठराई पब्लिकेसनको कक्षा ५ को रसिलो नेपाली रहेको छ । त्यस्तै, ओयसिस पब्लिकेसनको कक्षा ६, ७, ४ र ५ को वन्डर इङ्लिस, कक्षा ६, ७ र ४ को इङ्लिस स्किल पाठ्यसामग्री रद्ध गरिएको छ ।

ओयसिसले कक्षा ५ को वन्डर इङ्लिस पाठ्यसामग्री स्वीकृति नलिई छपाइ गरी बिक्री गरेको खुलेको छ । स्रोतका अनुसार ओयसिस र आठराई सहप्रकाशन संस्था हुन् । केन्द्रले कक्षा ६ को वन्डर इङ्लिस र इङ्लिस स्किललाई २०७८ देखि ०८० सम्म रोक लगाएको छ । कक्षा ७ र ४ को वन्डर इङ्लिस र इङ्लिस स्किल पाठ्यसामग्रीलाई २०७९ देखि २०८१ सम्म बिक्रीवितरणमा रोक लगाएको छ ।

आठराईको कक्षा ५ को रसिलो नेपाली पुस्तक २०८२ सालसम्म रद्ध भएको छ । सो पाठ्यसामग्री गत वर्षको चैत ४ मा स्वीकृत लिएको थियो । ओयसिसले कक्षा ६ का दुई पुस्तक २०७८ असार ४ र बाँकी चैत १४ मा स्वीकृति लिएको थियो । केन्द्रका महानिर्देशक वैकुष्ठ अर्यालले रद्ध गरेको वर्षसम्म पुस्तक बिक्री गरेको थाहा पाए स्वीकृतिलाई पूर्ण रूपमा रद्ध गरिने चेतावनी दिनुभयो ।

केन्द्रले सार्वजनिक गरेको सूचनामा केन्द्रबाट दिइएको स्वीकृति पाठ्यक्रम पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका २०७९ को दफा ३० उपदफा २ बमोजिम रद्ध गरी दुई वर्षसम्म स्वीकृत नदिने र उक्त पाठ्यसामग्री तत्काल फिर्ता गराउने गरी निर्णय गरिएको हो ।

केन्द्रका महानिर्देशक अर्यालले निर्णय कार्यान्वयन गर्न सबै निकायलाई जानकारी गराइएको बताउनुभयो । केन्द्रले कारबाही गरेको पत्र मन्त्रालय र प्रकाशकलाई पठाएको छ । आठराईले कोर्स परिवर्तन भइसकेको कक्षा ५ को रसिलो नेपाली पुस्तकको कभर र विषयसूची नयाँ राखेर बाँकी पुरानै विषयवस्तु प्रयोग गरी बिक्री गरेको थियो ।

२०७९ चैत १४ मा स्वीकृति लिई सो स्वीकृतिपत्रसमेत समावेश गरी प्रथम संस्करण २०५७ र सातौं संस्करण (संशोधनसहित) राखेर पुरानो पाठ्यक्रमअनुसारको १८ पाठ भएको सोही कक्षाको पाठ्य सामग्री छपाइ गरी बिक्री गरेको देखिएको केन्द्रले उल्लेख गरेको छ ।

ओयसिस पब्लिकेसनले कक्षा ६ को अङ्ग्रेजी वन्डर इङ्लिस विषयमा दुवै सामग्री नयाँ लागु भएका पाठ्यक्रमअनुसार १८ पाठ भएको पेस गरी शैक्षिक सत्र २०७८ देखि २०८० का लागि ०७८ असार ४ मा केन्द्रबाट स्वीकृति पत्र लिई सो पत्र समावेश गरी पहिलो संस्करण २०७८ र दोस्रो संस्करण २०८० राखेर पुरानो पाठ्यक्रमअनुसार वन्डर इङ्लिस र १० पाठ भएको इङ्लिस स्किल पाठ्यसामग्री छपाइ गरी बिक्री गरेको देखिएको छ ।

सो पब्लिकेसनले सबै विषयमा यस्तै कर्तुत गरेपछि कारबाही गर्नुपरेको केन्द्रको भनाइ छ । दुई प्रकाशनले गल्ती काम गरेको विषयमा विभिन्न सञ्चारमाध्यममा सामाचार प्रकाशित भएपछि केन्द्रले आन्तरिक रूपमा सबै पुस्तक प्राप्त गरेको थियो । ‘कैफियत गरेको पुस्तक फेला पारेपछि हामीले स्पष्टीकरण सोधेका थियौं, चित्तबुझ्दो जवाफ नआएपछि कारबाही गरेका हौं’ –महानिर्देशक अर्यालले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्