काठमाडौं । भारतीय पूर्वी राज्य मणिपुरमा जातीय हिंसा भड्किएपछि अहिले त्यहाँको सुरक्षा अवस्था गम्भीर बन्दै गएको छ । विगत ५ दिनदेखि मणिपुरको विभिन्न क्षेत्रमा जातीय युद्ध भएपछि त्यहाँ बसोवास गर्दै आएका नेपाली समुदाय असुरक्षित बन्दै गएका छन् । सो क्षेत्रमा ७० हजारभन्दा बढी नेपाली भाषी बस्दै आएका छन् भने कामका लागि जाने त्यहाँ जाने नेपालीहरूको संख्या पनि उल्लेख्य छ ।
त्यहाँका मेइती र कुकी जातिबीच भएको द्वन्द्वका कारण हजारौं मणिपुरवासी असुरक्षित हुँदै गएको भारतीय सञ्चार माध्यमले जनाएको छ । नेपाली भाषीहरू अहिले कतिबेला के हुने हो भन्ने त्रासमा रहेको बताउँदै मणिपुरको राजधानी इम्फालमा रहेका नवीन राईले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘२४ घन्टे कर्फु जारी गरिएको छ । सडकमा सेनाका बख्तरबन्द गाडीहरूले पहरा दिइरहेका छन्, बाहिर के भएको छ हामीले देख्न सकेका छैनौं ।’
नेपालबाट घुम्न वा आफन्त भेटघाटका लागि मणिपुर आउजाउ हुने गर्दछ । तर, अहिलेसम्म नेपाली नागरिकहरू पनि हिंसाको चेपुवामा परेको जानकारी नभएको राईले बताउनुभयो । मणिपुरको चारहजारे, कांगलतुम्बी, सेकमाईलगायत राजधानी इम्फालका केही बस्तीमा नेपालीको बाहुल्य छ । त्यहाँका नेपालीहरू माृतभाषामा माध्यमिक तहसम्मको अध्ययन गर्ने गरेका छन् । हिंसा शुरू भएपछि ९ हजारभन्दा बढी मणिपुरवासी विस्थापित भएका छन् । उनीहरू छिमेकी राज्यमा शरण लिएर बसेका छन् ।
अहिले स्थिति नियन्त्रणबाहिर गएपछि सेना परिचालन गरिएको र सेनाको आदेश नमान्नेलाई सीधै गोली हान्ने अधिकार दिइएको छ । उक्त हिंसामा कति मानिस मारिए वा घाइते भए भन्ने बारेमा भारत सरकारले कुनै तथ्याङ्क सार्वजनिक गरेको छैन । अहिले सो राज्यमा भारतीय जनता पार्टीको सरकार छ । राज्य सरकारमा भाजपाले सत्ता लिएपछि मेइती जातिलाई आरक्षणको कोटा दिने कि नदिने भनेर तनाव शुरू भएको थियो । सो क्षेत्रमा बसोवास गर्दै आएका मेइती जातिलाई आदिवासी सूचीमा राख्न उच्च अदालत मणिपुरले गत मे ३ तारिखमा आदेश दिएपछि अवस्था उग्र बन्दै गएको थियो ।
पूर्वी नेपालको कांकडभिट्टाबाट ९ सय ७० किलो मिटर टाढा रहेको मणिपुरमा कामको खोजीमा गएका नेपाली र नेपालीभाषी भारतीय नागरिकको अवस्थाबारेमा नेपाल सरकारले अहिलेसम्म कुनै चासो दिएको छैन । कृषकका रूपमा नेपाली नागरिकहरू त्यहाँ कार्यरत रहेको भारतीय अखबार ‘द हिन्दु’ले जनाएको छ । यद्यपि, दुई जाति बीचको द्वन्द्वमा उनीहरूको अहिलेसम्म प्रत्यक्ष रूपमा नपरेको उक्त अखबारले जनाएको छ ।
आसामको गुहाटी र नागाल्यान्डको डिमापुर हुँदै रेल यात्रा गरेर नेपालीहरू मणिपुर जाने गरेका छन् । नेपालबाट मणिपुर जाने एकमात्र स्थल नाका काँकडभिट्टा हो । काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले मणिपुरको हिंसाका कारण नेपालीहरू त्यहाँ अप्ठेरोमा परेको भन्ने जानकारी अहिलेसम्म नआएको बताउनुभयो ।
हिंसा भड्कदै गएपछि बुधबारदेखि त्यहाँको राज्य सरकारले इन्टरनेट सेवासमेत अवरुद्ध गरिदिएको छ । जसले गर्दा त्यहाँको पछिल्लो अवस्थाको बारेमा जानकारी प्राप्त गर्न अप्ठेरो परिरहेको बीबीसी हिन्दी सेवाले जनाएको छ । हिंसा भड्कदै गएपछि हतियार देखाएर लुटपाट मच्चाउने गिरोह सक्रिय भएको तस्वीरहरू अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
मणिपुरका मुख्यमन्त्री एन. विरेन सिंहले हिंसा रोक्न गरेको अपिललाई स्थानीयवासीले अवज्ञा गरेको पनि भारतीय सञ्चार माध्यमले जनाएको छ । अहिले भारतका विभिन्न राज्यबाट जाने रेल सेवा स्थगित भएका छन् भने हिंसाबाट बच्न मणिपुरबाट बाहिर जान चाहने हजारौं मानिसहरू रेल र अन्य सवारी साधनको पर्खाइमा रहेका छन् ।











प्रतिक्रिया