श्रमजीवी उत्पीडित जनसमुदाय साथमा भए जस्तासुकै घेराबन्दीको सामना गरिनेछ : प्रधानमन्त्री

0
Shares

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन कायम गर्ने आफ्नो अभियानमा जस्तासुकै दबाब, धम्की र घेराबन्दीको भए पनि सामना गरिने बताएका छन् ।

 राजधानीमा आज आयोजित नेपाल दलित मुक्ति मोर्चाको छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने,  ‘लामो समयदेखि गलत नीति, संस्कार, बेतिथि, कार्यशैली र मुख्यतः भ्रष्टाचारको कारणले नै नेपालको स्थिति अहिले आर्थिक संकटको स्थिति बनेको हो ।’

 उनले सुशासन कायम गर्ने गम्भीर र पेचिलो लडाई भएको उल्लेख गर्दै त्यसका लागि प्रारम्भिक कदम चालिएको बताए। उनले भने ‘सुशासन कायम गर्ने भन्न जति सजिलो छ त्यो उति नै चुनौतीपूर्ण छ । सुशासन भन्ने बित्तिकै भ्रष्टाचार नियन्त्रण गर्ने कुरासँग सम्बन्धित छ ।’ प्रधानमन्त्रीले आफू सरकारको नेतृत्वमा आएको सुरुका दिनबाटै तीन वटा शब्दलाई सरकारको प्राथमिकताको रुपमा अगाडि बढाएको बताए । उनले भने, ‘मैले पहिलो सामाजिक न्याय, दोस्रो सुशासन र तेस्रो समृद्धि सरकारको उच्च प्राथमिकतामा रहने छ भनेर भनेको थिएँ ।’

 प्रतिगमन विरुद्धको आन्दोलनको स्मरण गर्दै  प्रधानमन्त्रीले भने, ‘दुई–दुई पटक संसद् विघटन गरिएको थियो । त्यो संसद् विघटन थिएन, त्यो संविधान विघटन थियो । त्यो हजारौँको बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउने षडयन्त्र थियो । त्यसको केही समयपछि एक पटक हैन, तीन पटक काठमाडौँमा लाखौँ जनता आइसकेपछि उनीहरूका प्रतिगमनका षड्यन्त्रहरू परास्त भए, नेपाली जनता फेरी विजयी भए, हामी फेरी विजयी भयौँ ।’

 प्रधानमन्त्रीले राजनीतिक परिवर्तनमा दलित समुदाय अग्रमोर्चामा रहेर क्रान्तिलाई सफल बनाउन भूमिका खेलेका उल्लेख गर्दै भने, ‘हामीले आफ्नै मौलिकतामा क्रान्ति अगाडि बढाउँदै लगेका थियौँ । तर आज परिवर्तन उल्टाउने कसरत भइरहेको छ । दलितको संवैधानिक अधिकारलाई उल्टाउने षड्यन्त्र भइरहेको छ । दलितलाई दिइने विशेष अधिकार उपल्लो वर्गले दिने दान होइन । दलित आफैँ लडेर ल्याएको अधिकार हो ।’