सन्दर्भ बुद्धजयन्ती : महात्मा गौतम बुद्धको धर्म–मार्ग



‘एकजना सेनाध्यक्षले सेनाको माध्यमले युद्धहरु जित्न सक्लान, एकजना राजाले सत्ताको माध्यमले शत्रुहरुलाई कुल्चन सक्लान्, तर मानिसको भित्री मनमा रहेको दुर्भावनालाई न सेना लगाएर दबाउन सकिन्छ, न सत्ताको आडमा नै दमन गर्न सकिन्छ । त्यसलाई त केवल इच्छाशक्तिको माध्यमले वशमा राख्न सकिन्छ ।’ यो गौतम बुद्धको भनाइ हो । उहाँले २६०० वर्षपहिला दिएको जीवनदर्शन आज पनि त्यत्ति नै उपयोगी र कल्याणकारी छ ।

नेपालको लुम्बिनीमा ५५६ इ.पू. मा शाक्य वंशका राजा शुद्धोदनका छोराको जन्म भयो । उहाँको नाम सिद्धार्थ राखियो । आमाको गर्भमा हुँदाखेरि नै माता महामायालाई अद्भुत र अलौकिक स्वप्न आयो । यसले गर्दा उहाँलाई थाहा भयो कि बच्चा धेरै ज्ञानी हुन्छ । जन्म भएपछि महर्षि असिताले बालकको ग्रह नक्षत्र हेरेर भन्नुभो– बालक चक्रवर्ती सम्राट हुन्छ वा महायोगी हुन्छ ।

सिद्धार्थ एउटा बूढा पाका मान्छे, एउटा रोगी मान्छे र एउटा मलामीको यात्रा देखेपछि धेरै नै दुःखी र अचम्म हुनुभो । फेरि एउटा साधुलाई देखेर त्यसको अनुहारको शान्ति र निर्मलता देखेपछि उहाँले अलिकति राहत महसुस गर्नुभयो । यो घटनाबाट उहाँले संसारको नक्कली सुख त्याग गर्ने निर्णय गर्नुभो । त्यसपछि उहाँले २९ वर्षको उमेरमा आफ्नी पत्नी यशोधरा र पुत्र राहुललाई आधी रातमा नै छोडेर जंगलको यात्रा गर्नुभो । राजकीय वस्त्र त्यागेर कपाल मुण्डन गराउनुभो । भोजनको लागि भिक्षा माग्न थाल्नुभो । चित्तको व्यथा समाप्त गर्नको लागि विभिन्न साधु संन्यासीसँग भेट्नुभो र थरीथरीको ध्यान विधिको प्रयोग गर्नुभो । यसै क्रममा बोधगयामा एउटा रुखको मुनि परमज्ञानको प्राप्ति भयो । त्यसपछि बनारसको छेउमा सारनाथमा प्रथम उपदेश दिनुभो । भन्नुभो– हामी मध्यममार्गमा हिँडनुपर्छ ।

१. सम्यक दृष्टि

जीवनलाई सुखी बनाउनको लागि महात्मा बुद्धले आठवटा उपाय भन्नुभएको थियो । यी उपायलाई ‘आर्य अष्टांगिक मार्ग’ पनि भनिन्छ । सम्यक दृष्टि यसको पहिलो सूत्र हो । सम्यक भन्नाले सन्तुलित । सम्यक दृष्टिका अनुसार हामीले कुनै पनि कुरालाई वास्तविकरुपमा हेर्नुपर्छ । कुनै घटनाको वास्तविक कारण के हो ? यसलाई बुझ्नुपर्छ ।

सम्यक दृष्टिको सिद्धान्त भन्छ– मानव यदि आफ्नो समझलाई सम्यक राख्छ भने ऊ जीवनको दुःखबाट मुक्त हुन सक्छ । मानिस मनको तलमा जीवन व्यतीत गर्छ । यस कारण दैनिक घटनालाई आफ्नो धारणा एवं पूर्वाग्रहसित जोडेर कल्पनाको दुनियाँमा हराएर जान्छ, जुन गलत हो । सम्यक समझ वा दृष्टि भन्छ– हामीले धारणा र भ्रान्तिबाट प्रेरित भएर पैmसला गर्नुहुँदैन । बरु घटित घटनाको कारण र परिणामबाट प्रेरणा लिएर उसबाट मुक्तिको उपाय खोज्न सक्नुपर्दछ ।

दोस्रो कुरा सामान्यरुपमा सोच्नुभो भने हामीलाई लाग्छ कि हामी आँखाबाट हेर्छौं । तर सच्चाई के छ भने, हामी आँखाबाट होइन मनबाट हेर्छौं । जुन देख्छौं कहिलेकाहीँ त्यसमा सच्चाइ हुँदैन । यसकारण वर्तमानको दृश्यको सच्चाइलाई बुझ्नको लागि पनि सम्यक दृष्टिको आवश्यकता हुन्छ । स्टीफन आर कोवे भन्नुहुन्छ– ‘पुटिङ फस्ट थिङ्स् फस्ट’ ।

२. सम्यक संकल्प

महात्मा बुद्धका अनुसार हाम्रो जीवनमा संकल्पको धेरै महत्व छ । संकल्पविना हामी केही पनि गर्न सक्दैनौं । दुःखबाट छुटकाराको कुरा होस् वा सत्यको बाटोमा हिँड्नको कुरा होस्, विनासंकल्प केही हुँदैन । फेरि हामीले जहिले पनि सकारात्मक संकल्प लिनुपर्छ । सकारात्मक संकल्प पूरा गर्नमा प्राकृतिक शक्तिले पनि सहायता गर्छ । सानो–ठूलो कुनै पनि कार्य पूरा गर्नमा सम्यक संकल्पको सहायता लिएर अगाडि बढ्न सक्छौं ।

स्वामी विवेकानन्द भन्नुहुन्थ्यो– मानिस जस्तो सोच्छ त्यस्तै भइहाल्छ । यसप्रकार तपाईंलाई आफ्नो लक्ष्य प्राप्तिको लागि संकल्प लिनु जरुरी हुन्छ । संकल्पले हामीलाई शक्ति दिन्छ, त्यही शक्ति प्रेरणादायक पनि छ । यसको सिद्धान्त भन्छ– अतीतबाट मुक्त भएर चिन्तन–मननपछि संकल्प लेऊ । त्यसलाई स्टीफन आर कोवे भन्छन्– ‘बिगेन विथ द इन्ड इन् माइन्ड’ ।

३. सम्यक वाणी

हाम्रो जीवनमा सम्यक वाणीको धेरै महत्व छ । बोल्दाखेरि सधैँ सोचविचार गरेर बोल्नुपर्छ । कमभन्दा कम शब्दमा आफ्नो कुरा राख्नुपर्छ । हामी हेर्छौं कि बढी बोल्नुको कारण विवाद भइरहन्छ । तर पनि हामी शिक्षा लिँदैनौं । राम्रो सम्बन्ध, व्यक्तित्व विकास वा प्रभावकारी कुराकानीको लागि पनि सम्यक वाणीको धेरै महत्व छ । परिवारमा, कार्यालयमा र समाजमा जहिले पनि सम्यक वाणीको कुरा याद राख्नुपर्छ ।

जसरी हामी चाहन्छौं कि सबैले हामीसँग सत्य, प्रेम र विनम्रतासँग कुरा गरोस् । अर्काले पनि त्यही चाहन्छ । स्टीफन यसैलाई भन्नुहुन्छ– ‘सिक् फस्ट टु अन्टरस्टान्ड एन्ड देन टु बी अन्टरस्टुड’ मतलब पहिला सम्झ र फेरि भन । प्रामाणिक र संक्षिप्त कुरा गर्नु नै सम्यक वाणी हो । जहिले पनि वाणीमा नियन्त्रण राख्नु अति आवश्यक छ ।

४. सम्यक कर्म

जीवनको आवश्यकताले हामीलाई कर्म गर्नको लागि प्रेरित गर्छ । कर्म धेरै प्रकारको हुन्छ । जहिले पनि हामीलाई सम्यक कर्म नै गर्नुपर्छ । पहिलो कुरा हामीलाई शुभ र कल्याणकारी कर्म नै गर्नु श्रेष्ठ हो । दोस्रो कुरा दैनिक जीवनमा कर्म जति महत्वपूर्ण छ विश्राम पनि त्यति नै महत्वपूर्ण छ । यसकारण सम्यक आराम पनि चाहिन्छ । गलत कर्मले गलत बाटोमा लिएर जान्छ । अतः सबै कर्मप्रति सावधानी जरुरी छ । त्यस्तो कुनै पनि कार्य न गर्नुहोस्, जसबाट राष्ट्र, समाज वा कुनै व्यक्ति विशेषको नोक्सान होस् । यो सम्यक कर्म होइन । यसको परिणाम पनि दुःखद नै हुन्छ । सबै व्यक्तिमा कुनै न कुनै असाधारण गुण अवश्य हुन्छ । अहंकार र स्वार्थ त्यागेर त्यसको अनुकरण गरी अगाडि बढ्नुपर्छ । यसबाहेक न्यायसंगत कर्म गर्नुपर्छ । शान्ति होस् र सुन्दर तरिकाले कर्म गर्नुपर्छ । कुनै पनि कर्मलाई अपूर्ण अवस्थामा छोड्नुहुँदैन । महात्मा बुद्ध भन्नुहुन्छ– कर्म चक्रबाट छुटकाराको लागि मन र आचरण शुद्ध राख्नुपर्छ । यसको लागि काम, क्रोध, लोभ, मोह, ईष्र्या र द्वेषमाथि नियन्त्रण राख्नुपर्छ । स्टीफन यसलाई भन्नुहुन्छ– ‘बी प्रोएक्टिभ’ ।

५. सम्यक आजीविका

मानिसलाई आफ्नो अशुद्ध एवं अनावश्यक इच्छामाथि नियन्त्रण राख्नुपर्छ । किनकि यसले हाम्रो महत्वाकांक्षामा वृद्धि गर्छ र हामी महत्वाकांक्षा पूर्तिको लागि गलत आजीविका अपनाउँछौँ । जसरी आगोमा जति पनि दउरा राखे भने स्वाहा भइहाल्छ त्यस्तै आकांक्षा पूर्तिमा लागेमा जीवन नष्ट हुन्छ र आकांक्षा पूतिँ हुँदैन । यसको सिद्धान्त भन्छ– तपार्इं जुन स्थितिमा हुनुहुन्छ त्यसलाई स्वीकार गर्नुहोस् एवं सम्यक आजीविका अपनाउनुहोस् । बुद्धका अनुसार ययी पाँचवटा व्यापार गर्नुहुँदैन । १. शस्त्रहरुको व्यापार, २. जानवरको व्यापार, ३. मासुको व्यापार, ४. विषको व्यापार, ५. रक्सीको व्यापार ।

गलत, अनैतिक र अधार्मिक तरिकाबाट आजीविका चलाउनुहुँदैन । अर्काको हक मारेर वा अन्याय गरेर धन जम्मा गर्नुहुँदैन । यसबाहेक घूस र ब्याज नलिनु, ठगी नगर्नु, अनैतिक कार्यको दलाली नगर्नु, झुट बोलेर वस्तु नबेच्नु र नक्कली खाद्यपदार्थ नबेच्नु, किनकि यो सबै सम्यक आजीविका होइन ।

६. सम्यक व्यायाम÷समाधि

महात्मा बुद्ध मानिसको स्वास्थ्यप्रति पनि जागरुक हुनुभयो । स्वस्थ हुनु सबैभन्दा ठूलो सुख हो । सम्यक व्यायामको सिद्धान्त भन्छ– शारीरिक स्वच्छता एवं स्वास्थ्य प्राप्तिको लागि व्यायाम गर्नु जरुरी छ । सम्यक मतलब न बढी न कम भन्ने बुझिन्छ । जब शरीर स्वच्छ हुन्छ, तब चित्त संयमित हुन्छ । जब चित्त संयमित हुन्छ तब हामी आफ्नो दुर्गुणबाट मुक्त हुन्छौं । यसकारण दैनिक निश्चित व्यायाम गर्नुपर्छ । महात्मा बुद्धका अनुसार शारीरिक स्वास्थ्यले मात्र केही हुँदैन । हामी आध्यात्मिक रुपले पनि सबल हुनुपर्छ । यसको लागि मानसिक व्यायाम भन्नाले ध्यान पनि जरुरी छ ।

समस्त जीवन दर्शन भन्छ कि एकाग्रताविना सफलता प्राप्त हुन सक्दैन र शान्तिविना जीवनको कुनै मूल्य छैन । शान्तिको लागि संयम जरुरी छ, यो संयम समाधिबाट नै पाउन सकिन्छ । यसकारण हामी सबैलाई दैनिक ध्यान साधना गर्नुपर्छ । किनकि यसैबाट नै चित्त संयमित, निर्मल र शान्त हुन्छ । सम्यक व्यायाम÷समाधिबाट मनको चञ्चलता नष्ट हुन्छ, आत्मविश्वास बढ्छ, अनावश्यक डरबाट मुक्ति हुन्छ तथा जन्म–मृत्युको चक्रबाट छुटकारा पनि हुन्छ ।

७. सम्यक स्मृति

यसको सिद्धान्त भन्छ– होसपूर्वक जीवन जिऊँ । कुनै पनि चीजमा एकदम हराउनु ठीक होइन । सबै कार्यलाई गर्दै आपूmलाई स्मरण राख्नु सम्यक स्मृति हो । जीवनमा सबै कार्य बिस्तारै र होसपूर्वक गर्न पर्छ । खाना बिस्तारै खानुपर्छ, बिस्तारै–विस्तारै बोल्नुपर्छ र बिस्तारै हेर्नुपर्छ । सम्यक स्मृति न भएको कारणले हाम्रो मन वर्तमान स्थितिमा रहँदैन । मन वर्तमानमा रहेन भने कुनै पनि कार्यमा सन्तुष्टि हुँदैन । यो असन्तुष्टि नै मानवको सबैभन्दा दुःखको कारण हो ।

सम्यक स्मृतिबाट चित्तको एकाग्रता बढ्छ, जसले गर्दा कुनै पनि कुराको सत्य र वास्तविक स्थिति बुझ्न सजिलो हुन्छ । सम्यक स्मृतिबाट हामीलाई सधैँ यो बोध भइरहन्छ कि जीवन क्षणिक र नाशवान् हो । यसकारण संसारको भ्रमजालमा फस्दैनौ ।

८. सम्यक स्वीकार

जीवनमा जति पनि दुःख र तनाव छ, सबै अस्वीकारको कारणले आउँछ । घटनाको परिणामलाई अस्वीकार गरेपछि मानसिक अशान्ति शुरु भइहाल्छ । महात्मा बुद्ध यसलाई तथाता भाव पनि भन्नुहुन्थ्यो । यसो भनेको कुनै पनि कुरालाई स्वीकार गर्ने हो ।

(लेखक ब्रह्म योग केन्द्र, पुनाका गुरु तथा सञ्चालक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्