बुद्धका उपदेश अनुसरणले नै मुलुकमा शान्ति र समृद्धि आउनेमा जोड

0
Shares

बुटवल। 

बुद्धका उपदेशको अनुसरणले नै मुलुक शान्तिमय र समृद्ध हुने बौद्ध विज्ञहरुले बताउनुभएको छ । सबै वर्ग समुदायबीच समन्वय र मिलाप कायम हुने थुप्रै उपदेश बुद्धले दिएको भन्दै वक्ताहरुले त्यस्ता उपदेशलाई विश्वव्यापी बनाउनुपर्ने जरुरी रहेकोमा जोड दिनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले २५६७ औँ बुद्ध जयन्तीको अवसरमा बिहीबार लुम्बिनीमा आयोजना गरेको ‘समृद्धिका लागि शान्ति ः सम्बुद्ध’ विषय परिसंवाद कार्यक्रममा बोल्दै वक्ताहरुले बुद्धका उपदेशको अनुसरणमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले वर्ग समन्वयबाट शान्ति कायम हुने उपदेश बुद्धले दिएको बताउनुभयो । विश्वका मुलुकहरूमा वर्गीय सङ्घर्षका क्रान्तिहरू भए पनि त्यसले मात्रै शान्ति र स्थायित्व हुन नसक्ने भन्दै वर्ग समन्वयबाटै शान्ति र समृद्धि हुन सक्ने बताउनुभयो । कम्बोडियाको द्वन्द्व र हालको अवस्थाको चित्रण गर्दै उहाँले हाम्रो मुलुकको समृद्धिका लागि पनि बुद्धले भनेजस्तै वर्गीय समन्वयको आवश्यकता रहेको बताउनुभयो ।

सो अवसरमा बोल्दै बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार डा. तिलक आचायले बुद्धका उपदेशको अनुसरण तथा प्रवर्द्धनबाटै समृद्धि हासिल हुने बताउनुभयो । थाइल्यान्डको धम्मकाय विश्वविद्यालयले गरेका कार्यहरुको स्मरण गर्दै उहाँले लुम्बिनी बौद्ध विश्वविद्यालयले बुद्ध संस्कृति, दर्शनको खोजमार्फत प्राज्ञिक कार्य गर्दै आइरहेको बताउनुभयो ।

विश्वविद्यालयका बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्यले नेपालमा वि.स. २०१३ सालबाट बुद्धजन्यन्ती मनाउन थालिएको भन्दै बुद्ध जयन्तीका सन्दर्भमा एकरुप धारणा भई नसकेको बताउनुभयो । अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरीले बुद्ध जयन्तीलाई लुम्बिनी क्षेत्रका समुदायसहितको अपनत्व दिएर मनाउन सकिने बताउनुभयो । कार्यक्रममा अनुसन्धान केन्द्र सञ्चालक समितिका सदस्या प्रा.डा. भोजराज कडेरिया, विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र काफ्ले, उपप्राध्यापक डा. ङिमा शेर्पा, दयानिधि गौतम, पर्यटन व्यवसायी लीलामणि शर्मा लगायतले बोल्दै शान्ति र समृद्धिका पक्षमा रहेका बुद्धका उपदेशहरुको चर्चापरिचर्चा गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय क्याम्पसले प्रकाशन गरेको लुम्बिनी प्रभा जर्नलको विमोचन गरिएको छ । विश्वविद्यालयले बुद्ध जयन्तीको पूर्व सन्ध्यामा प्रज्ञाप्तुपा परिसरमा बौद्ध पूजा तथा दीप प्रज्वलन गरेको छ ।