आईजीपी कुँवरद्वारा ईप्रका बुटवलको नवनिर्मित भवन उद्‍घाटन

0
Shares

रूपन्देही ।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले ईलाका प्रहरी कार्यालय बुटवल रूपन्देही परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनहरूको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घा टन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीहरूलाई कदरपत्र तथा भवन निर्माणमा योगदान पुर्याउने प्रहरी कर्मचारीहरूलाई पुरस्कार समेत प्रदान गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध र प्रयासरत रहेको बताउनुभयो । आधुनिक भवनहरूसँगै प्रहरीको सेवाप्रतिको इमान्दारिता, जिम्मेवारी बोध, प्रहरी आचरण र व्यवहारले प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । भवनहरू सबैको साझा सम्पत्ति रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले नव-निर्मित भवनहरूप्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्द्धन गर्दै दीर्घकालसम्म जर्गेनाका लागि सहयोग गर्न सवैसँग आग्रह गर्नुभयो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बिकले स्वागत मन्तव्य व्यक्त गर्नुभएकोथियो भने प्रहरी नायव उपरीक्षक ई. धुर्व अधिकारीले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रहरी ब्यारेक भवन र कार्यालय प्रमुख निवास भवन नेपाल सरकारको नियमित बजेटबाट कुल ३ करोड १९ लाख १३ हजार ३ सय ३६ रूपैयाँ ३२ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो भने प्रहरी कार्यालय भवन, भान्सा घर र नागरिक सहायता कक्ष प्रदेश सरकारको नियमित बजेटबाट कुल २ करोड ४१ लाख २० हजार ४ सय ६२ रूपैयाँ २१ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा तिलोत्तमा, देवदह तथा सैनामैना नगरपालिकाका नगर प्रमुखहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।