दुवै हात बाँधेको अवस्थामा एक पुरुषको शव फेला

0
Shares

धादिङ ।

धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ४ उइदुङका २५ वर्षीय सुमन भनिने छिरिङ तामाङको शव जंगलमा हात बाँधिएको अवस्थामा मंगलबार भेटिएको छ ।

गंगाजमुना गाउँपालिका वडा नम्बर ३ लचेतको जंगलमा हातमा बाँधेर झुण्डिएको अवस्थामा शव भेटिएको हो । दुबै हात डोरीले बाँधेर रुखमा झुण्डाइएको अवस्थामा फेला परेको खनियाबास गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य प्रताप बहादुर तामाङले जानकारी दिनुभयो ।

जंगलमा माहुरी खोज्न जाँदा गंगाजमुना गाउँपालिकास्थित रिगाउँका एकजनाले झुण्डिएको अवस्थामा देखेर गाउँलेलाई खबर गरेपछि हेर्न जाँदा २५ वर्षिय सुमनको शव कुहिएको अवस्थामा फेला परेको वडा सदस्य तामाङले जानकारी दिनुभयो।

गत माघ दोस्रो सातादेखि गाउँघरमा उनी देखिएका थिएनन् । बेला बेला पोखरा जाने आउने गरिरहने र ट्रेकिङमा भरियाको रुपमा भारी बोक्ने काम पनि गर्दै आएकाले गाउँमा त्यत्ति खोजीनिति पनि भएन ।

शवको अवस्था हेर्दा धेरैदिन अगाडि नै मारेर झुण्डाइएको जस्तो देखिन्छ । वडा सदस्य तामाङ भन्छन्–शव कुहिएर गलिसकेको अवस्थामा छ, उसले लगाउने कपडा र हुलियाबाट मात्रै सुमनकै शव हो भन्ने पहिचान गरिएको हो ।

शवको धादिङ अस्पतालमा बुधबार पोष्टमार्टम गरिएको छ । प्रारम्भिक अनुसन्धानबाट हत्याको आशंका देखिएपनि रिपोर्ट भने आइसकेको छैन ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक शन्तुलाल प्रसाद जैसवारले बताउनुभयो । ‘गाउँघरमा बुझ्दा पहिलादेखि नै ती व्यक्ति हराएको भन्ने पनि बुझियो तर, प्रहरीमा हराएको भन्ने खबर आएको थिएन ।

शव धेरै नै पुरानो देखिन्छ, हामी अनुसन्धानकै क्रममा छौं’, जैसवारको भनाई छ । स्थानीयहरुका अनुसार मृत भेटिएका सुमन २०७७ मंसिरमा बलात्कार मुद्दामा एक वर्ष जेल सजाय भोगेर २०७८ पुसमा जेलमुक्त भएका थिए । जेल सजाय भोगेर निस्किएपछि गाउँघरमै बस्दै आएका उनी गत माघ महिनाको दोस्रो साताबाट सम्पर्क विहिन थिए ।