वीर बन्न रोकिएका महावीरहरु



महावीर पुन केही दिन आफ्ना समर्थकहरुसहित माइतीघरको सडकमा धर्नामा बसे । उनी अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलनको ब्यानरमुनि बसेर धर्ना गरिरहेका थिए । प्रतिकूल मौसमका बीचमा धर्ना उनको रहर थिएन, बाध्यता थियो । माग उनको निजी थिएन, समग्र देशको माग थियो । सन् २००७ मा रोमन म्यागासेसेजस्तो अन्तर्राष्ट्रिय पुरस्कारलगायत थुप्रै पुरस्कार पाइसकेका व्यक्ति आखिर सडकमा किन उत्रे ? के हाम्रो देशमा हरेक सक्षम व्यक्ति ढोकाभित्र थन्किनै पर्ने हो ? वा आन्दोलन नै गर्नुपर्ने हो ? देशको लागि केही गर्छु भन्ने व्यक्तिलाई राज्यले नचिन्ने नै हो, चिने पनि थिच्ने र पेल्ने नै हो ? प्रश्न ज्वलन्त थियो ।

महावीरका चारवटा माग थिए । संघ र प्रदेश सरकारले आफ्नो बजेटको एक प्रतिशत अनुसन्धान र नवप्रवर्तन कोष बनाएर राख्नुपर्ने, अनुसन्धान, नवप्रवर्तन, आविष्कार प्रवद्र्धन तथा सञ्चालन एवं खरिद ऐन बनाउनुपर्ने, नवप्रवर्तनलाई सरकारले नीति–नियम र कानुन बनाएर व्यावसायिक बनाउन सहजीकरण गर्नुपर्ने र विश्वविद्यालयमा व्यावहारिक अनुसन्धान र नवप्रवर्तन विभाग बनाउनुपर्ने । यी माग उनका व्यक्तिगत थिएनन् र व्यक्तिगत स्वार्थसँग जोडिएका पनि थिएनन् । न त यी माग काम नलाग्ने नै थिए । माग महत्वपूर्ण भएकैले त सरकार उनका माग पूरा गर्न तयार भयो ।

महावीरको आन्दोलन र धर्नालाई अन्त्य गर्न सरकारले महावीरका अधिकांश माग पूरा गर्ने प्रतिबद्धता जनाएको छ । अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यका लागि कोष स्थापना गर्ने, कोषको सञ्चालन र व्यवस्थापनका लागि विधेयक तयार गरी संसद्मा पेस गर्ने, आगामी आ.व.देखि पूँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार कोषमा जम्मा गर्ने, अनुसन्धान, विकास, नवप्रवर्तन र आविष्कारलाई प्रबन्ध गर्न कानुनी व्यवस्था गर्ने, आविष्कारबाट उत्पादित वस्तुको बजारीकरणको लागि आवश्यक कानुनहरुमा सुधार गर्नेलगायतका सात बुँदामा सरकार र महावीर पुनबीच सहमति भएको छ । यो सहमति अत्यन्तै सुखद कुरा हो । तर कार्यान्वयनको पाटो भने हेर्न बाँकी छ ।

महावीरका माग ठूला थिएनन् तर महत्वपूर्ण थिए । त्यसैले त महावीरको माइतीघर यात्रामा धेरैले ऐक्यबद्धता जनाएका थिए । सर्वसाधारणले महावीरको प्रशंसा गरे । तर विगतदेखिका कुनै पनि सरकारले महावीरको खुला दिलले प्रशंसा गर्न सकेनन् । सम्मान गरेनन् । मनैदेखि प्रशंसा र सम्मान नगरेकै कारण सहयोग पनि गरेनन् । त्यसैको परिणाम थियो महावीरको माइतीघर धर्ना अभियान ।

महावीरका माग पूरा गर्न स्रोतविना सम्भव थिएन र छैन । आविष्कारको सबैले प्रशंसा गर्नु एउटा कुरा हो, तर उनका लागि स्रोत जुटाउनु अर्को कुरा हो । यद्यपि आजसम्म महावीरको काममा निजी क्षेत्र र व्यक्तिगतरुपमा जो जसले खुला दिलले सहयोग गरे, ती सम्मानका पात्र छन् । तर दुर्भाग्य, प्रशंसा गर्नेसँग पर्याप्त स्रोत र साधन छैन । शब्द, समर्थन र सानोतिनो सहयोगबाहेक उनीहरुले दिन सक्ने पनि केही छैन । सानो सहयोगले ठूलो आविष्कार हुँदैन । ठूलो सहयोग दिन सक्ने सरकारले हो । अब बल्ल सरकारले हात अगाडि बढाएको छ । सरकारले कान सुनेको छ, आँखा खोलेको छ । महावीरहरुको महत्व थाहा पाएझैँ गरेको छ ।

महावीरलाई विश्वले धेरै पहिलेदेखि चिन्दो रहेछ, तर विडम्बना ! उनलाई आफ्नै देशले भर्खर चिन्दै छ । शायद कुनै विदेशीले महावीरले जस्तो आविष्कार केन्द्र नेपालमा खोल्छु भनेर प्रस्ताव लिएर आउँदो हो त त्यसमा सरकारले बजेट ओइ¥याउँथ्यो होला, तर महावीरलाई सत्ताका वीरहरुले त्यति सजिलै विश्वास गरेनन् । विश्वास जित्न उनले आन्दोलन नै गर्नुप¥यो ।

नेपालमा जति पनि प्रविधिको प्रयोग भैरहेको छ, त्यो अधिकांश अझ भनौँ शतप्रतिशत आयातीत प्रविधि हो । आयातीत प्रविधि विलासिताका लागि हो । आयातीत प्रविधिले देशको विकास हुन्न, विलासिता मात्र बढ्ने हो । हामीलाई प्रविधि नभई पनि नहुने, आफू प्रविधिको विकास पनि गर्न नसक्ने भएपछि प्रविधिको आयातमा विदेशी मुद्रा बाहिरिन्छ र देश टाट पल्टिन्छ ।

विकासको उदाहरण हेर्ने हो भने प्रविधि बेच्ने देशको विकास हुन्छ, प्रविधि किन्नेको कहिल्यै विकास हुँदैन । महँगो प्रविधि किन्दाकिन्दै देश नै खोक्रो भैसक्छ । भित्र रोग बोकेको जीर्ण शरीर लिएर बसेको मान्छेले बाहिर टाई–सुटमा सजिएर स्वस्थ्य देखाएझैँ देशको स्थिति बाहिर बोक्रो र भित्र खोक्रो हुन्छ । आयातीत प्रविधिको लेपन भनेको आवरणमा रमाउनु हो, गुदी खोज्नु होइन । गुदीविनाको बोक्रो खोक्रो हुन्छ ।

महावीर देशभित्रै प्रविधिको विकास गर्न चाहन्छन्, आविष्कार गर्न चाहन्छन् । देशभित्र सकिन्छ भन्ने कुरा उनले विगतमा प्रमाणित गरेर देखाइसकेका पनि छन् । तर आजसम्म एकल प्रयासमा भएको आविष्कारले यो देशको सिंगो आवश्यकता धान्दैन, त्यसैले त उनले लामो समयदेखि सरकारको सहयोग खोजिरहेका थिए ।

महावीर देशका युवालाई विदेश जानबाट रोक्न चाहन्छन् । हामी दक्ष जनशक्ति विदेश पलायन भयो भनेर कुर्लन्छौँ, तर प्रविधिको स्वदेशमै विकास गरी युवा रोक्ने काम गर्देनौँ, गर्न खोज्नेलाई सहयोग पनि गर्दैनौँ । ठूला–ठूला मेसिन किन्न पैसा विदेशमा पठाउँछौँ, तर त्यही मेसिन किन्न विदेश पठाउने पैसाको सानो अंश पनि आविष्कार केन्द्रजस्तो पवित्र संस्थालाई दिँदैनौँ । हामी न आफू गर्छौँ, न अरुले गरेकोमा सहयोग गर्छौँ ।

केही अपवादलाई छोड्ने हो भने नेपालमा भएका अधिकांश आन्दोलन र धर्ना सबै आफ्ना हक–अधिकारका लागि छन् । आफ्नो स्वार्थ पूर्ति भएपछि मिलेमतोमा आन्दोलन र धर्ना तिलाञ्जलि भएका छन् । तर महावीर त्यस्तै अपवाद हुन्, जसले व्यक्तिगतरुपमा आफूलाई कुनै लाभ नपुग्ने माग राखेर आन्दोलन गरे । त्यसैले त देशभरिबाट उनले अपार समर्थन पाए । समर्थन पनि दिलदेखिको समर्थन । राजनीतिक दलका नेता, पूर्वप्रधानमन्त्री, वकिल, पत्रकार, बुद्धिजीवी उनको साथमा माइतीघरमा देखिए ।

महावीरले सबैको समर्थन पाए । अन्त्यमा सरकारले समेत उनको मागको सम्बोधन ग¥यो । उनको अभियान यत्तिकैमा नटुंगियोस् । महावीरको माग उनको व्यक्तिगत होइन, समग्र देशको माग हो भन्ने बुझियोस् । सहमति कार्यान्वयनमा जाँदा टालटुल नगरियोस् ।

राज्यको ढुकुटी जनताका लागि हो । अनावश्यक काममा ढुकुटी दोहन गरेको जनताले हेर्नुपर्ने, तर महावीरजस्ताको आविष्कार सधैँ राज्यको तिरस्कारमा पर्नुपर्ने हिजोको स्थिति अब कहिल्यै नदोहोरियोस् । राज्यको नीति, नेताको नियत र देशका नियम नागरिकका लागि होस् । असल कामका लागि होस् । असल कामलाई प्रोत्साहन गरियोस् । खराब कामलाई निरुत्साहित गरियोस् ।

हामीले देशभित्रका प्रतिभालाई बुझ्नुपर्छ । प्रतिभा विदेश पलायन हुन दिनुहुन्न । स्वदेशमै रोगगारी सिर्जना गर्नुपर्छ । महावीरजस्ता वीरहरु राज्यको आँखामा पर्नुपर्छ । महावीरजस्तै अरुको पनि सही मागको सुनुवाइ हुनुपर्छ । राज्यको ढुकुटी पहुँचवालाको मात्र होइन प्रतिभाशालीको पनि हुनुपर्छ ।

देशमा केही गरौँ भन्ने व्यक्तिलाई प्रोत्साहन गर्ने नीति राज्यसँग हुुनुपर्छ । प्रविधिको विकासविना देशको विकास सम्भव छैन । अबको जीवनशैली प्रविधिमैत्री भैसक्यो । अबको विकासको प्रमुख आधार नै प्रविधिको विकास हो । तर सरकारले आविष्कारलाई उपेक्षा गरेर राजनीतिक झिनाझम्टीमै अल्मलिने र बजेटजति बाँडचुँडमा नै सक्ने काम ग¥यो भने त्यसले देशलाई अधोगतितर्फ लैजान्छ । अतः प्रविधिको विकास र आविष्कार गर्ने महावीरजस्ताका महान् कामलाई सरकारले सम्बोधन गरेको छ । अब जिम्मेवार ढंगले कार्यान्वयन होस् ।

महावीरको धर्ना र अभियानले अपार समर्र्थन पाएकाले नै सरकार महावीरको माग पूरा गर्न बाध्य भएको हो । तर त्यो माग पूरा गर्ने नाममा झारा टार्ने काममात्र भयो भने महावीरजस्ता वीर सपुतहरु पुनः आन्दोलनमा उत्रनेछन् । यो महावीरको व्यक्तिगत आवश्यकता र अभियान होइन, बरु देशको आवश्यकता हो भन्ने ढंगले बुझियोस् । उनको मागलाई राज्यको माग ठानियोस् । राज्यले अपनत्व ग्रहण गरोस् ।

र अन्त्यमा, महावीर आफैँमा नामका मात्र होइन, कामका समेत महावीर हुन् । तर उनको सीमितता छ, उनी व्यक्ति हुन् । व्यक्तिसँग सबै कुरा हुँदैन । सबै कुरा राज्यसँग हुन्छ । सबै कुरा भएको राज्यले महावीरलाई वीर बन्नसमेत रोकिरहेको छ । तर उनी जनताका नजरमा भने महावीर नै हुन् ।

प्रतिक्रिया दिनुहोस्