रहेनन् बौद्ध युवा व्यक्तित्व राजु शाक्य

0
Shares

ललितपुर।

ललितपुरको परिवेशमा युवावर्गमाझ बुद्धको ज्ञान फैलाउन महत्वपूर्ण योगदान पु¥याएका बौद्ध युवा व्यक्तित्व एवं बौद्ध युवा कमिटीका संरक्षक राजु शाक्यको निधन भएको छ ।

ललितपुर–८ निवासी शाक्यको ५६ वर्षको उमेरमा मंगलबार राति ९ः३० बजे पाटन अस्पतालमा निधन भएको हो । कलेजोको रोगले सताउँदै गर्दाको बीचमा जण्डिस भएपछि शाक्यको निधन भएको परिवारले जनाएको छ ।

बालकुमारीस्थित घाटमा शाक्यको नेवाःपरम्परा अनुसार दाहसंस्कार गरिएको थियो।शाक्यको पार्थिव शरीरमा श्रीमती दुर्गालक्ष्मी शाक्यले दागबत्ती दिनुभएको थियो । ललितपुरका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु बालकुमारी पुगेर शाक्यप्रति अन्तिम श्रद्धाञ्जली दिन अर्पण गरेका थिए ।शाक्यका दुई छोरी रहेका छन्।

बाल्यकालदेखि नै बुद्ध धर्म पढ्न र सिक्न रुचाउने शाक्यले युवावस्थामा आठ वर्ष भिक्षु भई बृुद्धधर्मको अध्ययन गर्नुभएको थियो।सात वर्ष म्यानमार (बर्मा) बुद्ध धर्मको अध्ययन गरी नेपाल फर्किएका शाक्यले पछि भिक्षु जीवन त्याग गरी शंखमु्लस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रमा सक्रिय हुनुभएको थियो।विशेषतः बर्माका गुरुहरुबाट हुने प्रवचन नेपाल र नेपाली भाषामा अनुवाद गर्ने काममा शाक्यको संलग्नता रहेको थियो। त्यसबखत नेपालका लागि म्यानमार राजदूतावासमा पनि शाक्यले केही समय काम गर्नुभएको थियो।

बुद्धजन्मभूमी नेपालमा युवावर्गलाई बुद्धधर्मको ज्ञान दिएर चरित्रवान, कर्मठ र सशक्त बनाउने र त्यस्ता युवावर्ग क्रियाशील हुने वातावरण तयार गरी सामाजिक हितसंगै बुद्ध धर्मको क्रियाकलाप बढाउनुपर्ने शाक्यको मुख्य निचोड थियो।

यही सोचलाई मूर्त रुप दिन शाक्यको अग्रसरतामा २०५३ सालमा बौद्ध युवा कमिटी संस्थापना गरिएको थियो।शाक्य कमिटीका संस्थापक अध्यक्ष र २०६६ सालदेखि संरक्षक रहनुभएको थियो।शाक्यकै अगुवाईमा कमिटी मार्फत सयौं युवावर्गले व्यक्तित्व विकाससंगै बुद्धधर्मको व्यावहारिक , वैज्ञानिक र ध्यान भावनाको विषय सैद्धान्तिक र व्यावहारिक ज्ञान पाइसकेको छन् ।

कमिटीले गत श्रावण २१ गते शनिबार एक बृहत समारोहको आयोजना गरी युवावर्गमाझ बुद्ध धर्मको विकास, युवा नेतृत्व तयार पार्न शाक्यले निर्वाह गरेको भूमिकाको कदर गर्दै सम्मान गरिएको थियो। यसैबीच कमिटीले एक विज्ञप्ती प्रकाशित गरी शाक्यको निधनले ५० औं दशकमा बौद्ध युवावर्गको नेतृत्व लिने, दक्ष युवा तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने एक असल अभिभावक गुमाएको जनाएको छ ।

‘बौद्ध धर्मको क्षेत्रमा युवाकेन्द्रीत सोच भित्र्याउने र युवामैत्री वातावरण बनाउन शाक्यले निर्वाह गरेको भूमिका सधंै स्मरणीय, प्रेरणादायी रहनेछ ।’ अध्यक्ष सतिश शाक्यद्वारा प्रकाशित विज्ञप्तीमा भनिएको।शाक्यको निधन भएकोमा थुप्रै बौद्ध भिक्षुभिक्षुणी, बौद्ध संघसंस्थाले श्रद्धाञ्जली अर्पण गरी शोकाकूल परिवारप्रति समवेदना प्रकट गरेको छ ।