क्रिकेटले दिएको खुशी : २१ वर्षपछि नेपाल एसिया कपमा

क्रिकेटप्रेमीमा खुशीयाली



काठमाडौं । २१ वर्षको लामो पर्खाइपछि नेपाल एसिया कपमा छनोट भएको छ । एसीसी प्रिमियर कपको मंगलबार भएको फाइनलमा यूएईलाई ७ विकेटले पराजित गरेपछि नेपालले उपाधि जित्यो । साथै नेपालले २१ वर्षपछि एसिया कपमा स्थान पनि बनायो । फाइनलमा जितका लागि १ सय १८ रनको सामान्य विजयी लक्ष्य तेर्सिएकोमा नेपालले ३०.३ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेपछि उपाधिसँगै एसिया कपको ढोका खोल्न सफल भयो ।

च्याम्पियन बनेसँगै नेपालले आगामी सेप्टेम्बरमा आयोजना हुने एसिया कपमा विश्व क्रिकेटका दुई शक्तिशाली देश भारत र पाकिस्तानसँग खेल्ने भएको छ । एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान हुनेछन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

हरेक समूहको शीर्ष दुई टोलीले सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरबाट शीर्ष दुई टोली फाइनल खेल्नेछन् । एसिया कप एकदिवसीय विश्वकपअघि एसियाका टोलीलाई तयारीको रूपमा एसिसीले आयोजना गर्ने गर्दछ ।

नेपाल सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको हो । सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा स्थान बनाउँदै नेपालले एसिया कपमा स्थान बनाएको थियो । त्यो समय फाइनल पुग्ने दुई टोली एसिया कपमा पुग्ने गर्दथे ।

उक्त फाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो । नेपाल एसिया कपमा पुगे पनि प्रतियोगिता नै हुन सकेको थिएन । भारत र पाकिस्तानसँगको आन्तरिक विवादका कारण त्यो वर्ष एसिया कप नै रद्द भएको थियो । त्यसकै कारण नेपाल एसिया कपमा पुगेर पनि खेल्न पाएको थिएन । त्यसपछि भने नेपालले एसिया कपमा स्थान बनाउन सकेको थिएन ।

गुलसनको अर्धशतक

नेपालको जितमा गुलसन झा ८३ बलमा तीन चौका र ६ छक्कासहित ६७ रनमा अविजित रहे । भीम सार्की ७२ बलमा चार चौकासहित ३६ रनमा नटआउट रहे । चौथो विकेटका लागि गुलसन झा र भीम सार्कीले ९६ रनको अविजित साझेदारी गरेका थिए । गुलसनको यो ओडीआई करिअरको दोस्रो अर्धशतक हो । उनले ७५ बलमा अर्धशतक पूरा गरेका हुन् । अघिल्लो महिना गुलसनले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडीआई सिरिजमा युएईविरुद्ध नै अर्धशतक प्रहार गरेका थिए ।

यूएईले सुरुवाती १८ ओभर स्पिनरलाई बलिङ गराएपछि नेपालको सुरुवाती अवस्था धर्मराएको थियो । यूएईका स्पिनर रोहन मुस्तफाले १० ओभरमा तीन मेडनसहित १३ रन खर्चेर २ विकेट लिए । आयन खानले ९.३ ओभरमा १ मेडनसहित ३९ रन खर्चेर १ विकेट लिए । नेपालले दोस्रो ओभरको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई एक रनमा गुमाएको थियो । उनी मुस्तफाको बलमा एलबीडब्लू आउट हुन पुगेका थिए ।
सातौं ओभरको पहिलो बलमा आयन खानले अर्का ओपनर आसिफ शेखलाई आठ रनमा एलबीडब्लू आउट गरेका थिए । आठौं ओभरको अन्तिम बलमा मुस्तफाले कप्तान रोहित पौडेललाई एक रनमै बोल्ड आउट गरेपछि नेपाल २२–३ को कमजोर अवस्थामा पुगेको थियो ।

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएई ३३.१ ओभरमा एक सय १७ रनमा अल आउट भएको थियो । सोमबार वर्षाको कारण २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिँदा मंगलबार ११ रन जोड्दै यूएई एक सय १७ रनमा अल आउट भएको थियो । यूएईका आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।

स्पिनर ललित नारायण राजवंशीको २८ औं दोस्रो बलमा आसिफ एज लागेर आरिफबाट क्याच आउट भएका थिए । लगत्तै अर्को बलमा जहुर खान स्लिपमा क्याच आउट भए । तर ह्याट्रिक बलमा पानी परेपछि खेल स्थगित भएको थियो । मंगलबार चौथो बलमा जुनैद सिद्दिकले उक्त बल डट खेलेपछि ललित ह्याट्रिकबाट चुकेका थिए । अन्तिम विकेटको रूपमा जुनैद १७ बलमा १ छक्कासहित १० रनमा कुशल भुर्तेलबाट क्याच आउट भए ।

वर्षाका कारण सोमबार खेल पूरा हुन नसकेपछि मंगलबार निरन्तरता पाएको उक्त फाइनलको बाँकी खेल हेर्नका लागि दर्शकलाई टिकट निशुल्क गरिएको थियो । सोमबार भएकै खेलको स्कोरकार्ड अनुसार मंगलवारको खेल अघि बढाइएको थियो । जसअनुसार यूएईले २७.३ ओभरमा १ सय ६ रन बनाउँदा ९ विकेट गुमाएको थियो ।

क्रिकेटप्रेमीमा खुशीयाली

यो नतिजापछि नेपाली क्रिकेटप्रेमीहरूमा पनि खुसियाली छाएको छ । सोमबार लगातार वर्षा भइरहँदा पनि त्रिवि क्रिकेट मैदानमा वर्षा रोकेपछि खेल हुने आशा घण्टांैसम्म छाता ओढेका र रुझेका दर्शकहरू खेल स्थगित भएसँगै निरास बनेका थिए । जुन निरासा मंगलबार जितसँगै उल्लासमा बदलिएको थियो । जितबाट उत्साहित नेपाली दर्शकहरूले खेल मैदान वरिपरि रंगका गुलालहरु जलाएर विजयउत्सव मनाएका थिए । भारतीय प्रशिक्षक मोन्टी देसाई नेपालमा मुख्य प्रशिक्षक बनेर आएपछि नेपालले १७ मध्ये १६ खेल जितेको छ ।

प्रतिक्रिया दिनुहोस्