विश्वमा बढेको द्वन्द्वका कारण पनि बुद्धका सन्देश सान्दर्भिक : अध्यक्ष तिमिल्सिना  

0
Shares

  काठमाडौँ । 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विश्वमा बढ्दै गएको द्वन्द्वका कारण पनि गौतम बुद्धका सन्देशहरु महत्त्वपूर्ण हुँदै गएको बताउनुभएको छ ।
कम्बोडियाका  प्रधानमन्त्री सम्देक टेको हुनसेनलाई सम्मानित गर्ने विशेष कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले  विश्वमा बढ्दै गरेको द्वन्द्वको कारण पनि गौतम बुद्धका सन्देशहरु शान्ति स्थापनाका लागि  अझ बढी सान्दर्भिक र महत्त्वपूर्ण भएको बताउनुभएको हो ।

‘गौतम बुद्धले देखाउनुभएको शान्ति र अहिंसाको बाटोका कारण बौद्ध धर्मका अनुयायीहरू विश्वभर बढ्दो छन् ।’ उहाँले भन्नुभयो ‘विश्वभर बढ्दै गरेको द्वन्द्वको कारण पनि गौतम बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक र महत्त्वपूर्ण भएका छन् ।’ नेपाल र कम्बोडियाले इतिहास र वर्तमानमा  द्वन्द्वलाई नजिकबाट देखेका छौँ र भोगेको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले द्वन्द्वले  सामाजिक शान्ति र सद्भावमा पार्ने गहिरो क्षति अतुलनीय हुने भएकाले  द्वन्द्वलाई शान्तिमा बदल्न तीव्र इच्छा र समर्पणको आवश्यकता पर्ने कुरामा पनि जोड दिनुभयो ।   समाजलाई द्वन्द्वबाट शान्तिमा रुपान्तरण गर्न, सामाजिक मेलमिलापका आधारहरु खडा गर्न बौद्ध धर्मले महत्त्वपूर्ण मार्गदर्शन प्रदान गर्ने उहाँको भनाई छ ।

नेपाल आफ्नो शान्ति प्रक्रियाको अन्तिम चरणमा रहेको चर्चा गर्दै  द्वन्द्वलाई परास्त पार्दै नेपाल शान्ति र समृद्धिको बाटोमा लम्केको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । नेपाल  गौतम बुद्धको जन्मथलो भएकाले नेपाल बौद्ध धर्मावलम्बीहरुको लागि महत्त्वपूर्ण गन्तव्य हो।गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तराष्ट्रिय  विमानस्थलको निर्माण पूरा भई सञ्चालनमा आइसकेकोले नेपाल र कम्बोडियाबीच सिधा हवाई सम्पर्क स्थापित गर्न सके बौद्ध धर्मावलम्बीहरुको लुम्बिनी यात्रा भविष्यमा अझै सहज हुँदै जाने विश्वास पनि व्यक्त गर्नुभयो ।