धार्केमा एकतर्फी यातायात सञ्चालन

राजमार्गका पुलहरु निर्माणका लागि सिकाइ : प्राविधिक

0
Shares

धादिङ। 

पृथ्वी राजमार्गको धर्केमा १८ घण्टादेखि बन्द भएको यातायात एकतर्फी रुपमा सञ्चालनमा आएपछि यहाँका पुलको अवस्था र सडक जामबारे चर्चा सुरु भएको छ ।

धुनिवेशी नगरपालिका–६ र थक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलमा सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग मङ्गलवार बिहान १० बजेबाट एकतर्फी सञ्चालनमा आएको छ।

भासिएको ठाउँमा ग्याविन जाली भरेर एकतर्फी गाडी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक शन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले लगातार १८ घण्टा काम गरेपछि अस्थायी रुपमा सडक सञ्चालन गर्न सकिने अवथामा आएको थियो ।

यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा लागेको सवारी जाम हटाउन कठिनाइ आयो । पूर्व पश्चिमका जिल्लाबाट रातीको समयमा धादिङ आइपुगेका सवारीलाई प्रहरीले जोगिमारा, मलेखु, घाटबेसी, आदमघाट लगायतका प्रहरीचौकी र बजार क्षेत्र आसपासमा रोकेर राखेको थियो । राजमार्ग एकतर्फी सञ्चालन आएपनि मङ्गलवार अबेरसम्म पनि राजमार्गको जाम हटेको छैन । नागढुंगा नौबिसे क्षेत्रमा समेत सवारी साधनको जाम लागेको छ ।

 

किन भासियो पुल छेउको सडक

पृथ्वी राजमार्ग ठूलो बनाउनका लागि ठेक्का भएर काम भइरहेको छ । नागढुंगा मुगलिन सडक योजना पूर्वी खण्डको काम यतिखेर संचालन भइरहेको छ ।

यस अन्तरगत सडक फराकिलो पार्नका लागि घुम्तीहरु काटिएको छ भने पुलहरु भएको ठाउँमा पुल बनाउनका लागि जग खन्ने काम भइरहेको छ।

पुल बनाउन जग (फाउन्डेसन) खन्ने काम गर्दै गर्दा गणेश खोला पुलको छेउ पट्टी खान्दै गर्दा वर्षा समेत भएका कारण पुल छेउको भाग लडेको थियो । यस क्षेत्रमा जोखिम बढेको कुरा स्थानीय बासीले समेत उठाउँदै आएका थिए । सोमबार दिउँसो पुलको छेउमा केही भाग लडेपछि एकतफी सवारी आवागमन सञ्चालन गरिएको थियो ।

दिउँसो ३ः३० बजेतिर मुख्य सडकको बिचभागनै भासिएपछि आवागमन बन्द भएको र नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी, स्थानीय बासीको सहयोगमा ज्ञड घण्टा काम गरेर लाइफलाइन मानिएको सडक सञ्चालनमा आएको नागढुंगा मुगलिन सडक योजना पूर्वी खण्डका इन्जिनियर जयराम अधिकारीले बताउनुभयो ।

अधिकारीका अनुसार नागढुंगा मुगलिन क्षेत्रमा यस किसिमका १५ ओटा पुलहरु बनाइने ठेक्का योजनामा उल्लेख छ । १ सय भन्दा बढी कल्भर्टहरु रहेको छ । ठेक्का अनुसार काम सम्पन्न गर्नका लागि नागढुंगा नौबिसे सडकको १ वर्ष ३ महिना समय बाँकी छ भने नौबिसे मुगलिनको काम सम्पन्न गर्नका लागि २ वर्ष ३ महिना समय बाँकी रहेकोले द्रुत गतिमा काम गर्नु पर्ने अवस्थामा रहेको प्राविधिकहरुको भनाइ छ ।

राजमार्गमा नियमित सवारी साधन चल्ने क्षेत्र भएकोले अब नयाँ पुलको फाउन्डेसन खन्दा पुरानो पुलको छेउछाउँको भागलाई सुरक्षित गरेर खन्नु पर्ने सिकाइ भइएको इन्जिनियर अधिकारीको भनाइ छ ।

पुलको आयु 

पृथ्वी राजमार्ग अन्तर्गतका पुलहरु सबै कंक्रिटका रहेको पाइएको छ । कंक्रिटको पुलहरुको आयु एकसय वर्षको हुने इन्जिनियर अधिकारी बताउनुहुन्छ । करिब ३५ वर्ष अघि निर्माण गरिएका राजमार्गका पुलहरु हालका लागि सानो भएकोले सडक बिस्तार गर्दा अर्को पुल बनाउनु परेको हो । सडब बिस्तारका लागि बनाइने पुल एकतफी हुनेगरि बनाउन लागिएको छ । पुरानो पुलसँगै २ मिटर टाढा नयाँ पुलको फाउन्डेसन हुनेगरि डिजाइन गरिएको प्राविधिकहरु बताउँछन् ।

पृथ्वी राजमार्ग निर्माणको समयमा बनाइएका पुलहरुको अवस्था मजबुत रहेको, प्राविधिक रुपमाले उपयुक्त रहेको पाइएको र छेउको भागलाई मजबुत बनाउने गरी सडक निमार्णको काम भइरहेको छ ।