सामुदायिक सहकारीको ढुकुटीबाट ३२ लाख चोरी

0
Shares

काभ्रे। 

पनौती नगरपालिका वडा नम्बर ४ मा मुख्य कार्यालय रहेको सामुदायिक सहकारी संस्थामा राखिएको ३२ लाख ३१ हजार ७ सय ३५ रुपैयाँ ढुकुटीबाट चोरी भएको छ । सोमबार मध्यराती १.२५ को समयमा सहकारीको कम्पाउन्डबाट चोरहरुको समूह प्रवेश गरी सुरक्षा गार्डलाई नियन्त्रणमा लिँदै रकम चोरी भएको सहकारीले जानकारी दिएको छ ।

‘सहकारीमा हरेक दिन जम्मा भएको रकम ढुकुटीमा राख्ने गरिएको छ’–अध्यक्ष प्रकाश बञ्जाराले भन्नुभयो–‘त्यही दिन जम्मा भएको रकम त्यही दिन बैकमा पठाउन सकिँदैन । एक करोड रुपैयाँसम्म जम्मा भएको अवस्थामा सहकारीले ढुकुटीमा सुरक्षित गरेर राख्दै आएको थियो ।’ बिदाको दिन भएकाले सहकारीमा उक्त दिन त्यति मात्रै रकम संकलन भएको प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले जानकारी दिनुभयो । सहकारीले मुख्य कार्यालयको १ करोडसम्मको नगदको बीमा गरेको छ भने शाखा कार्यालयहरुमा समेत गरी ४ करोड २० लाख रुपैयाँको बीमा गरेको प्रमुख कार्यकारी अधिकृत बस्नेतले जानकारी दिनुभयो ।
सहकारीले जारी गरेको विज्ञप्तिमा संस्थाको कम्पाउन्ड भित्र ५ जनाको समूहमा प्रवेश गरेका चोरहरुले उक्त रकमसहित एक थान डिभिआर/एनभिआर चोरी डकैती गरेको उल्लेख गरिएको छ । रातको समयमा प्रवेश गरेका चोरहरुले सहकारीको सुरक्षा गार्डलाई नियन्त्रणमा लिँदै मुखमा पट्टि लगाई दिएर हात खुट्टा डोरीले बाँधेर लडाएपछि सहकारीको मुख्य भवनदेखि पैसा राखेको स्थानसम्म १० वटा ताला सहज रुपमा फोडेर प्रवेश गरेका थिए ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ भने सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । चोरीको केही समयपछि उनी चिच्याएको अवस्थामा छिमेकीहरुले थाहा पाएर उनलाई बाँधेर लडाएको डोरी फुकाएको बताइएको छ । घटना शङ्कास्पद भएकाले गहिरो अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

सहकारीले वित्तीय क्षेत्रमा भएको चोरीले असुरक्षा महसुस गरेको भन्दै तत्काल अनुसन्धान र सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासन समक्ष माग गरेको छ । बचतकर्ताहरुलाई भने ढुक्क हुन सहकारीले अनुरोध गरेको छ ।