पातलेखेतको पञ्चकन्यामा वैशाख २९ देखि सप्ताह

सामाजिक जागरण र पर्यटन प्रवर्द्धन प्रमुख उद्देश्य

98
Shares

काभ्रे।

धुलिखेल नगरपालिका ११ पातलेखेत स्थित स्टोन पार्क नजिकै रहेको पञ्चकन्या देवीको मन्दिर परिसरमा वैशाख २९ गतेदेखि जेठ ४ गतेसम्म सप्ताह आयोजना गरिएको छ । ३/४ सय वर्ष अघि उक्त स्थानमा मन्दिर भए पनि २५ वर्ष अघिबाट मात्रै देवीको स्थापना गरी पूजाआजा सुरु गरिएको थियो ।

‘हरेक दिन घर परिवारमा दुख हुने ग¥यो । गाई बस्तु मर्न थाले । मान्छे समेत मर्न थाले । बाँचेका व्यक्तिहरू पनि निरन्तर बिरामी भइरहे । केही व्यक्तिहरूमा देविमाताको स्वरुप देखिन थाल्यो’– स्थानीय कमल परियारले भन्नुभयो–‘आफ्नै छोरी समेत काम्न थाले पछि हामीले विकल्प खोज्यौँ । त्यही स्थानमा पञ्चकन्या मन्दिरलाई नियमित पूजा गर्दा सङ्कट हट्दै जाने बताए पछि सिस्नुको घारी फाँडेर मन्दिर स्थापना गरिएको हो ।’

कमल परियारले आफ्नै करिब एक रोपनी जमिनमा पञ्चकन्या देवीको मन्दिर स्थापना गरी पूजा सुरु गरेसँगै समस्या हट्दै गएको बताउनुभयो । त्यही समय देखि कमल परियारहरुले पञ्चकन्या देवीलाई कुलका रुपमा पूजा गर्न थाले पनि उनी बाहेकका उनका आफन्तहरुले भने धर्म परिवर्तन गरेर पूजा गर्न छाडे । तर कमलले नियमित पूजा गरेर मन्दिर स्थापना गरे । अहिले उक्त मन्दिर चिटिक्क छ । मन्दिर निर्माणका लागि कमलले व्यक्तिगत लगानी गरेका छन् भने अन्य पूर्वाधारका लागि धुलिखेल नगरपालिकाले ४ लाख २० हजार र केही दाताहरुले सहयोग गरेका छन् ।

सोही मन्दिरको प्रचार प्रसार तथा स्थानीय क्षेत्रको प्रवर्द्धनका लागि उनै कमलको संयोजकत्वमा स्थानीयहरुले १ सय ८ सदस्यीय मूल समारोह समिति निर्माण गरी सप्ताह आयोजना गरेका हुन् । चर्चित कथा बाचक शिरोमणि पण्डित दिनबन्धु पोखरेलले उक्त स्थानमा आयोजित सप्ताहमा कथा वाचन गर्नेछन् ।

सप्ताहका लागि विभिन्न १३ वटा उप समिति गठन भएको छ । समितिमा संयोजक कमल परियार, सचिव विष्णु तिवारी, कोषाध्यक्ष सरोज तिवारी रहनु भएको छ । करिब २५ लाख रुपैयाँ खर्च हुन सक्ने प्रारम्भिक खर्च तथा आम्दानीका लागि स्थानीयहरुले योजना तयार गरी प्रचार प्रसार सुरु गरेको प्रचार प्रसार उप समितिका संयोजक एवं पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिनाले बताए ।

उक्त क्षेत्रको प्रचार प्रसार हुन सक्दा धुलिखेल ११ मा रहेका अन्य धार्मिक तथा सांस्कृतिक र पर्यटकीय क्षेत्रको समेत विकासमा सहयोग पुग्ने आयोजकले विश्वास गरेका छन् । सप्ताहका लागि लाग्ने खर्च संकलनमा अपुग हुँदा स्वयम संयोजक कमल परियारले बेहोर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘पञ्चकन्या देवी मन्दिरले सोचेको र चाहेको पुरा गरिरहनु भएको छ’–कमल परियारले भन्नुभयो–‘माता देवीले चाहँदा यो सप्ताह पनि सफल हुन्छ । धन भएर भन्दा पनि मन भएर सप्ताहको आयोजना गरिएको हो ।’ पण्डित दिनबन्धु पोखरेलले धार्मिक सहिष्णुता कायम राख्दै समाजमा मान्छे मात्रै रहेकाले मान्छे भित्र महिला र पुरुष बाहेक अन्य कुनै जात नभएकाले सप्ताहले सामाजिक जागरण ल्याउँदै पातलेखेतको प्रचार प्रसारका लागि टेवा पुग्ने बताउँदै उहाँकै हौसला पछि कार्यक्रम आयोजना गरिएको कमल परियारले बताउनु भयो । उहाँको योजना, २५ वर्ष अघि देखेको सपना र बाँकी योजनामा स्थानीयहरुले सक्रिय सहभागिता र सहयोग गिरहेको समितिका सचिव विष्णु तिवारीले बताउनु भयो ।