प्रिमियर कपको फाइनलको बाँकी खेल आज हुँदै

राजवंशीलाई अवसर

0
Shares

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेल स्थगित भएपनि नेपाल एशिया कपमा पुग्ने संभावना बलियो देखिएको छ । सोमबार त्रिवि मैदानमा भएको खेल वर्षाको कारण स्थगित भएको हो । पाहुना टोली संयुक्त अरब इमिरेट्स (यूएई) ले १ सय ६ रन बनाउँदा वर्षाले खेल बिथोलेको थियो । लगातारको वर्षाले खेल हुन सकेन र रिजर्भ डे राखिएको हुँदा यसको बाँकी खेल आज हुनेछ ।

यूएईसँग एक विकेट मात्रै सुरक्षित भएको हुँदा यदि खेल सुचारु भएपनि धेरै लक्ष्य नेपालले बेहोर्न पर्नेछैन । यदि यो खेल पनि स्थगित भएको खण्डमा सुपर ओभरमा नतिजा निष्कासन गरिनेछ । सुपर ओभरमा भने नेपालको भाग्य निर्धारण कसरी हुन्छ त्यो खेलबाटै थाहा हुनेछ । यसमा संभावना पचास पचासको हुन सक्छ ।

यदि सुपर ओभर पनि हुन नसकेमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नियमअनुसार वरियतालाई प्राथमिकता दिइनेछ । यसमा नेपाललाई नै लाभ हुनेछ । नेपाल एकदिवसीय वरियतामा १४ औं स्थान छ भने यूएई १९ औं स्थानमा छ । समग्रमा नेपालको एशिया कप लगभग पक्का नै छ भन्न सकिन्छ । तर, खेल हो यसमा तलमाथि पनि हुन सक्छ ।

राजवंशीलाई अवसर

स्पिनर ललित नारायण राजवंशी ह्याट्रिक नजिक छन् । उनले यूएईका भरपर्दा ब्याटर आसिफ खानको विकेट लिएर नेपाललाई राहत दिलाएका थिए । खानले टोलीका लागि उच्चतम ४६ रन योगदान दिएका थिए । २८ औं ओभरको दोस्रो बलमा राजवंशीले खानलाई आरिफ शेखद्वारा क्याच आउट गराए । अर्को बलमा जहुर खानलाई शून्यमा आउट गरेर राजवंशी ह्याट्रिक गर्ने सुरमा छन् । उनले यसका लागि आज यूएईको बचेको एक विकेट लिने आवश्यक छ ।

यसअघि सोमपाल कामीले यूएईका कप्तान मोहम्मद वसिमलाई आउट गरेर नेपाललाई राम्रो शुरुवात दिलाए । वसिमले ११ रन मात्रै बनाउन सकेका थिए । यसपछि प्रतियोगितामा दुई शतक प्रहार गरिसकेका वृत्य अरविन्द करण केसीको सिकार भए । करणले उनलाई ८ रनमै पभेलियन फर्काएका थिए । करणले आर्यन लाक्रालाई १३ रनमा आउट गरे । ललितले रमिज शाहजादलाई व्यक्तिगत ५ रनमा आउट गरे भने सन्दीप लामिछानेले रोहन मुस्तफाको विकेट लिए ।

नेपालको बलिङमा राजवंशीले ४.३ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिए । लामिछानेले ७ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर २ विकेट लिए । करणले ७ ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए । सोमपाल र गुलशन झाले समान एक विकेट लिए ।